चालक–सहचालकसहित ४० जना बोकेर काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००क६ ख ५२३७ नम्बरको बस आज (शुक्रबार) बिहान नारायणगढ–मुग्लिङ सडकअन्तर्गत दासढुंगामा आइपुग्दा सडकबाट खस्यो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा १९ जना सामान्य घाइते भएका छन्।
बस सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ। तर बस सडकको डिलमा रहेका बाँसको झाङ र रुखमा अड्कियो र ५० मिटर तल रहेको त्रिशुली नदीमा खस्न पाएन। जसका कारण १९ जना सामान्य घाइते भए पनि ४० जनाको ज्यान जोगिएको हो।
बस नदीमा खस्नबाट जोगिएका कारण यात्रुको उद्धार गर्न सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए।
‘दुर्घटनाको अवस्था हेर्दा अनियन्त्रित भएको जस्तो देखिन्छ। बाँसको झाडी र केही ठूला रूखहरू रहेका कारण बस त्रिशुली नदीमा पुग्न पाएन। जसले गर्दा मानवीय क्षति हुनबाट जोगियो,’ प्रहरी प्रवक्ता पण्डितले नेपालखबरसँग भने।
घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।घाइतेहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता पण्डितले बताए।
दुर्घटनामा घाइतेहरुको विवरण खुलेको छ।
जसमा भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा, भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा, मोरङ हरैचा नगरपालिका–३ बस्ने वर्ष २३ का सुशान्त सुब्बा, हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामीछाने, सुनसरी बस्ने वर्ष ४० की संगिता मगर छन्।
यस्तै झापा मेची नगरपालिका–११ बस्ने वर्ष ३२ की सुमिमा राई, भक्तपुर भक्तपुर–१ बस्ने वर्ष ३० का मिलन तामाङ, ललितपुर गोदावरी नगरपालिका–७ बस्ने वर्ष २७ का सुमन लामा, भोजपुर अरुण गाउँपालिका–१ बस्ने वर्ष २९ का नन्दबहादुर पाण्डे, सोही ठाउँ बस्ने वर्ष १९ का लीलाबहादुर पाण्डे पनि घाइते भएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए।
यस्तै दुर्घटनामा बसका सहचालक सर्लाही लालबन्दी नगरपालिका–१० बस्ने वर्ष ३६ का विक्रम मगर, धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ का दिलबहादुर श्रेष्ठ, सुनसरी रक्तमाला–५ बस्ने वर्ष २९ की मनिका राई, मोरङ हरैचा–५ बस्ने वर्ष २५ की कल्पना राई, सोही ठाउँ बस्ने वर्ष २५ की सपना राई, धनकुटा सहिदभूमि–४ बस्ने बर्ष ३८ की विश्वलक्ष्मी राई, उनकी छोरी वर्ष ४ की दिव्या राई घाइते भएका छन्।
अन्य घाइतेमा बसका चालक मकवानपुर हेटौंडा–२ बस्ने वर्ष ३७ का बादल कुमाल र धादिङ रुबिभ्याली गाउँपालिका-४ बस्ने वर्ष ३२ का दीपक तामाङ छन्।
घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौं पठाइएको चितवन प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया