हेटौँडा उपमहानगरपालिका-१७ गौरीगाउँ भन्ने स्थानमा भासिएर बेपत्ता भएको गाडी अझै फेला परेको छैन।
शुक्रबार साँझ माछाको दाना लिन हेटौंडा बजारतर्फ आउन लागेको गाडी खाल्डोमा भासिएर बेपत्ता भएको थियो। दुईदिन खोजी गर्दा पनि गाडी फेला नपरेको हो। जमिनमुनि हराएको गाडीको बिषयमा अध्ययन गर्न भूगर्भविद् ल्याइने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ।
आइतबार स्थानीय जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका थिए। भासिएको गाडी नभेटिएपछि विपद्को बैठक बसेर भूगर्भविद् ल्याएर अध्ययन अनुसन्धान गर्ने तयारी गरिएको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले बताइन्। गाडी भासिएको विषयमा खोज अध्ययन गर्ने तथा सो स्थानको जोखिमलाई समेत ध्यानमा राखेर अध्ययन गरिने उनले बताइन्।
माछा पालन गर्दै आएको पोखरीको छेउबाट बनाइएको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डिआइ गाडी निकाल्ने क्रममा अचानक खाल्टोमै बेपत्ता भएको मकवानपुर प्रहरीले जनाएको छ। उक्त गाडीमा चालक र सहचालक सवार थिए।
गाडी दबिदै गएपछि उनीहरू गाडीबाट निस्किएर ज्यान जोगाउन सफल भए भने गाडी ५ सेकेन्डबीचमै खाल्टोमै हराएको थियो। बोरिङको लागि खनिएको खाल्टो भासिएर गाडी बेपत्ता भएको हो।
Shares

प्रतिक्रिया