अटो


लकडाउन खुकुलोसँगै ल्याएको स्किमले दुईपांग्रे सवारीको माग बढ्दो

लकडाउन खुकुलोसँगै ल्याएको स्किमले दुईपांग्रे सवारीको माग बढ्दो

नेपालखबर
साउन १३, २०७७ मंगलबार १०:२१,

लकडाउन सकिएपछि मोटरसाइकल तथा स्कुटरको व्यापार ‘सामान्य अवस्थामा’ जस्तै फर्किएको छ। दुईपांग्रे बिक्रेताले ल्याएको आकर्षक स्किमले बजार माग बढाएको हो।

कोभिड १९का कारण चैत ११ देखि लकडाउन हुँदा अटो क्षेत्र ठप्प रहेको थियो। सरकारले असार १ देखि लकडाउन खुकुलो गरेसँगै दुईपांग्रे सवारीको व्यापार बढेको हो।

कोभिड १९ का कारण अटो क्षेत्रका अन्य व्यवसायजस्तो असर दुईपांग्रेमा नपरेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको दुईपांग्रे समितिका सभापति मिलन बाबु मल्लले बताए।

कोभिड १९ को त्रासका कारण यात्रुलाई सार्वजनिक यातायात चढ्ने अझै हिच्किचाहटको अवस्था रहेको छ।

‘नेपालीको वार्षिक आम्दानीअनुसार चारपांग्रे सवारी किन्नसक्ने क्षमता धेरैमा छैन’, मल्लले भने, ‘सार्वजनिक यातायात चढ्ने वातावरण र चारपांग्रे किन्नसक्ने अवस्था नहुँदा दुईपांग्रेको व्यापार चलायमान भएको हो।’

याे पनिः
सबैले चढ्नसक्ने मोटरहेडका मोटरसाइकल, कुन मोडलकाे मूल्य कति?

दुईपांग्रेमा प्रभाव रहे पनि अन्य सवारीको तुलनामा कम परेको उनको भनाइ छ।

‘कोभिडको मारमा परेका ग्राहकलाई सहज बनाउन धेरै दुईपांग्रे बिक्रेताले स्किम ल्याएका छन्। स्किम ल्याएको कारण अहिले सामान्यजस्तै देखिन्छ। तर बिक्रेताले सधैँ स्किम दिन सक्दैनन्। स्किम हटेपछि बजार कस्तो हुन्छ भन्न सकिँदैन’, उनले भने।

अप्रिलिया र भेस्पाको लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष विजय महतोले दुईपांग्रे सवारी खरिदकर्ताको लागि अहिले सुवर्ण अवसर भएको बताए।

‘संक्रमण फैलिने डरले सामाजिक दूरी कायम गर्ने र सार्वजनिक यातायात चढ्ने वातावरण नभएको अवस्थामा वर्किङ क्लासलाई समस्या छ’, महतोले भने, ‘यस्तो अवस्थामा दुईपांग्रे सवारी किन्नेहरुका लागि सुवर्ण मौका हो।’

याे पनिः
‘बजाजले ५० प्रतिशत रकम नहुने ग्राहकलाई २० प्रतिशत डाउनपेमेन्टमै बाइक किन्नसक्ने स्किम ल्याएको छ’

उनले महामारीको बेला सहुलियत रुपमा सवारी खरिद गर्न सकून् भनेर स्किम ल्याएको भन्दै लकडाउन खुकुलोसँगै अप्रिलिया तथा भेस्पाका स्कुटरमा व्यापार सन्तोषजनक रहेको बताए।

यमाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका मार्केटिङ हेड विक्रम पौडेलले सामान्य अवस्थाको जस्तो अझै नभए पनि सन्तोष्जनक रहेको बताए।

‘मानिस अझै खुलेर बाहिर निस्किने अवस्था बनेको छैन। सार्वजनिक यातायातकै अभाव छ। ठूलो जनसंख्या काठमाडौं आउनसकेको छैन। मानिसको आवागमन जति बढ्यो, त्योअनुसार व्यापार बढ्दै जान्छ’, उनले भने।

उनले डेढ/दुई लाख लगानी गर्दा आफ्नो सवारी पनि हुने र सुरक्षित पनि हुने सोचको विकास भएको बताए।

याे पनिः
दुईपांग्रे सवारी बजार चलायमान बनाउन आकर्षक स्किम ल्याएका छौँ : यमाहाका पौडेल

‘गाडी चढ्नको लागि नेपालमा कम्तीमा २० लाख चाहिन्छ। त्योभन्दा अहिले गन्तव्यमा पुग्नको लागि सहज र भरपर्दो दुईपांग्रे हो। त्यसैले यसको व्यापार अझै बढ्ने आशा छ’, उनले भने।

बजाजको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी सहायक महाप्रबन्धक पुनम सिंहले सोचेअनुसार बजार अघि नबढे पनि निराश अवस्था नरहेको बताइन्।

उनले भनिन्, ‘अझै कोरोनाको अवस्था कस्तो हुने हो भन्ने एकीन छैन। धेरै मानिसहरु अझै दशैँसम्मको अवस्था हेरौँ भन्नेमै देखिन्छन्।’

कोभिड १९ पछिको व्यवसायलाई चलायमान बनाउन कम्पनीहरुले नगद छुट, शून्य प्रतिशत डाउनपेमेन्टलगायतका स्किम ल्याएका छन्।

याे पनिः
अप्रिलिया र भेस्पाका बिक्रेता भन्छन् : दुई पांग्रे सवारीसाधन किन्ने समय अहिले नै हो
लकडाउन खुकुलो भएसँगै टीभीएसको ५० प्रतिशत कारोबार भइरहेको छ : अग्रवाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad