ad ad

बागमती


हानेपाको साथले मक्ख मुख्यमन्त्री, चार दलबीच यस्तो छ सहमति

हानेपाको साथले मक्ख मुख्यमन्त्री, चार दलबीच यस्तो छ सहमति

सुनिता विष्ट
चैत १६, २०८० शुक्रबार ९:०, हेटौँडा

हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा सहभागी भए। गत शुक्रबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हानेपा एक हप्ता पनि नबित्दै सरकारमा सहभागी भएको हो।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बज्राचार्यलाई बिहीबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको शपथ खुवाइसकेका छन्। 

हानेपा सरकारमा सहभागी भएसँगै माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारको संकट टरेको छ।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि बहुमत पुर्‍याउन ५६ सांसदको साथ चाहिन्छ।

केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलमध्ये बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी मात्रैका सांसदले बहुमत पुग्दैनथ्यो। 

हानेपाले साथ दिएसँगै गठबन्धन नेतृत्वको सरकार नढल्ने निश्चित भएको हो। 

अब एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हानेपाका २ गरी सरकारका पक्षमा ५७ सांसद भएका छन्।

६ दिनअघि मात्र किन समर्थन फिर्ता?

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम हानेपाका बज्राचार्य मन्त्री बनेका हुन्। उनले शपथ पनि नेपाल भाषामा खाए।

संस्कृति बचाउँदै पर्यटन वृद्धिमा लाग्ने र सहकारी क्षेत्रको समस्या समाधानका लागि आफूले पर्यटन मन्त्रालय रोजेको उनले बताए।

सरकारमै सहभागी हुने मन रहेछ, ६ दिनअघि मात्र किन समर्थन फिर्ता लिएको त?

नेपालखबरको प्रश्नमा नवनियुक्त मन्त्री बज्राचार्यले भने, ‘मैले यो बीचमा धेरै प्रेसर खेप्नपर्‍यो। कहिले कुनसँग छलफल हुने, कहिले कुन दलसँग। आफ्नो विचार प्रयोग गर्नै पाइएन। अब भने हाम्रो पार्टी र संसदीय दलको नेताका हिसाबले सरकारमै जाने निर्णय गरिएको हो।’

मक्ख मुख्यमन्त्री
बागमती प्रदेश सभामा मात्रै प्रतिनिधित्व गरेको हानेपाले नयाँ गठबन्धलाई पनि साथ दिँदै सरकारमा सहभागी भएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल दंग छन्। 

बिहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित बज्राचार्यकाे शपथ समारोहमा उनको अनुहारमा देखिएको चमक जो कोहीले प्रस्टसँग देख्न सक्थे। 

शपथ समारोह

प्रदेश सभामा दुई सिट रहेको हानेपा सरकार पुनर्गठनमा निर्णायक देखिएपछि आफूहरूले उसको साथ लिन निकै कसरत गरिएको मुख्यमन्त्री जम्कट्टेल बताउँछन्।

‘उहाँहरू (हानेपाका नेता) ले सुरुवातदेखि नै सरकारलाई समर्थन गर्दै आउनुभएको थियो। यो कारणले पनि म उहाँहरूले साथ छाड्नुहुन्न भन्नेमा ढुक्कजस्तै थिएँ’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘अब बागमतीको ठूलो संकट टर्‍यो। हानेपा मात्रै होइन,  प्रदेश सभामा रहेका अन्य दल पनि मिल्न आउँछन् भने हामी स्वागत गर्छौं।’

प्रदेश सरकार नेतृत्वका विषयमा केन्द्रले निर्णय गर्न बाँकी रहेको तथा जुन दलले मुख्यमन्त्री पाए पनि अब सरकार नढल्ने र मध्यावधिमा नजाने निश्चित भएको उनले बताए।

चार दलबीच यस्तो सहमति
बागमती सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति पनि भएको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएको हो।

उनीहरूबीच बाँकी कार्यकाल सहकार्य गरी सरकारलाई स्थायित्व दिने सहमति भएको छ। त्यस्तै सरकारको नेतृत्वमा सत्ता गठबन्धनका दलबीच समझदारी कायम गर्ने सहमति पनि भएको छ।

शपथ खाएपछि मन्त्री बज्राचार्यले संसदीय दलको अधिकारका हिसाबले समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएपछि सरकारमा सहभागी भएको दाबी गरे। 

मन्त्री नियुक्त भएपछि बज्राचार्यलाई बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेल।

सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र र साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति पनि चार दलबीच भएको छ।

त्यस्तै उनीहरूबीच मन्त्रिपरिषद्‌मा रहने सदस्यको संख्या निर्धारण र मन्त्रालय बाँडफाँटका विषयमा समझदारी बनाउने सहमति पनि भएको छ। 

सहमतिपत्रमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादी संसदीय दलका नेता डा. राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले हस्ताक्षर गरेका छन्।

हेर्नुहोस् सहमतिपत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .