बागमती


हेटौँडा सिमेन्टमा १० लाखको तार चोरी : १० दिनपछि प्रहरीमा उजुरी, अध्यक्ष र महाप्रबन्धक गार्डतिर देखाउँछन्

हेटौँडा सिमेन्टमा १० लाखको तार चोरी : १० दिनपछि प्रहरीमा उजुरी, अध्यक्ष र महाप्रबन्धक गार्डतिर देखाउँछन्

हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष भण्डारी र महाप्रबन्धक पाण्डे।


सुनिता विष्ट
कात्तिक ६, २०८१ मंगलबार १७:५१, हेटौंडा

पूर्ण सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगमा प्रयोगमै आइरहेको तामाको तार गत असोज २२ गते चोरी भयो। करिब १ सय मिटर लम्बाइको तार चोरी भएको दुई साता बितिसक्दा पनि प्रहरीले चोर पत्ता लगाउन सकेको छैन।

संघीय सरकारले यस सिमेन्ट उद्योगलाई निजीकरण गर्ने अवधारणा ल्याएका बेला उद्योगको सामान हराउनु र घटना गुपचुप राखिनु शंंकास्पद छ।

असोज २२ गते अर्थात् मध्य दसैँको आधा रातमा उद्योगको तार चोरी गर्न आउने को हुन्? यस विषयमा जिल्ला प्रहरी कार्यालय, मकवानपुर अनुसन्धान गरिरहेको दाबी गर्छ। उक्त रात ड्युटीमा खटिएका सुरक्षा गार्डको बयान अनुसार १५/२० जनाको समूहमा आएका मानिसहरूले तार चोरी गरेको भन्ने बुझिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्याल बताउँछन्।

‘त्यस रात सुरक्षामा खटिएका गार्डसहित अन्य केही शंकास्पद व्यक्तिहरूलाई हामीले नियन्त्रणमा लिएका छौँ,’ डीएसपी अर्यालले नेपालखबरसँग भने, ‘हामी अहिले पनि अनुसन्धानमै छौँ। खास प्रगति केही छैन। सोधपुछ र थप अनुसन्धान गरिरहेका छौँ। सुरक्षा गार्डले तत्काल खबर गर्न डरायौँ भन्ने जवाफ दिइरहेका छन्।’

त्यसो त उजुरी दर्ता भएपछि उद्योग प्रशासन सम्पर्कमै नरहेको डीएसपी अर्यालले बताए।

‘उहाँहरू कता हुनुहुन्छ, थाहा भएन। केही पर्‍यो भने फोन गर्नुहोला भन्नुभएको थियो। तत्काल केही नपरेकोले हामीले पनि सम्पर्क गरेका छैनौँ,’ डीएसपी अर्यालले भने।

यता जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको निर्देशनमा उद्योग प्रशासनले छानबिन समिति बनाएको छ। यद्यपि, घटनाको यथार्थबारे उद्योगले पनि केही जानकारी दिएको छैन। बरू घटना झन् रहस्यमय बन्दै गएको छ।

उद्योगको तार चोरीको घटना थप शंकास्पद हुनु एउटा कारण बनेको छ, प्रहरीमा उजुरी दिन ढिला गर्नु। असोज २२ मा चोरी भएको घटनाको उजुरी मकवानपुर प्रहरीमा कात्तिक ३ गते मात्रै दर्ता भएको पाइएको छ। सुरक्षा दिन बसेका सुरक्षाकर्मीले चोरीको भोलिपल्टै खबर गरे पनि उद्योग प्रशासनले १० दिन ढिलो गरेर प्रहरीमा उजुरी दिएको विषयले तार चोरीको घटनालाई थप पेचिलो बनाएको हो।

उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डे चोरी भएको रात आफू हेटौँडाबाहिर रहेको बाउँछन्। आफू नभएको समयमा लाखौँ मूल्यको सामान चोरी हुनु दुखद् भएको बताउँदै उनले भने, ‘सामानको मूल्य बराबरको रकम असुली त गार्ड कम्पनीले नै गर्छ। तर कसले चोर्‍यो भन्ने पत्ता लगाउन जरुरी छ।’

उनले थपे, ‘उद्योगमा प्रयोग भइरहेको त्यत्रो परिमाणको तार एक/दुई जनाले लान सक्ने अवस्था हुँदैन। २ बजे चोर समूह नै हातहतियार लिएर पसेको भन्ने गार्डले बताएको छ। तार निकाल्न, गाडीमा लोड गर्न केही नभए पनि २ घण्टाभन्दा बढी समय लाग्नुपर्ने हो। यो समयमा गार्डले गुहार मागेको भए अथवा प्रहरीलाई खबर गरेको भए सायद चोर उम्कन पाउँदैनथ्यो।’

उक्त तार निकाल्ने काम पनि यस क्षेत्रमा ज्ञान भएकै व्यक्तिले मात्रै सक्ने महाप्रबन्धक पाण्डे बताउँछन्। ‘उद्योगमै प्रयोग भइरहेको १ सय मिटर लामो तार निकाल्न दक्ष व्यक्तिकै समूह आएको हुन सक्छ,’ पाण्डे भन्छन्।

घटना भएको हप्ता दिन बढी गुपचुप राखेर प्रहरीलाई खबर नगर्नुको कारण के हो? नेपालखबरको यो प्रश्नमा पाण्डेले गैरजिम्मेवारीपूर्ण जवाफ दिँदै भने, ‘सोही रात चोरी गरेर ती समूह फर्किएपछि गार्डले प्रहरीलाई खबर गरेको थियो रे। तर उसले आफैँले चिनेको प्रहरी साथीलाई फोन गरेछ। प्रहरीको फोन उठेन रे। दसैँको बेला सबैतिर बिदा थियो। दसैँ सकिए लगत्तै प्रहरीमा निवेदन दर्ता गरेका हौँ।’

घटनाबारे अनुसन्धान गर्न समिति गठन गरिएको उनले बताए।

‘प्रमुख जिल्ला अधिकारीज्यू, एसपी साहेबसँग बसेर पनि हामीले छलफल गर्‍यौँ,’ पाण्डेले भने, ‘प्रहरीले पनि अनुसन्धान गर्दैछन्। केही दिनमा सत्यतथ्य बाहिर आउला।’   

के भन्छन् अध्यक्ष?
गत जेष्ठमा मात्रै हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन समितिको अध्यक्ष पद सम्हालेका नरेन्द्र भण्डारी उद्योगको तार चोरीको घटना रहस्यमय भएको स्वीकार्छन्। सुरक्षा गार्डले तत्काल खबर नगर्नु रहस्यको प्रमुख कारण भएको भण्डारीले बताए। तार खोलेर, गाडीमा राखेर लाने बेलासम्म हातहतियार देखेर डराए पनि पछि प्रहरी प्रशासन र उद्योग प्रशासनलाई खबर गर्नुपर्ने उनको भनाइ छ।

‘म त घरमै थिएँ, उद्योगमा चोरी भएको घटना भोलिपल्टतिर थाहा पाएँ,’ अध्यक्ष भण्डारीले भने, ‘निजी क्षेत्रको चोरी भएको भए तत्कालै प्रहरीकोमा पुग्न सहज हुन्थ्यो। सरकारी क्षेत्रको विषय पर्‍यो। २४ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा सुरु भयो। कार्यालयहरू खुलेपछि प्रहरीकोमा पुगेका हौँ।’

निवेदन दर्तापश्चात् प्रहरीको सम्पर्कमा उद्योग प्रशासन नरहेको भन्ने कुरा गलत भएको उनी बताउँछन्। उद्योगमा काठमाडौंको बज्र सेक्युरिटी कम्पनीले सुरक्षा प्रदान गर्दै आइरहेको छ। चोरी भएको तामाको तार करिब १० लाख रुपैयाँ बराबरको रहेको उद्योग प्रशासनले प्रारम्भिक अनुमान गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad