कतारका शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणपछि आज दिउँसो स्वदेश फर्किसकेका छन्।
उनी फिलिपिन्स र बंगलादेशको भ्रमण सकेर मंगलबार साँझ नेपाल ओर्लिएका थिए। नेपालमा रहँदा उनलाई पाँचतारे होटल सोल्टीले आतिथ्य पस्कियो। होटलको स्विट रुममा मंगलबारको रात बित्यो।
मंगलबार अपराह्न काठमाडौं आएका शेख नेपालमा २२ घण्टा रहँदा लामो समय होटलमै बितेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले शेखको सम्मान र स्वागतमा सोल्टी होटलमै रात्रिभोज आयोजना गरे।
‘प्रि–प्लेटेड मेन्यु’, हस्पिटालिटीबाट खुसी
अतिविशिष्ट विदेशी पाहुना आउँदा उनी कहाँ बस्छन्, के खान्छन् भन्नेमा सबैलाई चासो हुन्छ। त्यसैले सोल्टीमा रहँदा कतारी शेखले के खाए भन्ने चासो हुनसक्छ।
मंगलबार साँझ ‘स्टेट डिनर’मा नेपाली नेतासँगै करिब डेढ सय कतारी पाहुनालाई ‘प्रि–प्लेटेड मेन्यु’ सर्भ गरिएको थियो।
त्यसमा नेपाली र अन्तर्राष्ट्रिय परिकारको संयोजन थियो। सरकारले नै रात्रिभोज दिएकाले छुट्टै मेन्युको माग थिएन।
कतारी शेखलाई सोल्टी होटलका कार्यकारी प्रमुख दिनेश बहादुर विष्ट, उपाध्यक्ष सुदर्शन चापागाईं र महाप्रबन्धक ऋषि चोपडाले न्यानो स्वागत गरेका थिए।
मिश्रित मेन्यु लिएका शेखले आफूले पाएको आतिथ्यको प्रशंसा गरेका थिए। उनले नेपालको हस्पिटालिटीबाट खुसी भएको प्रतिक्रिया दिए।
‘उहाँ (कतारी शेख) २ वटा देशमा घुमेर आउनुभएको थियो। सोल्टीमा बसेर फर्किँदा सबैभन्दा राम्रो सर्भिस मिलेको प्रतिक्रिया दिनुभयो’, होटल स्रोतले नेपालखबरसँग भन्यो।
नेपालको पुरानो तारे होटल सोल्टीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी चिनफिङ लगायत बसिसकेका छन्।
शेखको आतिथ्यलाई होटलले नेपाल र कतारबीचको फैलिँदो प्रगाढताका बीच पाएको सौहार्द अवसरका रुपमा लिएको जनाएको छ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने हेरिटेज होटलको रुपमा परिचित द्वारिकाजमा दिवाभोजसहित शेखको विदाइ गरेका थिए।
कतारी राजा ४ वटा जहाज लिएर काठमाडौं उत्रिएका थिए। उनीसँगै सुरक्षाकर्मी छुट्टै जहाजमा नेपाल आएका थिए।
Shares
प्रतिक्रिया