बागमती


अवैध रुपमा भारत निकास हुन लागेका गाईगोरु किसानलाई वितरण

अवैध रुपमा भारत निकास हुन लागेका गाईगोरु किसानलाई वितरण

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १५:४०, हेटौँडा

गत बुधबार राति ११ बजेको समयमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित इलाका प्रहरी कार्यालय नेवारपानीले २५ वटा गोरु लिएर हेटौँडातर्फ आउँदै गरेको ट्रकलाई नियन्त्रणमा लियो। मधेश प्रदेश ०३–००१ ख ०७०७ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा कृषि प्रायोजनका लागि झापा लगिँदै गरेको भेटेनरी प्रमाण पत्र चालकको साथमा भेटियो। युनिसा सप्लायर्स हेटौँडा–१५ को नाममा रहेको कम्पनीबाट झापा नमुना गैरीगाउँ अर्गानिक एग्रिकल्चर फर्म झापामा पुर्याउन लागिएको भेटेनरी प्रमाण पत्र चालकको साथमा थियो।

पशुपन्छी ओसारपसार गर्दा कम्तिमा २४ घण्टा अगावै दिइने भेटेरीनरी प्रमाण पत्रमा डा. जयप्रकाश राय यादवले हस्ताक्षर गरेका थिए। २०८२।०७।१२ गते उनले हस्ताक्षर गरी प्रमाणित गरेर पठाइएको प्रमाण पत्र नै फर्जी रहेको पुष्टी गर्दै प्रहरीले उक्त ट्रक, ट्रक चालक र गोरुलाई नियन्त्रणमा लियो। 

चितवन, तनहुँ, लगाएतका जिल्लाहरूबाट संकलन गरिएको लोक गाईगोरु अवैध तस्करी गरी बंलादेशसम्म पुर्‍याउने गरिएको सूचनाका आधारमा पशु सेवा कार्यालय, मकवानपुरको पहलमा मकवानपुर प्रहरीले गाईगोरु तस्करी नियन्त्रणमा जुटेको हो। गत असोज ३० गते राति पनि मकवानपुर प्रहरीले बा २१ च ८९२८ नम्बर ट्रक र मधेश प्रदेश ०२–०३–००१ च ३१५७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको थियो। 

यसरी रातको समयमा विभिन्न जिल्लाबाट मकवानपुर हुँदै झापा र झापाबाट काँकटभिट्टा नाकाहुँदै बंगलादेशसम्म नेपालको गाईगोरु तस्करी हुँदै आएको पाइएएको छ। पशु सेवा कार्यालय, मकवानपुरकै पहलमा त्यस्ता सवारीलाई नियन्त्रण लिएर तस्करी हुन लागेको गाइगोरु कृषि प्रायोजनका लागि किसानलाई वितरण गर्ने अभियान नै सुरु गरेको छ। नक्कली भेटेनरी पत्र बनाएर गाईगोरु तस्करी गर्ने क्रम बढेपछि यसको नियन्त्रणमा पशु सेवा कार्यालयले सक्रियता बढाएको हो। 

पशु सेवा कार्यालय, मकवानपुरका प्रमुख वरिष्ठ पशु अधिकृत डा. ब्रजकिशोर ठाकुर र कार्यालयका अन्य कर्मचारी प्रायः रातको समयमा सडकमै हुन्छन्। प्रहरीलाई साथ लिएर उभिएका उनीहरूले नेपालका गाईगोरु विदेशीको भान्सामा पुग्न नदिन अभियानै चलाएका हुन्। केही महिनाभित्र हेटौँडा हुँदै बाहिरिन लागेका २ सय भन्दा बढी गाईगोरु नियन्त्रणमा लिइएको ठाकुर बताउँछन्। 

सुरु सुरुमा प्रहरी प्रशासनले पनि ठाकुरको अनुरोध नमानेको बताउँछन्। आफूले अवैध गाईगोरु तस्करी भैरहेको भन्दै जानकारी दिँदा पनि प्रहरीले समात्न नमानेको थुप्रै उदाहरण रहेको उनी बताउँछन्। तर पछिल्लो समय भने पशु सेवा कार्यालय र मकवानपुर प्रहरीको समन्वयमा अवैध गाईगोरु नियन्त्रण गर्न सहज भएको उनको भनाइ छ। 

यसरी चितवन, तनहुँ लगाएतका जिल्लाबाट संकलन गरिएका गाईगोरु हेटौंडाबाट झापा हुँदै सीमा पार कटाएर मासुको लागि बंगलादेशसम्म लैजाने गिरोह सक्रिय रहेको सूचना पछि संयुक्त टोली परिचालन गरिएको हो। यसरी अवैध तस्करी नियन्त्रणले एकातिर गैरकानूनी गतिविधिमा अंकुश लगाएको छ भने अर्कातिर स्थानीय किसानलाई राहत पनि मिलेको छ। नियन्त्रणमा लिइएका गाईगोरु पशु सेवा कार्यालयले मकवानपुरका विभिन्न स्थानीय तहसँग समन्वय गरी खेतबारी जोत्नका लागि किसानलाई वितरण गर्दै आएको छ।

बुधबार राति नियन्त्रणमा लिइएको उक्त गोरुहरू मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ का किसानहरूलाई वितरण गरिएको कार्यालयले जनाएको छ। त्यसोत, हालसम्म मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा ५ हल गोरु लगेर किसानहरूले आफ्नो खेतबारी जोत्न प्रयोग गरिरहेका छन्। यसबाहेक अन्य स्थानीय तहमा पनि गाईगोरु वितरण गरिएको कार्यालयको तथ्यांक छ।

आफैंले गोरु किन्न नसक्ने, जोत्नको लागि बारीमा ट्याक्टर नजाने किसानहरू स्थानीय तहले नै छनौट गरेर ती गाईगोरु वितरण गरिँदै आइएको मकवानपुरगढी गाउँपालिका–५ का वडासदस्य लिलारत्न थिङ बताउँछन्। यहाँका १२ जना किसानका लागि १२ हल गोरु वितरण गरिएको उनको भनाइ छ। 

विशेषगरी नेपालमा कृषि प्रयोजनबाहेक गोरु ढुवानी गर्न बन्देज छ । तर कृषि प्रायोजनकै लागि भन्दै ढुवानी मापदण्ड मिचेर नक्करी भेटेनरी सर्टिफिकेट बनाएर तस्करी भैरहेको हो। नियन्त्रणमा लिइएका गाईगोरु किसानलाई वितरण गरिँदै आएको छ। 

जसले गाईगोरु संरक्षण पनि हुने र किसानका लागि सहज पनि हुने पशु सेवा कार्यालयको भनाई छ।

नेपाल सरकारद्वारा जारी पशु ढुवानी मापदण्ड, २०६४ अनुसार ढुवानी नगरेको र नक्कली प्रमाणपत्र बनाएर तस्करी गरेको पाइएको सवारीलाई नियन्त्रणमा लिन पशु सेवा कार्यालय आफैंले तदारुकता देखाउँदै आएको छ। मकवानपुरको बाटो प्रयोग गर्दै झापा लगिने र त्यहाँबाट काँटभिट्टा नाका हुँदै बंगलादेशसम्म पुर्याउने तस्करको संजाल बढेपछि कार्यालय र प्रहरीको रहोबरमा हालसम्म २ सय भन्दा बढी गाईगोरु नियन्त्रण गरिसकिएको कार्यालयको तथ्यांक छ‍। 

मकवानपुरबाट विगतदेखि नै गाईगोरुको तस्करी हुँदै आएको छ। प्रशासनले त्यसको नियन्त्रणका लागि खासै प्रभावकारी कदम चालेको देखिँदैन। चालु आर्थिक वर्षमा मात्रै मकवानपुरबाट ३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ भने तस्करीमा संलग्नहरुलाई प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ। सस्तो मूल्यमा खरिद गरी सिमानातर्फ पठाउने उद्देश्यले केही समूहहरूले यस्तो गैरकानुनी कारोबार बढाइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad