ad ad

सुदूरपश्चिम


माओवादी सुदूरपश्चिममा केन्द्रीय गुटका बाछिटा, दल नेता परिवर्तन विवादमा को कता?

प्रदेश समितिको निर्देशन अवज्ञा, निर्णय नफेर्ने संसदीय दलको अडान
माओवादी सुदूरपश्चिममा केन्द्रीय गुटका बाछिटा, दल नेता परिवर्तन विवादमा को कता?

गोकुल जोशी
माघ १९, २०८० शुक्रबार ११:५०, कञ्चनपुर

नेकपा माओवादी केन्द्र सुदूरपश्चिममा विवाद चर्किंदै गएको छ। प्रदेश सभा संसदीय दलको नेता परिवर्तनपछि गुटगत मनमुटाव झन् बढेको हो।

गत शुक्रबार बहुमत सांसदले खगराज भट्टलाई हटाएर दार्चुलाबाट निर्वाचित मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गर्‍यो। 

दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले दलको नेता फेरेर प्रदेश सभा सचिवालयलाई जानकारी गरायो। 

लगत्तै सुदूरपश्चिम प्रदेश समितिले दल नेता फेर्ने निर्णय सच्याउन लिखित निर्देशन दियो।

अध्यक्ष हरिराम चौधरी र सचिव जनकबहादुर बुढाले संयुक्त हस्ताक्षरमा पत्र पठाउँदै सुदूरपश्चिमका ९ वटै जिल्ला समन्वयन समिति र संसदीय दललाई केन्द्रीय कार्यालयको निर्देशनविपरीत भएको उक्त निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएका थिए।

तर संसदीय दलले प्रदेश कमिटीको सो निर्देशनको पालना गरेको छैन। बरु दलको नेता फेरिएको कुरा प्रदेश सरकारलाई समेत जानकारी गराइकेको छ। 

प्रदेश कमिटी र संसदीय दलबीच जुहारी
संसदीय दलले प्रदेश कमिटीले गरेको निर्णय अल्पमतको भएको आरोप लगाएको छ। प्रदेश कमिटीका १३ पदाधिकारीमध्ये ४ जनाले मात्रै सो निर्णयमा हस्ताक्षर गरेको धामी पक्षीय सांसदको जिकिर छ।

पार्टी केन्द्रको निर्देशन र विधानअनुसार नै दल नेता फेरिएको उनीहरूको दाबी छ। 

अल्पमतको निर्णय भएकाले प्रदेश कमिटीको निर्देशन कार्यान्वयन नगरिएको सांसद शिवसिंह ओलीले बताए।  

‘प्रदेश कमिटी न्युट्रलजस्तै हो। उहाँहरू ४ जना बसेर निर्णय गर्नुभएको छ’, उनले भने, ‘यो कार्यान्वयन हुँदैन। केन्द्रीय कमिटीको निर्देशन भए कार्यान्वयन हुन्थ्यो।’

उता माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका सचिव जनकबहादुर बुढाले संसदीय दल नेता फेर्ने  निर्णयले पार्टी कार्यकर्तामा निराशा पैदा भएको बताए।

पदाधिकारी बैठकले सो निर्णय फिर्ता लिन निर्देशन दिएको र संसदीय दलभित्रको विवाद समाधानका लागि शीर्ष तहलाई आग्रह गरिएको उनले बताए। 

‘६ जना पदाधिकारीको हस्ताक्षर नै छ। केही पदाधिकारीसँग फोनमा पनि कुरा गरिएको थियो’, उनले भने, ‘निर्णय फिर्ता लिन दिएको निर्देशनमा दुई जना पदाधिकारीको मात्रै असहमति छ।’

अध्यक्ष चौधरी, सचिव बुढा, पदािधकारीमा रहेका राम देउकर, कमल शाह, प्रकाश नेपाली र अञ्जिता श्रेष्ठले सो निर्णयमा हस्ताक्षर गरेका छन्। 

उपाध्यक्षद्वय अक्कलबहादर रावल र मानसिंह माल मात्रै निर्देशन जारी गर्ने निर्णयको विपक्षमा उभिएको सचिव बुढाको दाबी छ।

केन्द्रीय गुटका बाछिटा 
माओवादी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलमा शीर्ष तहको गुटबन्दीको असर परेको नेताहरू बताउँछन्। 

माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मानिकट नेताहरूबीच सुदूरपश्चिम प्रदेश सभा संसदीय दलमा गुटबन्दी भइरहेको छ। 

अहिले संसदीय दलको नेता बनेका मानबहादुर धामी र ओमविक्रम भाट उपमहासचिव वर्षमान पुननिकट सांसद मानिन्छन्। यस्तै शिवसिंह ओली वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट मानिन्छन्। 

दल उपनेता अक्कलबहादुर रावल भने अर्का उपमहासचिव जर्नादन शर्मानिकट हुन। खगराज भट्ट केन्द्रमा जर्नादन शर्मानिकट मानिए पनि दल नेता फेर्ने विषयमा शर्मा मौन बसेको उनी निकट एक नेताको भनाइ छ।

‘उहाँ (जर्नादन) ले दल नेता फेर्ने विषयमा अडान लिनसक्नुपर्थ्यो। उहाँ नै मौन बस्दा अरुले खेल्ने मौका पाए’, ती नेताले भने।

संसदीय दलमा नारायणकाजी-वर्षमाननिकट सांसद मिलेर जर्नादन निकट मानिएका खगराजलाई किनारीकृत गरेका हुन्।

नेतापिच्छे गुट-उपगुट
त्यसो त केन्द्रकै गुटअनुसार माओवादी सुदूरपश्चिमका शीर्ष नेताले पनि आआफ्ना गुट चलाउँछन्। 

खगराज भट्ट, प्रदेश कमिटी अध्यक्ष हरिराम चौधरी, पूर्वमन्त्री बिना मगर, पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, मानबहादुर धामी र ओमविक्रम भाटलगायकाको गुट-उपगुट सुदूरपश्चिममा सक्रिय छन्। 

अहिले प्रदेश कमिटी अध्यक्ष चौधरी र सचिव जनक बुढा भने भट्टका पक्षमा खुलेका छन्। दल नेता भएका धामी चौधरीसँग अध्यक्षमा झिनो मतले हारेका थिए।

त्यसबेला इन्चार्ज रहेका भट्टले अध्यक्षमा चौधरीलाई सघाएर आफूलाई असहयोग गरेको भन्दै धामी असन्तुष्ट थिए। यस्तै सचिवमा लड्न चाहेका ओमविक्रम भाटलाई इन्चार्ज भट्ट र बिना मगरले साथ नदिएपछि उनी ‘ब्याक’ भएका थिए।

लेखराज भट्ट माओवादीमा हुँदा उनको समूहले खगराजलाई चेपुवामा पारेको थियो। त्यसबेला लेखराज अध्यक्ष पुष्पकमल दाहालसँग नजिक थिए। 

खगराज भने डा. बाबुराम भट्टराईनिकट थिए। तर प्रचण्डसँग मनमुटावपछि भट्टराई माओवादी पार्टीबाट बाहिरिए भने खगराज पार्टीमै रहे। त्यसपछि खगराज जर्नादननिकट बने।

खगराजलाई चेपुवामा पार्ने लेखराज बाहरिएपछि तंग्रिने आशामा रहेका उनी अहिले फेरि किनारीकृत हुँदै गएका छन्। 

लामो समय लेखराजसँग बसेका ओमविक्रम भाट उनकै समूह ब्युँताउने गरी अघि बढेका छन्। भाट जसरी पनि खगराजलाई रोक्ने रणनीतिमा छन्।  

‘आफ्नो वर्चस्व कायम राख्न नेताहरू नै भिडिरहेका छन्। यसले एउटा व्यक्तिलाई त फाइदा गर्ला तर पार्टीलाई झनै कमजार बनाउँदै लगेको छ’, माओवादी सुदूरपश्चिमका एक नेताले भने।

संसदीय दलको नेता फेर्ने निर्णयमा बिना मगर र त्रिलोचन भट्ट समूह भने खासै नखुलेको माओवादी नेताहरूको दाबी छ। 

मन्त्री नपाउँदा बिच्किए
कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेशको गठबन्धन सरकारमा मन्त्री बन्नेहरूको माओवादीभित्र हानथाप थियो। सांसद अक्कलबहादुर रावल र मानबहादुर धामी दोस्रोपटक प्रदेश सभामा निर्वाचित सांसद हुन्।

अघिल्लोपटक मौका नपाएका रावल यसपटक मन्त्री बन्ने दौडमा थिए। ओमविक्रम भाट र शिवसिंह ओली पनि मन्त्रीका आकांक्षी थिए। 

यद्यपि खगराजले ‘माथीको निर्देशन’ भन्दै सामाजिक विकासमन्त्री झपटबहादुर साउद र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रमेशसिंह धामीलाई पठाए। 

गीतादेवी माललाई राज्यमन्त्री बनाएर सरकारमा पठाए। मन्त्री हुन नपाएकाले आकांक्षी सांसदहरू खगराजविरुद्ध थिए। त्यसअघि एमालेका राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकारमा दल नेता खगराज बिनाविभागीय मन्त्री बनेकामा पनि उनीहरू असन्तुष्ट थिए।

सांसद लक्ष्मी विक खगराजका कारण मन्त्री हुन नपाएको र राज्यमन्त्री गीता माल तालुकदार मन्त्रीसँगको विवादपछि मानबहादुर धामीको नेतृत्वको समूहमा गोलबद्ध भएर खगराजविरुद्ध लागेका हुन्। 

‘उहाँहरूले मन्त्री फिर्ता बोलाएर नयाँ सेट पठाउनुपर्‍यो। नभए तपाईंलाई दल नेताबाट हटाएर हामी अघि बढ्छौँ भन्नुभएको थियो’, खगराजनिकट एक नेताले भने, ‘अध्यक्षज्यूको निर्देशनअनुसारै मन्त्री पठाइएका हुन्। उहाँकै सहमतिअनुसार अगाडि बढ्छु। म केही गर्न सक्दिनँ भनेपछि उहाँहरूले यो कदम चाल्नुभएको हो।’

त्यसपछि खगराज इतर समूहका सांसदले काठमाडौँमा शीर्ष तहलाई भेटेर बहुमत सांसद देखाउँदै मन्त्री फेर्न दबाब दिएका थिए। 

सरकारमा सामेल माओवादी मन्त्रीले प्रभावकारी काम गर्न नसकेको, सरकार र संसदीय दलकोबीचमा समन्वय गर्नुका साथै प्रभावकारी नेतृत्व गर्नुपर्नेमा संसदीय दलको नेता भट्टले उक्त भूमिका निर्वाह गर्न उदासिनता र अकर्मण्यता देखाएको र जसले नेतृत्वप्रति असन्तुष्टि बढेको उनीहरूको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .