ad ad

सुदूरपश्चिम


माओवादी सुदूरपश्चिममा खगराज भए ‘खाली हात’

मुख्यमन्त्री सपनामा फेरि तुषारापात
माओवादी सुदूरपश्चिममा खगराज भए ‘खाली हात’

गोकुल जोशी
माघ १३, २०८० शनिबार १४:४२, कञ्चनपुर

नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा वरिष्ठ नेता मानिन्छन्- खगराज भट्ट। उनी सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने पार्टीका एक्ला स्थायी कमिटी सदस्य हुन्।

कुनै बेला लेखराज भट्ट माओवादीमा हुँदा सधैँ छायामा परेका खगराज उनी एमालेमा प्रवेश गरेपछि पार्टीमा तग्रिँदै गएका थिए। 

लेखराज माओवादी सुदूरपश्चिम इन्चार्ज हुँदा खगराज सहइन्चार्ज थिए। लेखराज एमाले बनेपछि खगराज माओवादी सुदूरपश्चिमको इन्चार्ज बने। 

तर उनको इन्चार्ज पद गत साउनमा खोसियो। माओवादीले चलाएको गाउँ फर्क अभियानका क्रममा माओवादी सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी डिलाराम आचार्यलाई दिइयो। 

त्यसअघि स्थानीय तह चुनावताका पनि उम्मेदवारको टिकट वितरणमा मनोमानी गरेको भन्दै निर्वाचन प्रयोजनका लागि भट्टलाई दिइएको अधिकार खोसेर उनको हस्ताक्षर नचल्ने बनाइएको थियो। 

अहिले माओवादी सुदूरपश्चिमको इन्चार्ज आचार्य छन्। शुक्रबार खगराजलाई  संसदीय दलको नेताबाट पनि हटाइयो।
खगराज इतर समूहले बहुमत सांसद जुटाएर उनलाई दल नेताबाट हटाई उनको स्थानमा दार्चुलाबाट निर्वाचित मानबहादुर धामीलाई दल नेता बनाएको छ। 

योसँगै खगराज आफ्नै गृहप्रदेशमा माओवादी पार्टीमा जिम्मेवारीविहीन भएका छन्। केन्द्रमा स्थायी कमिटी सदस्य भए पनि यतिबेला खगराज प्रदेशका कुनै पनि संरचनामा कार्यकारी भूमिकामा छैनन्।

    संसदीय दलको नेतामा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै खगराजलाई इतर सांसदले बहुमत पुर्‍याएर पदबाट हटाइदिएका हुन्।

    उक्त निर्णयलाई नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढा आफैँ चढेको डुंगामा आफैँले प्वाल पारेको टिप्पणी गर्छन्। यसले पार्टी कार्यकर्तामा निराशा र आक्रोश पैदा गरेको उनको भनाइ छ।

    ‘केही व्यक्तिहरुलाई क्षणिक आनन्द त आएको होला तर  तिम्रो निर्णयले हजारौँ कार्यकर्ताहरुमा निराशा र आक्रोश मात्रै पैदा भएको छ। यो निर्णयले तत्काल केहीलाई क्षणिक लाभ भए पनि  अन्ततः सबैले वर्षौं पछुताउनुपर्ने मात्रै हुनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफै चढेको डुंगामा आफैँले प्वाल पार्नु बुद्धिमत्तापूर्ण कार्य हो भनेर कसरी भन्न सक्छु र कमरेड? डुंगामा प्वाल पारेपछि करिब-करिब सबै डुब्ने खतरा हुँदैन होला र महाशय?’

    संसदीय दलको नेता परिवर्तनको विषयमा प्रदेश कमिटीलाई कुनै औपचारिक जानकारी नआएको उनले बताए।

    मुख्यमन्त्री सपनामा फेरि तुषारापात
    खगराज माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलमा अल्पमतमा छन्। उनका पक्षमा सामाजिक विकासमन्त्री झपडबहादुर साउँद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामी र सांसद जानकीदेवी कुँवर मात्र छन्।

    खगराज इतर समूह संसदीय दलमा बलियो छ। मानबहादुर धामीलाई दल नेता बनाउने पक्षमा उपनेता अक्कलबहादुर रावल, राज्यमन्त्री गीतादेवी माल, सांसदहरु ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विकलगायत छन्।

    सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सांसद छन्। कांग्रेस नेतृत्वको गठनबन्धन सरकारमा माओवादी दुई मन्त्रालय र एक राज्यमन्त्रीसहित सामेल छ।

    शीर्ष तहमा सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी र कांग्रेसले आधाआधा कार्यकाल गर्ने समझदारी भएको नेताहरुले बताउने गरेका छन्। 

    कांग्रेस नेतृत्वमा प्रदेश सरकार गठन भएको एक वर्ष पूरा भइसकेको छ। नेताहरुले भनेबमोजिम अढाई वर्षपछि कांग्रेसले प्रदेश सरकारको नेतृत्व छाडे माओवादीको पालो आउनेछ। 

    यसकारण भावी मुख्यमन्त्रीका रुपमा खगराजलाई हेरिएको थियो। तर उनी सुदूरपश्चिम संसदीय दलमा कमजोर देखिँदा फेरि पनि उनको मुख्यमन्त्री बन्ने सपना सपनामै सीमित हुने विश्लेषण भइरहेको छ। 

    देउवाको त्यो वचन, जिल्ल खगराज
    गत मंसिर ४ मा वाम-लोकतान्त्रिक गठबन्धनबाट चुनावमा होमिँदा सुदूरपश्चिमको मुख्यमन्त्रीका दाबेदार थिए- खगराज।

    वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा त्यतिबेला एउटै गठबन्धनमा थिए।

    खगराज ०७४ सम्म डडेल्धुराबाट प्रतिनिधि सभातर्फ देउवाका प्रतिस्पर्धी थिए। देउवाविरुद्ध उठ्दै हार्दै गरिरहेका थिए उनी।

    माओवादी सशस्त्र द्वन्द्व छाडेर शान्ति प्रक्रियामा आएपछि भट्ट २०६४, ०७० र ०७४ का तीन निर्वाचनमा देउवासँग भिडेर हारे। 

    यसपटकको चुनावमा उनै भट्टले गठबन्धनका कारण देउवालाई प्रतिनिधि सभा छाडेर प्रदेश सभा झरे।

    मुख्यमन्त्री बनाउने देउवाको आश्वासनपछि प्रदेश सभामा झरेका भट्ट भावी मुख्यमन्त्रीका रुपमा चर्चामा थिए। 

    माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा दुवैजना भट्टलाई सुदूरपश्चिमको भावी मुख्यमन्त्री बनाउन सहमत थिए। 

    देउवाले निर्वाचनताका भट्टका लागि मत माग्दै उनलाई भावी मुख्यमन्त्रीका रुपमा सार्वजनिक कार्यक्रममै चित्रण गरेका थिए। 

    देउवाले नै मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि भट्ट पनि खुसी थिए। सुदूरपश्चिम प्रदेशसभाको निर्वाचनको परिणाम पनि तत्कालीन वाम*-लोकतान्त्रिक गठबन्धनकै पक्षमा आयो। 

    प्रदेशसभातर्फ कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी १९, माओवादीका ११ र नेकपा एकीकृत समाजवादीका ४ सहित तत्कालीन गठबन्धनको स्पष्ट बहुमत थियो।

    ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छन्। तत्कालीन गठबन्धनका पक्षमा ३४ सांसदको  सुविधाजनक बहुमत थियो।

    प्रत्यक्षतर्फ ३ सिटमा खुम्चिएको नेकपा एमाले प्रदेश सरकारको नेतृत्वबाट ‘रिङ आउट’को अवस्थामा थियो। तत्कालीन वाम-लोकतान्त्रिक गठबन्धनमा कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको थियो।

    १० पुस २०७९ मा एकाएक केन्द्रमा राजनीतिक समीकरण उलटफेर भयो। प्रचण्ड विगतको तिक्तता बिर्सिंदैँ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न पुगे।

    वाम-लोकतान्त्रिक गठबन्धन भत्किएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने। सातै प्रदेशमा एमाले नेतृत्वको नयाँ गठबन्धनको सरकार बन्यो। 

    त्यति बेलासम्म माओवादी नेता भट्ट मुख्यमन्त्री बन्नेमा आशावादी थिए। नयाँ गठबन्धनभित्र प्रदेश सभामा माओवादी नै ठूलो दल थियो। 

    तर एमाले नेतृत्वको गठबन्धनमा भएको भागबन्डाले भट्टको मुख्यमन्त्री सपनामा तुषारापात भयो। २७ पुस २०७९ मा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बने। रावल नेतृत्वको सरकारमा भट्ट विनाविभागीय मन्त्री बने। 

    नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार २९ दिनमै ढल्यो। 

    त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्‌को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका कमलबहादुर शाह २६ माघ २०७९ मा मुख्यमन्त्री नियुक्त भए।

    राष्ट्रपति निर्वाचनका बेला पुरानै गठबन्धन ब्युँतिएपछि फेरि खगराज पूर्व सहमतिअनुसार माओवादीले मुख्यमन्त्री पाउनु पर्ने अडानमा रहे। यस क्रममा उनले संसदीय दलको बैठकबाट यथास्थितिमा कांग्रेसका शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गराए।

    अहिले संसदीय दलको नेताबाट खगराजलाई बहिर्गमन गर्ने सांसद त्यति बेला पनि उनका विरुद्धमै थिए। अर्थात् कांग्रेसका शाहलाई विश्वासको मत दिने पक्षमा थिए। 

    प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भट्टलाई टेलिफोन गर्दै विश्वासको मत दिएर कांग्रेससँग मिलेर जान निर्देशन दिएपछि खगराज गल्न बाध्य भएका थिए। 

    जसबाट फेरि पनि उनको मुख्यमन्त्री बन्ने सपना भताभुंग भएको थियो। उनै खगराज अहिले संसदीय दलको नेताको जिम्मेवारी पनि खोसिएपछि सुदूरपश्चिममा पार्टीभित्र जिम्मेवारीविहीन भएका हुन्। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .