चीनको वुहानबाट सुरु भएको एउटा नयाँ र नौलो किसिमको भाइरस जसलाई पछि चीनले कोरोना प्रजातिको हो भनेर पुष्टि गर्दा अनि चीनले आफ्ना जनतालाई सुरक्षित राख्नको लागि वुहान सहरलाई पूर्णरुपमा बन्द गरेपछि एउटा नयाँ शब्द लकडाउन खुबै प्रचलित भयो।
आजभन्दा ९ महिना अगाडि सुरु भएको यो सिलसिला यतिकै कहाँ रोकियो र? यो त केही महिनामै विश्वका करिब–करिब सबै देशको विश्व भ्रमणमा पुग्न सफल भयो अनि सुरुभयो असली कोरोनाको कहर।
कोरोनाको भयले यस्तोसँग गाँज्यो कि एकपछि अर्को देशले चीनले अपनाएको त्यही पद्धतिलाई ठीक ठाने अनि सुरु भयो लकडाउनको नेपाली भर्सन। सुरुका केही दिन र हप्ता त सबैलाई रमाइलोमै बित्न थाल्यो। धेरै विदा नपाउने कर्मचारी अनि वर्षभरि जस्तै खुल्ने निजी संस्था, स्कुल अनि सम्पूर्ण मानव गतिविधि घरबाहिर बन्द हुँदा ढुक्कसाथ घरमा बिताउन पाउँदा साँच्चिकै चैत महिनामा धेरै कमले मनाउने दशैँ यो वर्ष राम्रो दशैँ बन्नपुग्यो।
चैत ११ गतेबाट सुरुभएको लकडाउन हप्ता अनि महिना हुँदै तीन महिना बितेपछि अब भने सबैलाई वाक्क लाग्दो र दिक्दार लाग्दो भएको अनुभूत हुनथाल्यो अनि त्योभन्दा बढी सबै किसिमका बन्द व्यापार नखुल्दै सरकारले असार मसान्तमा कर तिर्न जारी गरेको उर्दीले अब भने लकडाउनको विकल्प देऊ भन्दै व्यापारी नै सडकमा आउनथालेपछि केही निर्णय सकारात्मक पनि आए तर के ती साँच्चिकै राहत नै बोकेर आएका थिए कि मात्र बन्द व्यापार खुलून् अनि सरकारलाई चाहेजति कर आओस् अनि बहालमा भएका व्यवसायीले भाडा, बैँक ब्याज अनि तलबभत्ता र अन्य खर्च गर्न थालून् भन्ने कुत्सित मनसाय थियो।
अब सुरु हुन्छ व्यथाको कथा अनि पीडादायी समय तर मल्हम लगाइदिने कसले? मैले म आफू आबद्ध भएको क्षेत्र अटोमोबाइल भएकोले यसै क्षेत्रलाई मात्रै समेटेको छु तर मलाई लाग्छ आज देशैभरिका सम्पूर्ण व्यापार व्यवसाय अनि उद्योगको कथा एउटै छ, सीमित केहीलाई छोडेर।
मैले यो लेख लेख्दै गर्दा केही घण्टा सोचमग्न पनि भएँ। किन मैले नै लेख्ने यहाँ त मभन्दा धेरै दिग्गज अनि सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्था अनि विश्व प्रसिद्ध ब्रान्ड भित्र्याउने आयातकर्ता पनि त छन्। कहीँ कतै उहाँहरुले सरकारका सम्बन्धित निकायसँग समन्बय गरिरहनु त भएकै होला नि, विशेषगरी अर्थ मन्त्रालय अनि राष्ट्र बैंक जहाँबाट अटोमोबाइल क्षेत्रले सधैँ स्नेह र सह्राहनीय सहयोग पाउँदै आएको नै छ।
म नेपालभित्रको अटोमोबाइल आयातकर्ताको डिलर भएकोले मैले सोच्दै गर्दा र भोग्दै गर्दा अनि कोरोनाको कहरपछि यो क्षेत्रले भोग्नुपरेको जहर (नेपालीमा विष)को प्रभाव कहिलेसम्म रहिरहने हो अनि हामी डिलर व्यवसायी कसरी अगाडि बढ्ने हो कि त ‘बन्द हुने हो कि त पलायन हुने हो’। योमात्रै प्रश्नको बन्दी भइरहँदा अनि केही नलेखी बस्नै सकिन।
म भन्ने गर्छु हाम्रो व्यवसाय र फिल्मी दुनियाँ उस्तै हो। हेर्दा भव्य शोरुम आकर्षक चिल्लाकार अनि ग्ल्यामर, हो वास्तवमै विश्वभर नै कार व्यवसायको पहिचान नै यस्तै छ, ठूला–ठूला अटोशो अनि सुन्दरी अनि आआफ्ना महंगो, सुरक्षित अनि आरामदायी कार तथा यस युभिका प्रदर्शन अनि वास्तविकतामा कथा र पीडा आफ्नै, कमाइभन्दा गुमाई ज्यादा तर पनि छोडेर अरु कुरा गर्ने हिक्मत कम हुने वा त हुँदै नहुने।
कयौँ पटक ग्राहकले इन्डियाको मूल्य र नेपाल सरकारले लाएको भन्सारको हिसाब गरेर कन्भिन्स गर्नुपर्दा कारमा भएका कति राम्रा फिचरको त कुरै हुँदैन अनि आफूले खरिद गरेको भ्याटबिल नै अगाडि राखेर उचित लागेको नाफा दिनुस्, यो कार लानुस् भनेर सेल्स पनि क्लोज गरियो, अनि कति पटक त नगदमा खरिद गर्ने ग्राहक आउँदा साँच्चिकै देवता नै आउनुभयो भनेर नाफा नै नराखी बिक्री गरियो, योभन्दै गर्दा एउटा गाडी बेच्दा यति नाफा र उति नाफा हुन्छ भन्नु हुनेहरुले मलाई नि कहाँ हुँदो रहेछ देखाइदिनुस् न भन्न मन लागिरहेको छ, अनि फेरि किन विना नाफा बेच्नुपर्यो भन्ने प्रश्न त आइहाल्छ नि।
मैले सुरुवातमा नै उल्लेख गरेको छु म डिलर भएको हुँदा समयमा आयातकर्तालाई पैसो तिर्नुपर्यो अनि बैंकलाई निब्र्याज बुझाउनुपर्यो अनि हिसाब हुन्छ। धेरै गुमाउनुभन्दा कम गुमाउनु ठीक हो भन्ने सिद्धान्तले यहाँ धेरै ठूलो भूमिका खेल्छ अनि बिक्री बढी हाल्छ, अवस्थाअनुकूल र १२ महिना नै बिक्री गर्न पाउँदा गुमाउँदागुमाउँदै गर्दा पनि केही तलब खुवाउने र खाने कमाउँदा अनि फिल्मी दुनियाँमा रमाउन पाउँदा हर्षित नै हुन्छ।
अटोमोबाइल क्षेत्रविशेष गरेर बिक्रीतर्फ भनेचाहिँ हाम्रो लागि दशैँ अनि तिहारले अर्को ६ महिना व्यापार धान्ने काम गर्छ, किनकि नयाँ कारविशेष गरेर चाँडपर्वमा नै लिने हाम्रो संस्कृतिले यहाँ बिक्री बढाउँछ। अब फर्कौ कोरोना र लकडाउनतर्फ, नयाँ गाडीका शोरुमले ल्याउने किसिम–किसिमका अफरले साँच्चिकै ग्राहकलाई लोभ्याउने भइ नै हाल्यो तर यसपटक त्यो पनि खासै काम गर्ने देखिएको छैन।
यो क्षेत्रजसले देशको राजस्व योगदानमा राम्रै सहयोग गरेको छ्, तर यहाँनिर विगत २/३ वर्षदेखि लागेको लोनको बन्देज अनि यो क्षेत्रलाई विशेष गरेर राष्ट्र बैंकको पाबन्दीले १०००औँ संख्यामा भन्सारमै स्टक थन्केर बस्नुपर्ने बाध्यकारी सिर्जना गरेको छ, नाडाले मौद्रिक नीति आउनुअगाडि ९०५ सम्मको अटोलोन सुविधा दिई कोरोनाको कहरले थलिएको व्यापारवृद्धिमा सहयोग गर्न गभर्नरज्यूलाई चढाएको बिन्तीपत्र पक्कै पनि अर्थ मन्त्रालयको लकरमा नै थुनिएको छ होला।
अहिलेको जर्जर अवस्थाबाट अटोमोबाइल क्षेत्रलाई केही भए पनि राहतको अनुभव दिलाउनलाई नाडाले सशक्तरुपमा सरकारलाई दबाब दिने कार्यको सुरु नगर्ने हो भने अबको दोस्रो लकडाउनको धक्का यो क्षेत्रले थेक्न सक्ने स्थिति छैन, यहाँ मैले अलि बढी बिक्रीतर्फको मात्र कुरा गरेको छु, अर्कोतर्फ बिक्रीपछिको सेवा दिने सर्भिस सेन्टर र अन्य वर्कशपको अवस्था त झनै दयनीय छ, कयौँ संस्था त बन्द नै भइसके भने कतिपयले रोजगारहरुको बेतलबी विदा र कर्मचारी नै कटौती गरिसके।
मेरो एउटा प्रश्न सम्बन्धित सरोकारवालाहरुलाई छ- के भएका कर्मचारी घटाउने, हटाउने अनि तलबकट्टी गरेर संस्था चलाउने नीति ठीक कि सरकारलाई दबाब दिएर अटोलोनको नीति परिवर्तन गराई बिक्री बढाएर खर्च सन्तुलित गर्ने?
अर्कोतिर बजारमा माग बढेको अवस्था नै छ, कोरोनोको संक्रमण बढ्दो अवस्था र सार्वजनिक सवारीको प्रयोग घट्दै गर्दा दुईपांग्रेमा स्कुटर, बाइक अनि सेकेन्ड ह्यान्ड सवारीमा १० लाखमुनिका अनि नयाँमा ३० लाखमुनिका निजी सवारीको माग बढी नै रहेको छ, यो अवस्थामा अटोलोनको रेसियो बढेर ८०–९० % सम्म मात्र पुग्ने हो भने पनि यो क्षेत्रले भोगेको अपूरणीय क्षतिलाई केही सहज हुने थियो।
अहिलेको परिस्थितिको सामना गर्न कतिपय ठूला आयातकर्ताले आफ्ना कर्मचारी कटौती, तलब कटौती अनि बेतलबी विदा सुरु गर्नु यो क्षेत्र संकटको घडीमा छ भन्ने प्रस्ट हुन्छ, अर्कोतिर आयातकर्तालाई त यति धेरै गाह्रो हुँदा देशैभर रहेका सबै ब्रान्डका डिलरहरु अब कुन बाटो रोज्ने भन्ने धर्मसंकटमा छन्, बन्द कि पलायन?
अहिलेको अवस्थामा डिलरहरुबाट कम गाडी बिक्री हुनु, अनि बैंकको ब्याज, शोरुम सञ्चालन खर्च साथै कर्मचारी तलबले हरेक महिना बढिरहेको घाटालाई रिकभर गर्ने अवस्था नै छैन, सम्बन्धित आयातकर्ताबाट आउने सहयोग अनि सरकार एवं बैंकबाट आउने राहतले आउने बाटो तय गर्ने पक्का छ।
डिलर रहे बिक्री बढ्ला अनि धेरै आयात भएर बिक्री बढे देशले राजस्व संकलनको लक्ष्य पुर्याउला अनि कर्मचारीले नि रोजगारी सुनिश्चित भएको महशुस गर्लान् र सम्पूर्ण आर्थिक गतिविधि सुचारु हुँदै देशको आर्थिक वृद्धिको उद्देश्य पुग्ला नत्र सबै क्षेत्र कुहिरोको काग बन्ने पक्कापक्की छ।
समय हुँदा नै सम्पूर्ण सरोकारवालाको ध्यान पुगोस् अनि यो क्षेत्रले सिर्जना गरेको रोजगारी, आर्थिक वृद्धि अनि देशको राजस्वलाई टेवा पुगिरहोस्।
(जी मोटर्सका एमडी गेलाल १४ वर्षदेखि अटोमोबाइल क्षेत्रमा आबद्ध व्यवसायी हुन्)
Shares

प्रतिक्रिया