सुदूरपश्चिम


शिक्षिकाको आत्महत्या दुरुत्साहन आरोपमा शाखा अधिकृत पक्राउ

शिक्षिकाको आत्महत्या दुरुत्साहन आरोपमा शाखा अधिकृत पक्राउ

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १७:२१, कञ्चनपुर

डोटीमा शिक्षिकाले आत्महत्या गरेको घटनामा एक जना शाखा अधिकृत पक्राउ परेका छन्। 

पूर्वीचौकी गाउँपालिका–१ २७ वर्षीया शिक्षिका जानकी खड्कालाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा शिखर नगरपालिका–११ तल्लिसातका गणेश बहादुर रावल पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, डोटीका डीएसपी दीपेन्द्र पालका अनुसार मृतक शिक्षिकाको परिवारको किटानी जाहेरीपछि अनुसन्धानका लागि आरोपितलाई पक्राउ गरिएको छ।

रावल डोटी शिक्षा तथा समन्वय इकाइमा शाखा अधिकृतको रुपमा कार्यरत छन्। प्रहरीका अनुसार सोमबार बेलुकादेखि हराइरहेकी शिक्षिका खड्का मंगलबार बिहान घर नजिकै झुण्डिएको अवस्थामा फेला परेकी थिइन्।

जिल्ला अस्पताल दीपायल सिलगढीमा पोष्टमार्टमपछि शव अन्त्यष्टिका लागि परिवारलाई बुझाइएको छ। मृतक शिक्षिका खड्काको सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ।

शिक्षिका खड्काले नोटमा शाखा अधिकृत रावलको नाम उल्लेख गरेकी छन्। सामाजिक सञ्जालमार्फत चिनजान भएको तर भेटघाट नभएको विषय उनले नोटमा उल्लेख छ। 

उनीहरूबीच नियमित कुराकानी भए पनि पछिल्ला दिनहरूमा सम्बन्धमा तनाव देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

आरोपित रावललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। आफ्नो भाइलाई सम्बोधन गर्दै खड्काले लेखेको सुसाइड नोटमा पारिवारिक विषय पनि छ। 

भाइलाई बिरामी आमाबुबाको हेरचाह गर्न, इज्जत गुम्ने काम नगर्न र आफ्नो अधुरो ‘अफिसर बन्ने सपना’ पूरा गर्न आग्रह गरेकी छन्।

‘के गरुँ भाइ गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो। न मैले उसलाई भेटेको छु न देखेको छु। सबै उसका नाटक हुन् मलाई फसाउने,’ नोटमा लेखिएको छ।

उनले अगाडि लेखेकी  छिन, ‘बाबाआमाको इज्जत गुमाएर कसैको श्रीमान्, बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ।’ 

परिवारकी जेठी छोरी खड्का दुई वर्षअघि स्थायी रूपमा शिक्षक सेवा प्रवेश गरेकी थिइन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad