बागमती


चितवनमा हात्ती मार्ने निकुञ्जका कर्मचारीलाई कानुन लाग्छ कि लाग्दैन?

चितवनमा हात्ती मार्ने निकुञ्जका कर्मचारीलाई कानुन लाग्छ कि लाग्दैन?

निकुञ्जका कर्मचारीले चलाएको गोली लागेर मरेको मकुना हात्ती र पृष्ठभूमिमा राष्ट्रिय निकुञ्जको भवन।


सुनिता विष्ट
माघ २४, २०८१ बिहिबार १२:३५, हेटौँडा

चितवनमा बुधबार राष्ट्रिय निकुञ्जकै कर्मचारीले हानेको गोली लागेर जंगली हात्ती मकुना मर्‍यो। जंगल बाहिर निस्किएको मकुनालाई नियन्त्रणमा लिन बुधबार ६ वटा हात्तीसहित निकुञ्जका कर्मचारी र सौराहास्थित नयाँ गोरखगण (क) गुल्मका सैनिक गरेर झन्डै १२ जनाको संयुक्त टोली खटियो। 

मकुना रिसाहा स्वभावको हात्ती थियो। निकुञ्जबाट निस्किएर नजिकका बस्तीमा पसेपछि स्थानीयले मकुनालाई निकुञ्जको कोर क्षेत्र प्रवेश गराइदिन अनुरोध गरेका थिए। 

सोहीअनुसार निकुञ्जका प्राविधिक र नेपाली सेनाको संयुक्त टोलीले बुधबार दिउँसो ६ वटा हात्ती लिएर मकुनालाई पछ्याउन थाल्यो। यस क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा अकस्मात् मकुनासँग भेट भयो।

मानिसहरूसहितको हात्ती देखेपछि मकुना बिच्कियो। टोलीमाथि नै मकुना जाइलागेपछि सुरुमा दुई राउन्ड हवाई फायर गरियो। त्यसो गर्दा पनि मकुना भागेन। बरु थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामको सानो हात्तीमाथि जाइलाग्यो।

खगेन्द्रप्रसादमा चढेका रेन्जर श्याम तामाङ भुइँमा खसे। उनको ज्यानै जाने खतरा देखिएपछि टोलीले थप ३ राउन्ड गोली चलाएको निकुञ्जको भनाइ छ। 

त्यसपछि भने मकुना त्यहाँबाट भाग्यो। रेन्जर श्याम तामाङको त ज्यान जोगियो। तर राष्ट्रिय सम्पत्ति मकुना हात्ती मारियो। 

खगेन्द्रप्रसाद हात्तीमाथि बसेका रेन्जर तामाङसहित मकुनाले घरपालुवा हात्ती चुरेगजलाई समेत आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले ३ राउन्ड गोली चलाएको निकुञ्जका संरक्षण अधिकृत गणेश पन्त बताउँछन्।

अधिकृत पन्त भन्छन्, ‘आपत्‌कालीन अवस्थामा आत्मरक्षाका लागि गोली चलाइएको हो। प्रोटेकल फलो गरेरै घटना भएको छ। अरू समयमा पनि यसरी हात्ती स्विपिङका लागि हवाई फायर गरिन्थ्यो। हिजो मात्रै गोली चलाइएको होइन।’

उनले थपे, ‘कुनै पनि जनावरलाई चोरी, सिकार गर्ने अभिप्रायले मारियो भने कानुन लाग्छ। तर आत्मरक्षाका लागि मार्न पाइने भन्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मो उल्लेख छ।’

त्यसो भए सर्वसाधारण व्यक्तिले पनि आत्मारक्षाका लागि हात्ती मार्न पाउँछन् त?

नेपालखबरको जिज्ञासामा पन्तले भने, ‘कानुन नै लाग्दैन भन्न खोजिएको होइन। ऐनमा उल्लेख गरिएको छ भन्न खोजेको हुँ। यस विषयमा हामी घटनाका वस्तुस्थितिका विषयमा रिपोर्टिङ गर्छौं। सम्बन्धित निकायबाट के गर्ने भन्ने विषयमा निर्क्यौल निक्लिएला।’

गोलीबाट मारिएको मकुना हात्ती बुधबार राति नै खाल्टो खनेर गाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।

मकुना वयस्क भाले हात्ती थियो।

निकुञ्जका सूचना अधिकारी थापामगरका अनुसार निकुञ्ज टोलीकै गोलीबाट हात्ती मारिएको यो पहिलो घटना हो।

केही समयअघि धुव्रे हात्तीलाई पनि नियन्त्रणमा लिन हवाई फायर गरिएको थियो। तर मारिएन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad