सुदूरपश्चिम


अविरल वर्षाले कैलाली कञ्चनपुरमा डुबान, प्रभावितलाई सारियो सुरक्षित स्थान

अविरल वर्षाले कैलाली कञ्चनपुरमा डुबान, प्रभावितलाई सारियो सुरक्षित स्थान

गोकुल जोशी
असार १६, २०८२ सोमबार १६:४६, काठमाडौँ

अविरल वर्षाले कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ। वर्षाले यहाँका केही बस्ती डुबानमा परेका छन्।

कञ्चनपुरको कृष्णपुर, पुनर्वास र भीमदत्तका १० घर डुबानमा परेका छन्।  डुबान प्रभावित मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार कृष्णपुर नगरपालिका ७ कार्कीकटानकी कमला पार्कीको घरभित्र गोदावरी खोलाको पानी पसेको छ।

 जोखिममा परेका पार्कीसहित दुई जनालाई सुरक्षित स्थानमा सारिएको डीएसपी बोहराले बताए। 

पुनर्वास नगरपालिका ५ पशुपति चोकमा ७ घर डुबानमा परेका छन्। डुवानमा परेर प्रभावित स्थानीयलाई सुरक्षित स्थानमा सारिएको र कुनै क्षति नभएको प्रहरीले जनाएको छ। 

भीमदत्त नगरपालिका १९ त्रिवेणी टोलमा एक घर डुबानमा परेको छ। डुबानमा परेका घरका ५ जना र पशुचौपायालाई सिद्धनाथ आधारभूत विद्यालयमा सारिएको छ। 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा तथा गोदावरी नगरपालिकाका केही वडा वर्षाका कारण प्रभावित भएको बताए। 

करिब एक हजार घरधुरीमा पानी पसेपनि अहिलेसम्म क्षति छैन। धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका ८ जनालाई प्रहरीले उद्धार गरेको छ। 

धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।

बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ। 

धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका ४ जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ।

जंगलमा फसेका भजनी नगरपालिका ७ चर्रा शिवटोलका २३ वर्षीय इन्द्र कठरियाको उद्धार गरिएको छ। स्थानीय हिम्मतपुर सामुदायिक वनमा फसेका उनलाई उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad