सुदूरपश्चिम


दसैँको मुखमा काम गर्न भारततिर जानेको लर्को, भन्छन्- रहर होइन, बाध्यता

दसैँको मुखमा काम गर्न भारततिर जानेको लर्को, भन्छन्- रहर होइन, बाध्यता

गोकुल जोशी
असोज १, २०८२ बुधबार १८:१, कञ्चनपुर

डोटीको जोरायल गाउँपालिका–४ का करन थापा बेरोजगार छन्। कामको खोजीमा उनी भारत आउजाउ गर्छन्। 

भारतमा मजदुरी गरेरै उनले परिवारको खर्च जोहो गर्ने गरेका छन्। झोलीझिम्टा बोकेर उनी परिवारसहित भारतको सिम्लातिर जाँदै गरेका भेटिए, गड्डाचौकी नाकामा। गाउँघरमा दसैँको चहलपहल सुरु हुनलाग्दा करन भने कामको खोजीमा भारत हानिनु परेको छ। 

‘यो रहर होइन, हाम्रो बाध्यता हो। परिवारसँगै गाउँमै दसैँ तिहार मनाउने मन कसलाई हुँदैन?,’ उनी भन्छन्, ‘गाउँ घरमा काम पाइँदैन। भारतमै मजदुरी गरेर परिवारको गर्जो टार्नु परेको छ।’

उनकी श्रीमती, भाइ र बुहारी पनि काम खोज्न भारततिर गइरहेका छन्। सिम्लामा स्याउ टिप्ने काम गर्ने उनले बताए। 

‘अगाडि पनि सिम्लामा स्याउ टिप्ने काम गरेको हो। बेरोजगार, आर्थिक अवस्था कमजोर हुने हाम्रो लागि के चाडबाड, काम नगरे खान पाइँदैन,’ करनले भने, ‘तिहारपछि खर्च जोहो गरेर फर्किने सोच छ।’

करन मात्रै होइन, उनीसँग गाउँकै अन्य २५ जना पनि छन्। जोरायलबाटै उनीहरू गाडी भाडामा लिएर भारत जान गड्डाचौकी नाकामा पुगेका हुन्।

दसैँतिहारमा विद्यालय बन्द रहने भएकाले ससाना बालबालिकालाई पनि बोकेर उनीहरू भारततिर हानिन लागेका छन्। 

जोरायलकै मिनादेवी थापा र उनका श्रीमान दलबहादुर पनि छोरालाई साथमा लिएर सिम्ला जानेको हुलमा छन्।

उनीहरू पहिलो पटक त्यतातिर जान लागेका हुन्। सिम्लामा स्याउ टिप्ने काम पाइने गरेको सुनेका छन्। तर निश्चित छैन। मजदुरीमा जे काम पायो त्यही गर्ने सोच बनाएका छन्, उनीहरूले।

‘भारतमा मजदुरी पाइहालिन्छ। स्याउ टिप्नेदेखि निर्माण जुनसुकैमा पायो त्यसमै काम गर्ने हो,’ मिनादेवीले भनिन्, ‘यसपटकको चाडबाड भारतमै हुन्छ। तिहारपछि विद्यालय पनि खुल्छ। केही घरखर्च जोहो गरेर फर्किन्छौँ।’

चाडबाडको बेला गाउँ छोडेर भारत जानुपर्दा बलबहादुर मगरको मन खिन्न छ। तर गाउँमै बसेर जीविकोपार्जन गर्ने अवस्थामा पनि छैन। 

त्यसैले बलबहादुर र उनकी श्रीमती पनि सिम्ला जाने तयारीमा छन्। उनको ६ जनाको परिवार छ। बलबहादु पहिलो पटक सिम्ला जान लागेका हुन्।

‘आर्थिक कमजोरी भयो। पैसा नभए के दसैँ मनाउनु? थोरै कमाएर दसैँ तिहार मनाउनुपर्छ। त्यहीले खानु पर्छ,’ उनले भने, ‘पढेलेखेका पनि छैनौँ। गाउँमा काम नपाएर जीविकोपार्जन गर्न मुश्किल पर्‍यो।’ 

स्वदेशमै रोजगारी भए चाडबाडको मुखमै काम गर्न भारत जानु नपर्ने उनीहरू बताउँछन्।

जेनजी आन्दोलनका क्रममा नेपाल भारत सीमामा आवागमनमा कडाइ गरेपनि अहिले आवतजावत सहज भइसकेको छ। चाडबाडको मुखैमा भारत जाने नाकामा भीडभाड छ। 

कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाका भएर दैनिक सयौँको संख्यामा रोजगारीको खोजीमा भारत गइरहेका छन्।

तस्बिर:

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad