विश्वकपले फुटबलका महान खेलाडीलाई एकै ठाउँमा ल्याउने काम गरिरहेको छ। फुटबलको महाकुम्भका संसारभरका महारथीलाई करोडौँ समर्थकले एकै स्थानमा देख्न पाउँछन्। त्यसैले पनि हरेक चार वर्षमा हुने विश्वकपको चर्चा हुने गर्छ।
सन् १९३० सुरु भएको विश्वकप सन् २०२६ सम्म आइपुग्दा विभिन्न कीर्तिमान बनेका छन्। कतिपय कीर्तिमान विश्वकप चल्दाचल्दै तोडिन्छन् भने कतिपय वर्षौंसम्म रहन्छन्। सोमबार मात्रै अर्जेन्टिनाका लियोनल मेस्सीले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्।
मेस्सीसँगै धेरै गोल गर्ने खेलाडीबारे यसमा चर्चा गरेका छौँ।

लियोनल मेस्सी, अर्जेन्टिना
सन् २०२६ को विश्वकप सुरु हुनुअघि जर्मनीका मिरोस्लाभ क्लोज सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा थिए। तर विश्वकपको पहिलो खेलमा नै ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले उनलाई बराबरी गरे। दोस्रो खेलमा दुई गोल थपेसँगै मेस्सीले क्लोजलाई पछि पारेका छन्।
छैटौँ पटक विश्वकप खेलिरहेका मेस्सीले एउटा संस्करणमा मात्रै गोल गर्न सकेनन्। उनले पहिलो पटक सन् २००६ मा विश्वकप खेलेका थिए। त्यो संस्करण उनले एक गोल गरेका थिए। सन् २०१० मा गोलविहीन बनेका मेस्सीले २०१४ मा भने चार गोल गरेका थिए।
सन् २०१८ मा एक गोल मात्र गरेका मेस्सीले सन् २०२२ को विश्वकपमा सबैभन्दा धेरै सात गोल गरेका थिए। अहिले पनि मेस्सीले सुरुवाती दुई खेलमा नै पाँच गोल गरिसकेका छन्। विश्वकपमा उनले अहिलेसम्म २८ खेल खेल्दा १८ गोल गरेका हुन्।

केलियन एमबाप्पे, फ्रान्स
मेस्सीलाई पछ्याइरहेका फ्रान्सेली कप्तान केलियन एमबाप्पलेले अहिलेसम्म विश्वकपमा १६ गोल गरिसकेका छन्। उनले यो कीर्तिमान मात्र तीन विश्वकपमा भेटेका हुन्।
सन् २०१८ मा पहिलो पटक विश्वकप खेलेका एमबाप्पेले चार गोल गरेका थिए। सन् २०२२ मा आठ गोल गरेका एमबाप्पेले गोल्डेन बुट जितेका थिए। यो पटक दुई खेलमा नै चार गोल गरिसकेका एमबाप्पलेले विश्वकपको आफ्नो १६ खेलमा १६ गोल नै गरेका छन्।
अहिले समूह चरणको दोस्रो खेलमा फ्रान्सले इराकलाई ३–० गोलले हराउँदा एमबाप्पेले दुई गोल आफ्नो नाममा गरे। यो गोलसँगै उनले जर्मनीका क्लोजसँग बराबरी गरेका छन्। एमबाप्पेको यो गतिलाई हेर्दा उनले मेस्सीलाई समेत पछि पार्ने संकेत गरिसकेका छन्।

मिरोस्लोभ क्लोस जर्मनी
विश्वकपको चार संस्करण खेलेका जर्मनीका मिरोस्लोभ क्लोसले २४ खेलमा १६ गोल गरेका थिए। सन् २०१४ पछि उनको यो कीर्तिमान अन्य टोलीका खेलाडीले तोड्न सकेनन्।
सन् २००२ मा पहिलो विश्वकप खेलेका क्लोसले त्यतिबेला चार खेल खेले। त्यस संस्करण उनले पाँच गोल गरेका थिए।
सन् २००६ मा पाँच गोल गरेका क्लोसले २०१० को विश्वकपमा भने चार गोल मात्र गर्न सके। उनको अन्तिम विश्वकप सन् २०१४ मा उनले दुई गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका थिए।

रोनाल्डो, ब्राजिल
जब विश्वकपको चर्चा सुरु हुन्छ, ब्राजिलियन रोनाल्डोको नाम नआउने त कुरै भएन। विश्वकपको चार संस्करण खेलेका रोनाल्डोले १५ गोल गरे।
पहिलो पटक सन् १९९४ मा रोनाल्डोले विश्वकपमा डेब्यु गरे। तर उनले गोल गर्न भने सकेनन्।
सन् १९९८ मा उनले चार गोल गरे। अझ रोमाञ्चक त सन् २००२ मा आइपुग्दा उनले आफ्नो गोल गर्ने क्षमतालाई दोब्बर पारे। उनले आठ गोल गरे।
रोनाल्डोले आफ्नो अन्तिम विश्वकप सन् २००६ मा खेले। यो पटक भने उनले तीन गोल मात्र गरे। विश्वकपमा कुल १९ खेल खेलेका रोनाल्डोले १५ गोल गरेका छन्।

गर्ड मुलर, पश्चिम जर्मनी
विश्वकपका दुई संस्करण अनि १४ गोल। सुन्दा अविश्वसनीय लाग्न सक्छ? तर यो कीर्तिमानी प्रदर्शन पश्चिम जर्मनीका गर्ड मुलरले १९७४ मा बनाएका हुन्। त्यतिबेला पूर्व र पश्चिम जर्मनी गरी दुई वटा देश थिए।
उनले विश्वकपका दुई संस्करण मात्र खेले। तर आफ्नो नाम इतिहासमा लेखाए। कीर्तिमानी प्रदर्शन गरेका मुलरले सन् १९७० मा पहिलो पटक विश्वकप खेलेका थिए।
आफ्नो पहिलो विश्वकपमा नै उनले १० गोल गर्दै सनसनी मच्चाए। त्यसपछि सन् १९७४ उनको दोस्रो तथा अन्तिम विश्वकप। यो विश्वकपमा उनले चार गोल गरे।
दुई विश्वकपमा १३ खेल खेलेका उनले १४ गोल आफ्नो नाममा गर्न सफल भए।

जस्ट फन्टेन, फ्रान्स
फ्रान्सका जस्ट फन्टेनले एक मात्र विश्वकप खेले। त्यही पनि आफ्नो नाममा कीर्तिमान बनाए। सन् १९५८ को एक संस्करण मात्र विश्वकप खेलेका उनले १३ गोल गरे।
विश्वकपको एक संस्करण, ६ खेल अनि १३ गोल यो कीर्तिमानी प्रदर्शनको चर्चा अहिले पनि हुने गर्छ।

पेले, ब्राजिल
द किंग अफ फुटबल उनी हुन् ब्राजिलियन लेजेन्ड पेले। विश्व फुटबलको चर्चा हुँदा सबैभन्दा अघि आउने नाम हो पेले। उनै पेलेले विश्वकपका चार संस्करण खेलेका थिए।
पहिलो पटक सन् १९५८ मा विश्वकप खेल्दा उनले ६ गोल गरे। सन् १९६२ मा दुई र सन् १९६६ मा एक गोल मात्र गरे। उनले अन्तिम पटक सन् १९७० मा विश्वकप खेले त्यो संस्करण उनले चार गोल गर्दै विश्वकपमा १२ गोल आफ्नो नाममा गरे। पेलेले विश्वकपमा १४ खेल खेले।
पेलेपछि जर्मनीका जुगेन क्लिन्सम्यानले विश्वकपका तीन संस्करणमा १७ खेल खेले र ११ गोल गरे। हंगेरीका स्यान्डोर कोसिसले सन् १९५४ को विश्वकपमा पाँच खेल खेल्दा ११ गोल आफ्नो नाममा गरे।
अर्जेन्टिनाका गेब्रियल बोटिस्टुटा, पेरुका टियोफिलो क्युबिलास, इंग्ल्यान्डका ह्यारी केन, पोल्यान्डका ग्रजेगोजे लातो, इंल्यान्डका ग्यारी लिनेकर, जर्मनीका थोमस मुलर र हेल्मुट राहनले विश्वकपमा समान १० गोल गरेका छन्।
Shares

प्रतिक्रिया