सुदूरपश्चिम


आइतबार कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

आइतबार कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

नेपालखबर
साउन ९, २०८२ शुक्रबार २०:५, कञ्चनपुर

आइतबार कञ्चनपुरका चार वटा पालिकाले सार्वजनिक बिदा दिएका छन्।

रानाथारु समुदायको प्रमुख पर्व तीजका अवसरमा यहाँका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिका, बेलडाँडी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। 

बेलौरी नगरपालिकाका कार्यवाहक नगरप्रमुख जोगराम चौधरीले पालिकाले हरेक समुदायका पर्वलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै पालिकाले रानाथारुको प्रमुख पर्व तीजका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताए। 

‘बहुधार्मीक बहुसांस्कृतिक हाम्रो मुलुकमा यस्ता चाडपर्वहरुले सामाजिक  एकता तथा भातृत्वलाई कसिलो बनाउन छ,’ उनले भने, ‘पर्वलाई तडकभडक नगरी आर्थिक मितव्ययी बनाउन आग्रह गर्दछु।’
लालझाडी गाउँपालिकाले साउन ११ र १३ गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाले रानाथारु समुदायका महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वका अवसरमा सार्वजनिक बिदा दिएको बताए। बेलौरी र पुनर्वास नगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएका छन्। 

रानाथारु समुदायका महिलाहरुले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गरेका छन्। रानाथारु समुदायका जानकारहरुका अनुसार तीज आउनु अगावै सार्वजनिक स्थानमा पिङ राख्ने र खेल्ने प्रचलन छ। यसलाई राना समुदायले ‘सावनको डोला’ भन्ने गर्दछन्।

‘अन्य समुदायले श्रीमान्को दीर्घायूका लागि तीजको व्रत बस्छन् तर हाम्रो समुदायमा दाजुभाइको दीर्घायूका लागि तीजको व्रत बस्छन्’, रानाथारु समुदायका अगुवा प्रेमवती रानाले भनिन्, ‘हाम्रो समुदायका दिदीबहिनीले माइतमा गएर पिङ खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्छन्।’

उनका अनुसार रानाथारु समुदायका महिलाले माइतीघरमा व्रत बसेर तीज मनाउने प्रचलन छ। 

तीज रानाथारु समुदायको महान् पर्व हो। हिन्दू धर्मावलम्वीहरुले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन रहिआएको छ भने रानाथारु समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने प्रचलन छ। छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारु समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने चलन रहेको उहाँको भनाई छ।  

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा मनाउने गरिएको स्थानीय चेतराम रानाले बताइन्। तीज आउनुपूर्व नै मनोरञ्जनका रुपमा सावनको डोला (पिङ) खेल्ने प्रचलन छ। यो पर्वमा रानाथारु समुदायका दिदीबहिनीले परम्परागत पहिरनमा सजिएर पिङमा मच्चिँदै माङ्गलिक गीत गाउने गर्छन्। तीजमा महिला दिनभरि पानीसमेत नखाएर आफ्नो दाजुभाईको दीर्घायुका कामना गर्दै व्रत बस्ने गर्दछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad