नेपालले कतारलाई उपहार स्वरुप दिने भनिएको हात्तीका दुई छावालाई अबको दुई महिनाभित्र कतार पठाइने तयारी गरिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने प्रक्रिया सुरु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अभिनाश अधिकारी बताउँछन्।
प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा राखिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।
२०७५ सालमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धता अनुसार हात्ती उपहार दिइन लागिएको हो। २०८१ वैशाख दोस्रो साता कतारका राजा शेख तामिम बिल हमाद अल थानी नेपाल भ्रमणमा आएका बेला यी दुई हात्ती पठाउने विषयले चर्चा पाएको थियो।
तर कतारमा हात्ती राख्न वातावरणमैत्री संरचना तयार नभएको भन्दै उक्त समयमा हात्ती पठाइएको थिएन। कतारको चिडियाखानामा राख्नका लागि खगेन्द्रप्रसाद र रुद्रकली लान लागिएको बताइएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले दुई महिनाभित्रमा हात्ती पठाउने तयारी भैरहेको जानकारी दिए। उनका अनुसार सबै प्रक्रिया सकिसकेको छ भने ढुवानी प्रक्रियाको तारताम्य मिलाउन मात्रै बाँकी रहेको छ।
‘दुईवटा हात्ती पठाउने कागजी प्रक्रिया प्रायः सबै सकिइसकेको छ,’ सूचना अधिकारी आचार्यले नेपालखबरसँग भने, ‘यसअघि नै निकुञ्ज, विभागका टोली गएर खोर निर्माण गरेर फर्किसके। हात्ती राख्नका लागि उचित वातावणको प्रतिवेदन तयार गरेर ल्याइएपछि रुद्रकली र खगेन्द्रप्रसाद कतार पठाउन लागिएको हो।’
अघिल्लो वर्ष नै मन्त्रिपरिषद्को बैठकले दुई हात्ती कतार पठाउन निर्णय गरिसकेको छ भने कतारले हात्ती पठाउन अनुमती प्रदान गरिसकेको अवस्था छ।
उनका अनुसार ढुवानीको प्रवन्ध मिलाउन मात्रै बाँकी छ। भैरहवा विमानस्थलबाट कतार कार्गो एयर मार्फत पठाइने तयारी गरिएको छ। भैरहवासम्म भने ट्रकमा राखेर लगिने तयारी रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी आचार्यले बताए।
खोरसहित ट्रकमा राखेर लानका लागि हाल खोर निर्माण कार्य भैरहेको छ। ढुवानीको प्रवन्ध मिलेपछि बढीमा दुई महिनाभित्रै रुद्रकली र खगेन्द्र प्रसादलाई उपहार स्वरुप कतार पठाइने उनको भनाइ छ।
यता, वन तथा वातावरण मन्त्रालयका अनुसार हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ। सो महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ। कतारलाई हात्ती पठाउन साइटिसले पनि सिफारिस गर्नुपर्छ। वन मन्त्रालयका अनुसार त्यहाँबाट हात्ती कतार पठाउनका लागि सिफारिस प्राप्त भैसकेको छ।
रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन्। यी दुई हात्तीको हेरचाहका लागि एक जना हात्ती विज्ञ र दुईजना माउतेसमेत सँगै जाने बताइएको छ।
Shares

प्रतिक्रिया