अटो


नेपाली अटोबजारमा अन्तर्राष्ट्रिय मन्दीको असरः आयात बढ्यो, बिक्री घट्यो

नेपाली अटोबजारमा अन्तर्राष्ट्रिय मन्दीको असरः आयात बढ्यो, बिक्री घट्यो

बसन्त अर्याल
कात्तिक ३, २०७६ आइतबार ५:४१,

नेपाली अटो व्यवसायीहरुले केही समयदेखि सवारीसाधन बिक्रीमा कमी आएको बताएका छन्। अन्तर्राष्ट्रिय अटोबजारमा पछिल्लो समय देखिएको मन्दीको असर नेपाली अटो क्षेत्रमा पनि पर्नथालेको देखिएकाे हाे। 

पहिलाका वर्षहरुमा नाडा अटो शो, दशैं तथा तिहारमा अटो व्यवसायी उत्साहित हुने गरे पनि यो वर्ष अटो बजार सुस्ताएको व्यवसायीहरुको दाबी छ। अन्तर्राष्ट्रिय अटो बजारमा मन्दी, नेपालमा ५० प्रतिशत डाउन पेमेन्ट, क्यास फ्लोमा कमी, ग्राहकको क्रयशक्तिमा कमी आएको कारण नेपाली अटो बजारमा मन्दी आएको व्यवसायीले बताएका छन्।

केही वर्षदेखि अटो बजार सुस्ताउन थालेको भन्दै गत वर्षको तुलनामा यो वर्षको चाडबाडमा अटोबजारको कारोबार कमजोर भएको उनीहरुको भनाइ छ।

गाडी चढ्न निरुत्साहित गरियोः शम्भु दाहाल

shambhu dahal nadaशम्भु दाहाल (बीचमा), अध्यक्ष-नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (फाइल तस्बिर)
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भु दाहालले सरकारले गाडी चढ्न निरुत्साहित गरेको कारण नेपाल अटोबजार सन्तोषजनक नभएको बताए। ‘सरकारले गाडीलाई विलासिताको सामान भन्छ तर चारपांग्रे गाडीले उत्पादकत्व बढाउँछ, यो बुझाउन हामीले कहिल्यै सकेनौँ’, उनले नेपालखबरसँग भने।

उनले कुनै पनि देश गाडीको प्रयोगविना विकास नभएको जिकिर गरे। उनले भने, ‘नजिकैको भारत र चीन हेर्नुहोस् वा टाढाको अमेरिका, कहाँ गाडीको प्रयोग गर्दैनन्? गाडीले मानिसलाई काम गर्न उत्साहित गर्छ। मानिस उत्साहित भयो भने धेरै काम गर्छ।’ यसले उत्पादकत्वमा समेत बढावा दिने भएकाले मानिसलाई के कुराले काम गर्न ‘मोटिभेट’ गर्छ भन्ने बुझ्नु जरुरी भएको उनले बताए।

कर बढी हुँदा अटोबजार फस्टाउन सकेनः अन्जन श्रेष्ठ
नाडाकै निवर्तमान अध्यक्ष अन्जन श्रेष्ठले पनि नेपालमा आयात गरिने गाडीमा कर बढी हुँदा अटोबजार फस्टाउन नसकेको बताए। उनले भने, ‘आजसम्मको कर हेर्ने हो भने दुई सय ५५ देखि तीन सय २० प्रतिशतसम्म छ। पोहोर सालदेखि सीसीका आधारमा अन्तःशुल्क थप गरेका कारण त्यति पुगिसकेको छ।’

उनले सरकारको अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म नेपालमा अटोबजारले राम्रो बजार लिन नसक्ने दाबी गरे। ‘राज्यले यो क्षेत्रलाई विलासी ठान्ने भएकाले जनताको ढाड सेकिने कर सहनुपरिरहेको छ’, उनले भने।

auto thali 11

तर तथ्यांकले त्यसो भन्दैन...
व्यवसायीहरुले अटोबजारले प्रगति गर्न नसकेको बताए पनि तथ्याङ्कमा भने सवारीसाधन तथा तिनका पार्टपुर्जामा वृद्धि भएको देखिन्छ। पाँच वर्षको तथ्याङ्क हेर्दा सवारीसाधनको आयात झण्डै दोब्बर पुगेको छ। आर्थिक वर्ष २०७१/०७२ देखि २०७५/०७६ सम्मको भन्सार विभागको तथ्याङ्कलाई हेर्दा ४९ अर्ब ५१ करोडबाट बढेर ९१ अर्ब १५ करोड रुपैयाँको आयात भएको देखिन्छ।

आर्थिक वर्ष २०७१/०७२ मा ४९ अर्ब ५१ करोड ६५ लाख कारोबार भएकोमा आर्थिक वर्ष २०७२/७३ मा ६६ अर्ब २० करोड ५० लाख आयात भएको देखिन्छ। त्यस्तै २०७३/०७४ को तथ्याङ्क हेर्ने हो भने ७९ अर्ब ५० करोड २२ लाख रहेको छ भने २०७४/०७५ मा ८६ अर्ब ३१ करोड ५३ लाख रुपैयाँको आयात भएको देखिन्छ।

गत आर्थिक वर्ष २०७५/०७६ मा ९१ अर्ब ३१ करोड ५३ लाख सवारीसाधन तथा तिनका पार्टपुर्जा आयात भएको देखिन्छ। विगत वर्षहरुमा मात्र होइन चालू आर्थिक वर्षमा पनि गत वर्षभन्दा वृद्धि नै भएको तथ्यांकले देखाएको छ।

गत वर्षभन्दा बढी आयात
चालू आर्थिक वर्षको दुई महिना (साउन र भदौ)को आयात अवस्था हेर्दा १८ अर्ब ४४ करोड २० लाख छ भने गत वर्षको सोही अवधिमा १७ अर्ब ११ करोड २५ लाख रुपैयाँको आयात भएको देखिन्छ।

बजारमा मन्दी हुँदा आयातमा वृद्धि किन भन्ने प्रश्नमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका संस्थापक उपाध्यक्ष ध्रुव थापाले चारपाङ्ग्रे गाडीको बिक्री घटेको तर दुईपाङ्ग्रे गाडी बिक्री राम्रो भएकोले तथ्याङ्कमा यस्तो देखिएको बताएका छन्। उनले चाडबाडमा राम्रो बिक्री हुने भन्दै साउन र भदौमा धेरै गाडी आयात भए पनि बिक्री नभई बसेको बताए।

स्टक रहेका गाडीको तथ्यांक स्पष्ट छैनः अनुप बराल
त्यस्तै नाडाकै सचिव अनुप बराल भने भन्सार विभागको तथ्याङ्क र बजारमा फरक देखिनुको कारण स्टकमा रहेका गाडीको तथ्याङ्क स्पष्ट नहुनुलाई मान्छन्।

उनले नेपालखबरसँग भने, ‘कुनै पनि गाडी बिक्रेताले निर्माता कम्पनीसँग गाडी खरिद गर्दा कम्तीमा छ महिनादेखि एक वर्षको योजना दिनुपर्छ। जस्तो १ वर्षमा १ हजार गाडी बेच्छु भनेर बिक्रेताले निर्माता कम्पनीलाई बिजनेस प्लान दिएको भए उसले १ वर्षमा १ हजार गाडी खारिद गर्नैपर्छ। बाहिरबाट आयात गर्दा तथ्याङ्कमा त बढेको देखिन्छ तर नेपाली बजारमा गाडी बिक्री नभई बिक्रेतासँग स्टक रहन्छ र उसले रोटेसनमा बिक्री गर्छ।’

auto thali 5

उनले अहिले व्यवसायीले २०१८ का गाडी पनि बेचिरहेको बताए। उनले व्यवसायीले नाडा अटो शो, दशैंमा गत वर्षभन्दा धेरै बिक्री गर्ने प्लानका साथ नेपालमा ल्याएको तर बिक्री हुन नसकेको बताए।

उनले चालू आर्थिक वर्षमा अटो बजार सुस्ताउनुमा क्यास फ्लो कम र ५० प्रतिशत डाउन पेमेन्टको व्यवस्था मुख्य कारण रहेको बताए।

उनले भने, ‘कसैले २० लाखको गाडी खरिद गर्न लाग्यो भने १० लाख त तत्कालै क्यास चाहियो’, उनले भने, ‘सबै क्यास गाडी खरिदमा हाल्ने हो भने व्यवसायीहरुको अरु काममा असर पर्ने अरु ग्राहकले गाडी खरिदको लागि चाहिने रकम एकै पटक आधा क्यास निकाल्न गाह्रो हुने हुँदा अटो बजार भाइब्रेन्ट हुनसकेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad