सिन्धुपाल्चोक निर्वाचनमा उम्मेदवारको रुपमा लगातार देखिइरहेने अनुहार हुन् मोहन बहादुर बस्नेत। २०४८ सालदेखि संसदीय चुनाव (२०५१ बाहेक)मा होमिएका बस्नेत पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनबाट रिङ आउट हुनपरेको हो।
पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बस्नेत यसपाली चुनावी दौडबाट बाहिर छन्। उनले रहर नगरेका भने होइनन्, तर कांग्रेसमा नेतृत्व फेरबदलको असर उनको राजनीतिक जीवनमा पनि पर्यो। टेरामक्स प्रकरणमा विवादमा तानिएका बस्नेतले टिकट पाएनन्।
२०७९ को निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट आफूलाई ११ हजार ८७४ मतान्तरले पराजित गर्ने बस्नेत चुनावी प्रतिस्पर्धाबाटै बाहिरिँदा एमाले नेता शेरबहादुर तामाङले राहत महशुस गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा एमालेबाट उनै शेरबहादुर दोहोरिएका छन।
कांग्रेसले वंशलाल तामाङलाई अघि सारेको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट युवराज दुलालले उम्मेदवारी दर्ता गराएका छन्।
बस्नेत ब्याक हुँदा त्यसको फाइदा उठाउने रणनीतिमा एमाले र नेकपा छ।
एमालेका शेरबहादुर सिन्धुपाल्चोकको निर्वाचनमा हारजित दुवैको अनुभव लिएका नेता हुन्। उनी २०६४ सालको निर्वाचनमा सिन्धुपाल्चोक–३ बाट उम्मेदवार बनेका थिए। तर निर्वाचित हुन सकेनन्। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा भने उनी निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–२ मा कांग्रेसले राप्रपाका उम्मेदवार पशुपति शमशेर राणालाई समर्थन गरेको थियो। कांग्रेसले नै समर्थन गरेको राप्रपाका राणालाई पराजित गरेर विजयी भएका तामाङ २०७९ को निर्वाचनमा कांग्रेस नेता मोहन बस्नेतसँग पराजित हुनपरेको थियो। बस्नेतले ३९ हजार ३६७ मत ल्याएर विजयी हुँदा तामाङले २७ हजार ४९३ मत प्राप्त गरेका थिए।
२०७४ मा ३४ हजार ४०१ मत ल्याएर विजयी भएका तामाङलाई बस्नेतको इन्ट्रीले घाटा लागेको थियो।
त्यसोत, उनले सिन्धुपाल्चोकको जनताले आफूलाई कहिल्यै नकारेको रेकर्ड नरहेको बताउँछन्। २०७९ को निर्वाचनमा पराजित हुनुको कारण मोहन बस्नेत पात्र मात्रै नभएर गठबन्धनको कारण रहेको उनको दाबी छ।
‘त्यसभन्दा अगाडि सिन्धुपाल्चोकका जनताले मलाई नै प्राथकिमता दिएका थिए,’ उनले भने, ‘राष्ट्रप्रतिको बफादारिता, सिन्धुपाल्चोकलाई गर्ने मायाका कारण २ नम्बर क्षेत्रका जनताले मलाई नै मत दिनुहुन्छ भन्नेमा म ढुक्क छु।’
यता, अघिल्लो निर्वाचनमा कांग्रेस नेता मोहन बहादुर बस्नेतले बनाएको साख जोगाउने जिम्मेवारी वंशलाल तामाङको काँधमा छ। सधैँ सिन्धुपाल्चोक–१ बाट चुनाव लडेका बस्नेत अघिल्लो निर्वाचनमा २ मा आएका थिए। सोही क्षेत्रबाट तामाङले पहिलो संसदीय यात्रा तय गर्न लागेका हुन्।
नेविसंघबाट राजनीति सुरु गरेका उनी २०७४ को स्थानीय तह निर्वाचनमा ईन्द्रावती गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उनी गाउँपालिका राष्ट्रिय महासंघको महासचिव थिए। संसदीय यात्र पहिलो भए पनि कांग्रेस जिल्लामा बलियो दल भएको कारण निर्वाचित हुनेमा शंका नरहेको उनको दाबी छ।
नेकपाबाट उम्मेदवार बनेका युवराज दुलाल बागमती प्रदेश सांसदबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिएका हुन्। २०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २(१) बाट निर्वाचित दुलालले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। सानै उमेरमा जनयुद्धमा होमिएका दुलाल पहिलो पटक प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार बनेका हुन्।
कांग्रेस र एमालेले जित निकाल्दै आएको यस क्षेत्र दुलालको लागि चुनौती बन्ने देखिन्छ। कुनै पनि गठबन्धनमा नरहेका कारण दलहरू आ–आफ्नै शक्तिमा निर्भर रहनुपर्ने हुँदा नेकपाका उम्मेदवार दुलालका लागि कांग्रेस र एमालेका दुवै उम्मेदवार चुनौती बन्ने देखिन्छ।
तथापी, जनताको सुख दुःखमा सधैँ अग्रभागमा उभिएकै कारण मतदाताले आफूलाई विश्वास गरेर मत दिने उनको दाबी छ।
‘सिन्धुपाल्चोकका नागरिक बिरामी हुँदा कहिले हेलिकप्टर लिएर पुगेको छु, कहिले गाडी लिएर पुगेको छु,’ दुलाल भन्छन्, ‘प्राकृतिक विपत्ती होस् या दुःख गाह्रोको समय। म उद्धार, राहत र उपचारमा खटिएको व्यक्ति हुँ। बाढी, पहिरो आगलागी जस्ता विपद्मा घटनास्थलमै पुगेर सहयोग गर्दै आएको छु। यही आधारमा नागरिकले मलाई जिताउनुहुन्छ भन्नेमा म ढुक्क छु।’
सिन्धुपाल्चोक–२ मा चौतारा साँगाचोकगढी नगरपालिकाका १, ५, ६, ७, ८, ११, १२, १३ र १४ नम्बर वडा, मेलम्ची नगरपालिका, इन्द्रावती, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका समेटिएका छन्। यस क्षेत्रमा ६३ मतदान स्थल र १६६ केन्द्र रहेका छन्।
सिन्धुपाल्चोक २ मा १८ जना चुनावी मैदानमा छन्।
यहाँ राप्रपाबाट गोपीकृष्ण चौलागाई, रास्वपाबाट झलक कुमार श्रेष्ठ, नेशनल मंगोल अर्गनाइजेसनबाट कर्णवीर स्यांवु लामा, आम जनता पार्टीबाट गणेश बहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दावा छिरिङ शेर्पा, श्रम संस्कृति पार्टीबाट भानु श्रेष्ठ, मितेरी पार्टी नेपालबाट महेश कुवँर, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मिङमर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट म्हेन्दो तामाङ, उज्यालो नेपाल पार्टीबाट राम सिं तामाङ, नागरिक सर्वोच्चता पार्टी नेपालबाट सेर बहादुर तामाङ, नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट सोनाम लामाले उम्मेदवारी दर्ता गरेका छन्।
यस्तै, सुन्दर अधिकारी, विजु श्रेष्ठ र दीपक ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
Shares

प्रतिक्रिया