सुदूरपश्चिम


कोरोना फैलिएको भारतबाट बिनाजाँच धमाधम स्वदेश भित्रिँदै नेपाली

कञ्चनपुरबाट भित्रिएका ३७ जनामध्ये ३ व्यक्तिमा संक्रमण, परीक्षण गर्ने किट अभाव
कोरोना फैलिएको भारतबाट बिनाजाँच धमाधम स्वदेश भित्रिँदै नेपाली

गोकुल जोशी
जेठ २३, २०८२ शुक्रबार १२:१६, कञ्चनपुर

भारतबाट नेपाल भित्रिने पश्चिमी सीमा नाकामा फर्किने नेपालीको भिडभाड छ। भारतका विभिन्न ठाउँबाट दैनिक सयौँको संख्या मानिस नाका भित्रिरहेका छन्। 

भारतका दिल्ली, केरला, महाराष्ट्रलगायत विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ। कोरोना संक्रमणकै कारण अहिलेसम्म ४४ जनाको मृत्युसमेत भइसकेको छ। 

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण भयावह बन्दै जाँदा नेपालमा पनि जोखिम बढेको छ।

यसैबीच पश्चिमी सीमा नाकाबाट जाँचबिनै मानिसहरू धमाधम नेपाल भित्रिरहेका छन्। 

कोरोना जाँच गर्ने किट नहुँदा भारतबाट आइरहेका मानिसमा कोरोना संक्रमण छ/छैन भनेर परीक्षण गर्न नसकिएको हो। 

कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक सय जनाभन्दा बढी मानिस नेपाल भित्रिरहेका छन्।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले किट अभाव हुँदा कोरोना जाँच गर्न नसकिएको बताए। 

‘अगाडि कोरोना जाँच हुने गरेको थियो। बीचमा हामीले रोक्यौँ, अहिले संक्रमण देखापरिरहेको छ’, उनले भने, ‘किट स्टक नहुँदा जाँच गर्न सकेका छैनौँ।’

कोरोना संक्रमण जाँच गर्ने एन्टिजेन किट माग गरिएको भए पनि अहिलेसम्म प्राप्त नभएको उनले बताए। स्वास्थ्य कार्यालयले आफैँले स्रोत व्यवस्थापन गरेर किट ल्याउने तयारी गरिरहेको उनले बताए।

एक/दुई दिनमा किट उपलब्ध भएपछि गड्डाचौकी नाकामा नियमित कोरोना जाँच गरिने उनले बताए।

कैलालीको गौरीफन्टा नाकामा भएर भित्रिने नेपालीको संख्या बढी छ। दैनिक ५ सयभन्दा मानिस यो नाकाबाट नेपाल भित्रिरहेका छन्। 

गौरीफन्टा नाकामा तीन दिनभित्र ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गौरीफन्टा हेल्थ डेस्कमा बिहीबार ५ जनामा संक्रमण परीक्षण गरिएको थियो।

तीमध्ये बर्दियाको गुलरिया नगरपालिका १० का एक जनामा एन्टिजेन पोजिटिभ देखिएको छ। ती व्यक्ति भारतको महाराष्ट्रबाट आएका थिए।

भारतमा संक्रमण देखा परिरहेकाले त्यहाँबाट आउने नेपालीमा पनि संक्रमणको जोखिम भएकोले एन्टिजेन परीक्षण गर्ने काम भइरहेको गौरीफन्टा हेल्थ डेस्कका प्रमुख गणेश साउदले बताए। 

‘हामीसँग नयाँ किट आएको छैन। यसअघिकै स्टक किट थियो। त्यहीँबाट परीक्षण गरेका हौँ’, उनले भने, ‘त्यो सकिएपछि परीक्षण गर्नलाई छैन। किट अपुग छ।’

उनका अनुसार हेल्थडेस्कमा अहिले ८५ एन्टिजेन किट मौज्दात छन्। नाकाबाट आउने शंकास्पद व्यक्तिमा मात्रै परीक्षण गरिरहेको उनले बताए। 

मंगलबारदेखि गौरीफन्टामा भारतबाट आउनेहरूको कोरोना संक्रमण परीक्षण थालिएको हो।  पहिलो दिन एक जनामा पनि संक्रमण देखिएन। बुधबा भने सुदूरपश्चिमका ३ जनामा संक्रमण पुष्टि भएको हो।

गौरीफन्टा नाका भएर आएका २ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

भारतबाट आएका ३७ जना नेपालीमा एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजिटिभ देखिएको प्रादेशिक स्वास्थ्य आपत्‌कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए।

उनका अनुसार कोराना संक्रमण पोजिटिभ हुनेमा कञ्चनपुरका १ जना, कैलालीका १ जना र अछामका १ जना छन्। उनीहरू भारतका दिल्ली, गुजरात र पन्जाबबाट आएका थिए।

‘उनीहरूलाई होम आइसोलेसनमा बस्न आग्रह गरेका छौँ, जनप्रतिनिधिहरूलाई खबर गरेर निगरानी गर्न पनि भनेका छौँ’, उनले भने, ‘पीसीआर परीक्षणका नमुना काठमाडौँ पठाएका छौँ।’

कोरोना परीक्षणका लागि आवश्यक पर्ने किटहरूको अभाव रहेको उनले बताए।

‘हामीसँग किट थोरै छन्, प्रदेश सरकार र केन्द्र सरकारसँग माग गरेका छौँ’, उनले भने, ‘सबै सीमामा हेल्थ डेस्क र प्राविधिक छन्, शंकास्पद देखिएकामा परीक्षण गर्न भनेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad