बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा नेपाल टेलिकमको टावर छ। काँडाकोट भौगोलिक रुपले विकट बस्ती हो।
सदरमुकाम मार्तडीबाट काँडाकोट पुग्न ८ घण्टाको बाटो छिचोल्नु पर्छ, त्यो पनि कच्ची ग्रामीण सडक।
विद्युतको सुविधा भएपनि काँडाकोटमा बेलुकीतिर कहिले काँही बत्ती गइरहन्छ। बत्ती नहुँदा नेपाल टेलिकमको टावरले पनि काम गर्न छोड्ने गरेको छ।
टेलिकमको टावरमा जडित ‘ब्याट्री’को क्षमता कम हुनाले बिजुली नहुँदा टावरले काम नगरेर नेटवर्क जाने समस्या झेल्दै आएका छन्, स्थानीय।
सोही समस्या हल गर्न खोजेका थिए, नेपाल टेलिकम मार्तडी, बाजुराका प्रमुख ४८ वर्षीय लोकबहादुर खड्काले। टेलिकमका गाडी चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीका करनसिंह महतरा टावर मर्मतका लागि ‘ब्याट्री’सहित उपकरण लिएर मार्तडी पुगेका थिए।
उनी टेलिकमको प्रादेशिक निर्देशनालय अत्तरिया सुदूरपश्चिमका गाडी चालक रुपमा कार्यरत थिए।
काँडाकोट टावरको समस्या हल गर्न नेपाल टेलिकमको मार्तडी कार्यालयका प्रमुख (प्राविधिक सहायक अधिकृत) चालक महतरासँगै सोमबार त्यतातिर लागे।
उनीहरूको टोलीमा नेपाल टेलिकम कालाजागरा, बाजुराका सुरक्षा गार्ड बडीमालिका नगरपालिका ७ धमकनेका ३५ वर्षीय रविन्द्र धामी पनि मिसिन्छन्।
मार्तडीबाट काँडाकोटका लागि हिँडेका सोमबार कोल्टी पुगेका थिए। त्यहाँबाट उनीहरुले टावर मर्मतमा सघाउन मजदुरका रुपमा बुढीनन्दा नगरपालिका २ कोल्टीका २५ वर्षीय नन्दराम तिरुवा र २२ वर्षीय लोकेन्द्र तिरुवालाई पनि सँगै लिए।
मंगलबार बिहान बा ५ च २२०९ नम्बरको जीपमा कोल्टीबाट काँडाकोटका लाग्छन्। तर उनीहरू काँडाकोटको टावर भएसम्म पुग्नै पाउँदैनन्। बीच बाटोमै उनीहरू सवार जिप दुर्घटना भयो। दुर्घटनामा टेलिकमका बाजुरा प्रमुख खड्का, सुरक्षा गार्ड धामी र चालक महतराले घटनास्थलमै ज्यान गुमाए।
बाजुरा जिप दुर्घटनाका मृतक र घाइतेको सनाखत, टेलिकमका ३ कर्मचारीको मृत्यु

‘व्याट्री ब्याक अप नहुँदा विद्युत् गएको बेला नेटवर्कमा समस्या आउने गरेको छ। नयाँ व्याट्री जडान गर्न उहाँहरू जाँदैहुनुहुन्थ्यो,’ नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका सूचना अधिकारी नरेन्द्र महर्जन भन्छन्, ‘टावर मर्मत गरेर सेवा सुधार्न जाँदै गर्दा बीच बाटोमै त्यस्तो दुःख घटना भयो।’
खड्का केही समययता नेपाल टेलिकम मार्तडी, बाजुरा कार्यालयमा प्रमुख (प्राविधिक सहायक अधिकृत)को रुपमा कार्यरत थिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परेर जिपमा सवार कोल्टीका नन्दराम र लोकेन्द्र गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारको लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ।
प्रहरीका अनुसार जिप सडकबाट ८० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाको कारण खुलेको छैन।
टावर मर्मत गर्न नपाइ टेलिकमका कर्मचारी बाटोमै बिलाएका जगन्नाथ गाउँपालिका २ का अध्यक्ष धनवीर सार्की बताउँछन्।
‘वर्षौदेखिको नेटवर्कको समस्या हल हुने विश्वास थियो। आज पूरा हुन लाग्दा यस्तो दुःख घटना सुन्नुपर्यो,’ उनले भने।
Shares

प्रतिक्रिया