बागमती


श्रीमतीको हत्या गर्न ४ लाख सुपारी दिए, सोही समूहले गर्‍यो उनकै हत्या

श्रीमतीको हत्या गर्न ४ लाख सुपारी दिए, सोही समूहले गर्‍यो उनकै हत्या

सुनिता विष्ट
बैशाख २१, २०८२ आइतबार १५:३८, हेटौँडा

धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाटीका ६० वर्षीय चुडामणि कँडेल घरमै मृत भेटिए। २७ चैत्र २०८१ म आफ्नै घरको भुँइतलामा घाँटीमा डोरी कसिएको अवस्थामा उनको शव फेला परेको थियो। एटेच ट्वाइलेट बाथरुमभित्र शव फेला परेको भन्ने प्रहरीकोमा खबर पुगेपछि धादिङ प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्‍यो।

घाँटीमा डोरी कसिएको अवस्थामा शव फेला परेको भन्ने सूचना प्राप्त भए पश्चात् जिल्ला प्रहरी कायालय धादिङबाट प्रहरी उपरीक्षक दिपेन्द्र शाही, ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायव उपरीक्षक विकास थापा, जिल्ला अस्पताल धादिङबाट चिकित्सक र तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट कुकुर सहितको प्राविधिक प्रहरी कर्मचारी समेतको टोलीले अनुसन्धान सुरु गरेको थियो। घटनाबारे अनुसन्धान गर्दै जाँदा चुँडामणिको हत्या आरोपमा ३ जना युवाहरू पक्राउ परे।

धादिङ प्रहरी प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मृतक कँडेलको हत्यामा संलग्न रहेका युवाहरूले केही समयअघि उनको श्रीमती सुस्मिता सिलवालको हत्या गर्न ४ लाखको सुपारी लिएका थिए। ४ लाख रुपैयाँ पैसा बुझाउने व्यक्ति भने चुँडामणि नै हुन्।

चुँडामणि र सुस्मिताको सम्बन्धमा लामो समयदेखि दरार थियो। उनीहरू एउटै घरमा बसेपनि बोलचाल समेत थिएन। 

श्रीमतीको हत्या गर्न नसकेपछि आफूले दिएको ४ लाख रुपैयाँ छिटो फिर्ता गर्न दबाव दिएपछि उनकै हत्या गरेको प्रहरीको भनाइ छ। जसबाट हत्या गर्नका लागि सुपारी लिए, उनकै हत्या सोही समूहले गरेको अनुसन्धानमा खुलेको छ।

‘सम्बन्ध राम्रो नभएपछि मृतक चुडामणिले श्रीमतीको हत्या गर्न मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थायी घर भइ हाल गजुरी गाउँपालिका–२ ठुटेपानी बस्ने ३६ वर्षका अक्कलबहारदुरसँग ४ लाख रुपैयाँको सम्झौता गरेको पाइयो,’ धादिङ प्रहरी प्रवक्ता डीएसपी हमालले भने, ‘पैसा बुझाइसकेका चुडामणिले छिटो काम सक्न प्रतिवादी अक्कलबहादुरलाई दबाव दिइरहेको रहेछ। पटक/पटकको प्रयासमा पनि सुष्मिताको हत्या गर्न नसकेको र चुडामणिले दबाव दिइरहेका कारण उनकै हत्या गरेको अभियुक्तहरूले बयानमा भनेका छन्।’

अक्कलबहादुर राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानको साहारा लिएर सुस्मिताको हत्या गर्न खटिएका थिए।

प्रहरीले तीनैजना अभियुक्तहरूलाई आइतबार (आज) पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। अक्कलबहादुरलाई यही वैशाख ३ गते ठुटेपानीबाटै पक्राउ गरिएको थियो भने पृथलाल र सञ्चलाललाई मकवानपुरको मनहरी गाउँपालिका–७ बाट १६ गते दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङमा उपस्थित गराइएको थियो।

उनीहरूको साथबाट १ लाख रुपैयाँ बरामद गरिएको छ भने मृतकको पैसाबाट किनिएको कपडा, जुत्ताहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत धादिङबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी हमालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad