नेपाली कांग्रेसले चुनावमा हार व्यहोरेपछि सुदूरपश्चिममा अन्तर्घात भएको भन्दै धमाधम कारबाही भइरहेको छ।
कांग्रेसले बैतडी र बझाङमा पार्टीका उम्मेदवार विरुद्धको गतिविधिमा संलग्न रहँदै चुनाव हराउन भूमिका खेलेको आरोपमा नेता कार्यकर्तालाई कारबाही गरेको छ।
०७९ को चुनावमा ८ निर्वाचन क्षेत्रमा जित निकालेको कांग्रेस सुदूरपश्चिममा यसपटक ३ क्षेत्रमा सीमित बनेको छ।
बैतडीमा कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दलाई हराउन भूमिका खेलेको आरोपमा महासमिति सदस्य उत्तरबहादुर ऐर र जिल्ला कार्य समिति सदस्य वीरेन्द्रबहादुर ऐरलाई कारबाही गरेको छ।
पार्टीको आचरण, अनुशासन र विधान विपरित कांग्रेस उम्मेदवार चन्दविरुद्धको गतिविधिमा संलग्न भई अन्य दलको उम्मेदवारलाई मत मागेको भन्दै उनीहरूलाई कारबाही गरेको कांग्रेस बैतडीले जनाएको छ। कारबाहीमा परेका दुवैजना दाजुभाइ हुन्।
दुवैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासित गरिएको कांग्रेस बैतडीका जिल्ला अनुशासन समिति संयोजक देवराज जोशीले जानकारी दिए।
उनीहरूले पार्टीविरुद्ध गरेको प्रमाणका रुपमा दुवै जनाको अडियो समेत राखिएको छ। बैतडीमा कांग्रेसका चन्दलाई हराउँदै रास्वपाका हरिमोहन भण्डारी प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
यस्तै, नेपाली कांग्रेसले बझाङका नेपाल किसान संघ पूर्वजिल्ला अध्यक्ष रामबहादुर महरलाई पार्टीबाट निष्कासन गरेको छ। चुनावमा कांग्रेसका उम्मेदवार विरुद्धको गतिविधिमा संलग्न भएको आरोपमा महरलाई कांग्रेसलाई निष्काशित गरेको छ भने ४ जनालाई स्पष्टीकरण सोधेको छ।
पार्टीको आचरण, अनुशासन र विधान विपरीत कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही विरुद्धको गतिविधिमा संलग्न भएर अन्य दलका उम्मेदवारलाई मत मागिरहेको प्रमाण प्राप्त भएकाले जिल्ला समितिले महरलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्न केन्द्रीय अनुशासन समितिलाई सिफारिस गरेको छ।
बझाङमा नेकपा एमालेबाट ऐन महर निर्वाचित भएका छन्। कांग्रेस नेता रामबहादुर एमालेबाट चुनाव जितेका ऐनका बाबु हुन्।
नेपाली कांग्रेस बझाङ जिल्ला अनुशासन समिति संयोजक वर्कबहादुर रोकायाले गरेको सिफारिसमा कांग्रेस जिल्ला कमिटी सदस्य अक्कल कुँवर, भक्तबहादुर सिंह, वित्थडचिर गाउँपालिका अध्यक्ष अम्मर महर र तरुण दल केन्द्रीय सदस्य रवि कुमार सिंहलाई स्पष्टीकरण माग्ने सिफारिस गरेको छ। चित्त बुझ्दो जवाफ नआएको खण्डमा कारबाही गर्न समेत सिफारिस गरिएको छ।
Shares

प्रतिक्रिया