आउँदो १६ गते आइतबार हुने उपनिर्वाचनमा दोलखाको गौरीशंखर गाउँपालिकाको उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। जसका लागि १६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्।
यस गाउँपालिकाको उपाध्यक्ष पदका लागि ७ वटा राजनीतिक दलहरूले आफ्नो दलगत उम्मेदवार खडा गरेको छ भने ९ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
दलका भन्दा स्वतन्त्र उम्मेदवारको संख्या धेरै रहेको गौरीशंखरमा माओवादी केन्द्रबाट निम लेकी शेर्पा, एमालेबाट उमा लुङ्गेली मगर शेर्पा, कांग्रेसबाट पासदिकी शेर्पा, रास्वपाबाट गोमा श्रेष्ठ, नेकपा एसबाट रविना खड्का, राप्रपाबाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट सपना कार्की खड्का उम्मेदवार छन्।
यस्तै, स्वतन्त्रबाट अप्सरा विश्वकर्मा, अम्विका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिव शम्भु तमाङ र सर्किमा शेर्पा रहेका छन्।
प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका प्रदेश निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार १६ जना उम्मेदवारहरूलाई निर्वाचन चिन्ह समेत प्रदान गरिएको छ।
जसमा राजनीतिक दलका उम्मेदवारहरूलाई आ–आफ्नो निर्वाचन चिन्ह प्रदान गरिएको छ। एमालेका उम्मेदवार उमा मगर शेर्पालाई सूर्य चुनाव चिन्ह प्रदान गरिएको छ भने माओवादीकी निम लेकीलाई गोलाकार भित्रको हँसिया हथौडा, कांग्रेसकी पासदिकी शेर्पालाई रुख, रास्वपाकी गोमा श्रेष्ठलाई घण्टी, राप्रपाकी मनकुमारी श्रेष्ठलाई हलो, नेकपा एसकी रविना खड्कालाई कलम र जसपाकी सपना कार्कीलाई गोलाकारभित्र मुठ्ठी चुनाव चिन्ह प्रदान गरिएको प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिए।
यस्तै, स्वतन्त्र उम्मेदवारहरू अप्सरा विश्वकर्मालाई सेलरोटीको चाङ, अम्विका श्रेष्ठलाई आँखीझ्याल, दीपक तामाङलाई हजारी, दिलबहादुर बस्नेतलाई कागजको फरफिरे, द्वारिका बुढाथोकीलाई चिम्टा, पुष्पा कार्कीलाई क्याप, मधुरा कार्कीलाई डाडु पन्यु, शिव शम्भु तमाङलाई बिजुलीको खम्बा र सर्किमा शेर्पालाई कप प्लेट चुनाव चिन्ह प्रदान गरिएको ढकालले जानकारी दिए।
गौरीशंखर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो।
मुटुरोगी उपाध्यक्ष तामाङको गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको थियो। उनी नेपाली कांग्रेसको तर्फबाट गौरीशंखर गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएका थिए।
उनको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो। आउँदो उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेकी पासदिकी स्वर्गीय तामाङकी श्रीमती हुन्।
Shares

प्रतिक्रिया