World Cup 2026


कंगोसँग भिड्दै रोनाल्डोको पोर्चुगल, कस्तो छ ‘स्ट्रेन्थ’? (प्रिभ्यु)

कंगोसँग भिड्दै रोनाल्डोको पोर्चुगल, कस्तो छ ‘स्ट्रेन्थ’? (प्रिभ्यु)

नेपालखबर
असार ३, २०८३ बुधबार १७:३१, काठमाडौँ

अर्जेन्टिनाका लियोनल मेस्सीले विश्वकपमा ह्याट्रिकको स्वाद चाखेकै दिन पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि त्यस्तै अवसर पाउँदै छन्।

मेस्सी र रोनाल्डो त्यस्ता खेलाडी हुन् जो नयाँ नयाँ कीर्तिमानको लागि विश्वचर्चित छन्। 

तिनै रोनाल्डोको कप्तानीमा रहेको समूह ‘के’को टोली पोर्चुगलले आज राति पौने ११ बजे ह्युस्टन रंगशालामा डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग खेल्दै छ। यसपालि फ्रान्स र स्पेनसँगै पोर्चुगललाई उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ। किनभने यसपटक पोर्चुगलको ‘स्क्वाड डेप्थ’ एकदमै बलियो छ।

विश्वकपमा पोर्चुगलले सबैभन्दा राम्रो प्रदर्शन ६० वर्षअघि गरेको थियो। सन् १९६६ मा इंग्ल्यान्डमा भएको यो विश्वकपमा पोर्चुगिज टोली तेस्रो भएको थियो। त्यसयता भने विश्वकप यात्रा संघर्षपूर्ण रहँदै आएको छ।
 

सन् २००६ मा जर्मनीमा सम्पन्न विश्वकपमा पोर्चुगलले सेमिफाइनलसम्मको यात्रा गरेको थियो। गत संस्करणमा यो टोली क्वार्टरफाइनलबाटै विदा भयो। सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगलले त्यसयता बलियो टोली हुनुका बाबजुद विश्वकपमा रवाफिलो प्रदर्शन गर्न सकेको छैन। यसपालि करिअरको उत्तरार्धमा रहेका भेट्रान खेलाडी क्रिस्टियानो रोनाल्डोका लागि भए पनि विश्वकप जित्न चाहन्छ।
 
रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगल साँचिक्कै बलियो छ। उज्वेकिस्तान र कोलम्बियासम्मिलित समूह ‘के’मा पोर्चुगल निर्विवाद शीर्ष स्थानमा रहने टोली हो भन्न सकिन्छ।
 
विश्वकपअघि भएका तीनवटै मैत्रीपूर्ण खेल पोर्चुगलले जितेको छ। अमेरिका, चिली र नाइजेरिया पोर्चुगलसँग पराजित भएका थिए।

अर्मेनियाविरुद्ध ९–१ को फराकिलो जितसँगै पोर्चुगलले विश्कप छनोट अभियानको अन्त्य गरेको थियो। तर, त्यो खेलअघि टोली रिपब्लिक अफ आयरल्यान्डसँग पराजित भएको थियो। जसका कारण टोलीले अमेरिकामा उपाधिका लागि साँचिक्कै बलियो चुनौती दिने  क्षमतामाथि प्रश्न नउठाएको भने होइन।

विश्वकपमा पहिलो जम्काभेट
पोर्चुगल र कंगो अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपटक आमने–सामने हुँदै छन्। लियोपार्ड्सको उपनामले परिचित कंगोको चुनौती पन्छाउन नसके यो विश्वकप २०२६ कै दोस्रो ठूलो झट्का हुनेछ। सोमबार राति मात्र स्पेनलाई पहिलोपटक विश्वकप खेलिरहेको केप भेर्डेले गोलरहित बराबरीमा रोकेको थियो।

कंगोले विश्वकपअघि पोर्चुगलको युरोपियन प्रतिद्वन्द्वी डेनमार्कलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, सात दिनअघि मात्र टोली चिलीसँग २–१ ले पराजित भयो।

कंगोले गत वर्ष सम्पन्न अफ्रिकन कप अफ नेसन्समा अन्तिम १६ सम्मको यात्रा गरेको थियो। अन्तर्महादेशीय प्लेअफमा जमैकालाई १–० ले पराजित गर्दै लियापार्ड्सले ५२ वर्षपछि पहिलोपटक विश्वकपमा स्थान बनाएको हो।

‘एक्स्पान्डेड’ विश्वकपले सेबास्टियन डेजाब्रेको नेतृत्वमा रहेको कंगोलाई नकआउट चरण प्रवेश गर्ने मौका दिएको छ। एउटा जितले पनि कंगोले कम्तीमा पनि तेस्रो स्थान हासिल गर्नेछ। यसपालि उत्कृष्ट ‘सेकेन्ड रनर्स–अप’ बन्ने टोलीलाई अन्तिम ३२ मा प्रवेश गर्ने अवसर रहेकाले एउटा जितले पनि धेरै महत्त्व राख्नेछ।

कस्तो छ ‘स्ट्रेन्थ’? 
पोर्चुगलसँग अहिले कुनै पनि खालको इन्जुरी समस्या छैन। बुधबार ४१ वर्षीय रोनाल्डो आफ्नो २२९औँ अन्तर्राष्ट्रिय खेलमा पोर्चुगललाई लिड गर्दै छन्।

रोनाल्डो कंगोविरुद्ध आफ्नो १४३औँ गोलको खोजीमा हुनेछन्। अनि निराशाजनक २०२२ कतार विश्वकपलाई सुधार्ने लक्ष्यमा हुनेछन्। चार वर्षअघि उनले मात्र एक गोल गरेका थिए।

फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी)लाई लगातार दोस्रो सिजन यूईएफए च्याम्पियन्स लिगको उपाधि जिताएका नुनो मेन्डेज, जोआओ नेभेज र भिटिन्हा पहिलो रोजाइमा खेल्न तयार छन्। 
त्यस्तै म्यानचेस्टर युनाइटेडबाट सानदार सिजन बिताएका ब्रुनो फर्नान्डेज पनि टोलीका महत्वपूर्ण सदस्य हुन्।

कंगोको हकमा स्क्वाडमा आरोन वान बिसाका, तुआन्जेबे, चान्सेल म्बेम्बा र आर्थर मासुआकुजस्ता नाम चलेका खेलाडीहरु छन्। पोर्चुगलविरुद्ध टोली ‘ब्याक फाइभ’मा खेल्ने अनुमान छ।

सन्डरल्यान्डका नोआ सादिकीले मिडफिल्डलाई लिड गर्नेछन्। त्यस्तै स्ट्राइकरमा न्युक्यासलका योआन विस्सा र रियल बेटिसका सेड्रिक बाकाम्बुमध्ये एक जना हुने अनुमान छ।

बकाम्बुको नाममा २१ गोल छ। त्यस्तै न्युक्यासलमा कठिन सिजन बिताएका विस्साले ९ गोल गरेका छन्।

समूह ‘के’को अर्को खेलमा बिहीबार बिहान नेपाली समयअनुसार ७ः४५ बजे उज्वेकिस्तान र कोलम्बियाले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad