प्रायः उत्पादनलाई बजारसम्म लग्न सकस हुन्छ, तर जगतले उत्पादन गरेका अल्लो र गाँजाका कपडा किन्न भने ग्राहक नै उद्योगमा आइपुग्छन्।
चिसो बढ्दै गएसँगै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७, जुडाका जगतबहादुर सिंहको व्यस्तता पनि बढ्दै गएको छ । किनकि, न्यानो कपडा खोज्दै उद्योगमा आउने ग्राहकको घुइँचो लाग्न थालेको छ।
यति वेला उनलाई कपडा उत्पादन र तयारी पोशाक बनाउन भ्याइनभ्याइ छ। ‘अल्लो र गाँजाको कपडाको माग धेरै छ। हाम्रो उत्पादन महेन्द्रनगर, धनगढीसँगै दार्चुलासम्म पुग्छ,’ जगत भन्छन्।
उनको जय लटिनाथ घरेलु कपडा उद्योगमा अल्लो, गाँजा, बाँस र ऊनका कपडा उत्पादन हुन्छन्। यी प्राकृतिक फाइबरबाट उत्पादित कपडा खोज्दै ग्राहक उद्योगमै आइपुग्ने गरेको जगत बताउँछन्। उद्योगमा उनकी पत्नी वसन्तीसँगै परिवारका सदस्य खटिन्छन्। घरमै तान बनाएर सुरू गरिएको उद्योगमा धागो काट्ने, कपडा बुन्ने र पोशाक तयार गरिन्छ।
पुर्ख्यौली सीपलाई पुस्तान्तरण गर्न स्थापना गरिएको उद्योगमा उत्पादित सामग्रीले मनग्य आम्दानी पनि भइरहेको छ। ‘बुवा-बाजेले दार्चुलामा राडीपाखी बुन्थे। त्यो सीप लोप हुन लाग्यो,’ उनी भन्छन्, ‘पुर्ख्यौली सीप जोगाउन उद्योग खालेका हौं।’
बुवा-बाजेबाट सिकेको सीपलाई सदुपयोग गर्न घरेलु उद्योग स्थापना गरेको उनी बताउँछन्। तीन लाख रुपैयाँ लगाएर हाते मेसिनबाट सुरू भएको उद्योगमा अहिले २० लाख रुपैयाँ लगानी पुगेको छ। चार वटा मोटर मेसिन थपेका छन्।
लगानी बढाउँदै लगेसँगै अरुलाई पनि रोजगारी मिलेको छ। कपडा सिलाउन एक जना भारतीय नागरिकलाई काममा लगाएको उनी सुनाउँन्। ‘परिवारको खर्च जोहो भएको छ। कामको खोजीमा छोराहरूले अन्यत्र धाउनु परेको छैन,’ उनी भन्छन्।
पहाडी क्षेत्रबाट कच्चापदार्थ ल्याउने गरेका छन्। परिवारका सदस्य नै काममा जोतिन्छन्। सबै खर्च कटाएर वार्षिक करीब सात लाख रुपैयाँ जोगिने गरेको उनी सुनाउँन्। गत वर्ष कोट-पाइन्ट मात्रै तीन लाख रुपैयाँको बिक्री गरेका थिए। यस वर्ष माग बढी आएकाले बिक्री बढ्ने उनको विश्वास छ।
जगत पेशाले विद्यालय कर्मचारी हुन्। २०६५ सालदेखि कञ्चनपुरकै कसरौलस्थित बैजनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत छन्। सन्तानलाई पढाउन, घर खर्च चलाउन जागीरले मात्रै नपुगेपछि उद्योगतिर लागेको उनी सुनाउँछन्।
उनले २०७९ सालबाट जय लटिनाथ घरेलु कपडा उद्योग स्थापना गरेका हुन्। सुरुआतमा खासै आम्दानी हुँदैनथ्यो। तैपनि उनले खर्च चलाउन उद्योगलाई निरन्तरता दिए। अहिले आएर भने माग बढ्दै गएको उनी बताउँछन्।
बिहान बेलुका उद्योगमा खटिन्छन् भने दिनमा कार्यालय धाउँछन्। उनी विद्यालय गएको वेला पत्नी र छोराले उद्योग सम्हाल्छन्।
उसो त सिंह परिवारको पुर्ख्यौली पेशा नै कपडा बुन्ने हो। दार्चुलामा राडीपाखी बनाएर बिक्री गर्थे। त्यही क्रममा २०४४ सालमा तराई झरेका थिए। त्यसपछि पुर्ख्यौली पेशाले निरन्तरता पाउन सकेन। बुवा, काका लगायत आफन्तजन खेतीपातीमै लागे। त्यसले नै दैनिकी चल्न थाल्यो।
विस्तारै परिवारका सदस्य बढ्दै गए। जग्गाजमीन भने बढेन। खेतीपातीले मात्रै नपुग्ने भएपछि विकल्प खोज्न थालियो। उनी भने जागीरसँगै घरेलु उद्योगतिर लागेको बताउँछन्। ‘पहिले पहिले बजारको समस्या थियो। अहिले त ग्राहक आफैं उद्योगमै आएर सामान लग्छन्,’ जगत खुशी हुँदै सुनाउँछन्।
पछिल्लो समय तयारी पोशाकको माग धेरै छ। त्यसैले उनले तयारी पोसाक उत्पादनमा जोड दिएका छन्। यसका लागि भारतबाट समेत कृत्रिम फाइबरको कच्चापदार्थ ल्याउने गरेको उनी बताउँछन्। तैपनि प्राकृतिक फाइबर नै प्राथमिकतामा राखेका छन्। ‘प्राकृतिक फाइबर टिकाउ पनि हुन्छ। स्वास्थ्यका लागि पनि राम्रो हुनाले ग्राहकको रोजाइमा परेको छ,’ जगत भन्छन्।
प्राकृतिक फाइबरबाट निर्मित कपडा निकै फाइदाजनक मानिन्छ। यसका लागि अल्लो र गाँजाको धागो उत्पादन गरिन्छ। कटनका लागि भने भारतबाट धागो आयात गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
पछिल्लो समय भने कामदारको अभाव रहेको गुनासो गर्छन्। गाउँघरमा कारिगर नपाएपछि कपडा बुन्न भारतीयलाई ल्याइएको उनको भनाइ छ। अहिले आफू पनि कपडा सिउन सिकिरहेका छन्।
Shares

प्रतिक्रिया