बागमती


सिन्धुली १: कांग्रेसले भत्काएको ‘गढ’ फिर्ता गर्ने दाउमा एमाले

सिन्धुली १: कांग्रेसले भत्काएको ‘गढ’ फिर्ता गर्ने दाउमा एमाले

सुनिता विष्ट
माघ २९, २०८२ बिहिबार २०:५०, हेटौँडा

हरेक निर्वाचनमा नेकपा एमाले विजयी हुँदै आएको सिन्धुली–१ मा २०७९ मा पहिलो पटक नेपाली कांग्रेसले जित निकाल्यो। २०४८ देखि २०७४ सम्मका निर्वाचनहरूमा लगातार जितेको एमालेलाई पुनः साख फर्काउने चुनौती छ।

आउँदो फागुन २१ गतेको निर्वाचनका लागि एमाले पुरानो विरासत फर्काउन चाहन्छ भने कांग्रेस खोसिसकेको शाख जोगाउन चाहन्छ।

यही योजना सहित यी दुवै दल चुनावी मैदानमा छ। 

यहाँ एमालेले प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ। कांग्रेसबाट उज्वल प्रसाद बराल उम्मेदवार छन्।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट डेकेन्द्र प्रसाद सुवेदी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट धनेन्द्र कार्की, राप्रपाबाट रामनारायण अधिकारी चुनावी मैदानमा छन्। 

२०७४ को निर्वाचनमा बागमती प्रदेश सभामा निर्वाचित भएर केही समय स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका कटुवाललाई एमालेले उम्मेदवार बनाएको हो।

उनीसँगको प्रतिस्पर्धामा यसै क्षेत्रमा दुई पटक पराजय भोगेका उज्वललाई कांग्रेसले तेस्रो पटक टिकट दिएको हो भने

नेकपाबाट उम्मेदवार बनेका डेकेन्द्र पहिलो पटक संसदीय निर्वाचनको उम्मेदवार बनेका हुन्।

एमालेले जित्दै आएको र एकपटक कांग्रेसले खोसेको यस क्षेत्रमा मुख्य प्रतिस्पर्धीको रुपमा यीनै तीन दललाई हेरिएको छ। 

२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा पनि एमालेका कटुवाल र घिमिरे प्रतिस्पर्धामा थिए।

त्यतिबेला कटुवाल विजयी हुँदा घिमिरे पराजित हुन पुगेका थिए।   

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा उनै घिमिरे र कटुवाल आमनेसामने हुँदा घिमिरे विजयी भए। कटुवाल पहिलो पटक चुनावी प्रतिस्पर्धामा पराजित हुँदा यस क्षेत्रमा एमालेको गढ भत्किएको थियो। 

२०७९ सालको निर्वाचनमा कांग्रेसका घिमिरेले ३० हजार ३९१ मत ल्याएर विजयी हुँदा कटुवालले २५ हजार ५४६ मत ल्याएका थिए। रास्वपाकी उम्मेदवार मेनुका ठकुरीले २ हजार ६९२, राप्रपाका शालीग्राम माझीले ९४० मत ल्याएका थिए। 

कसको पल्ला भारी? 
२०७९ मा गठबन्धनको बलमा कांग्रेसका उम्मेदवार विजयी भए पनि समानुपातिक मतमा भने एमाले नै अगाडि थियो। यस क्षेत्रमा समानुपातिकतर्फ एमालेले २२ हजार ३४९ मत प्राप्त गरेको थियो।

कांग्रेसले १८ हजार २४२ मत प्राप्त गर्दै दोस्रो भएको थियो भने तत्कालीन माओवादी केन्द्रले १२ हजार ३८१ मत प्राप्त गरेको थियो। रास्वपाले ४ हजार ७७, राप्रपाले १ हजार १५० र नेकपा एकीकृत समाजवादीले ४०४ मत प्राप्त गरेका थिए।

यो अंकगणितका आधारमा सिन्धुलीमा एमाले बलियो देखिन्छ। दलहरू एकल निर्वाचनमा होमिएको अवस्थामा पटक पनि एमालेको पल्लाभारी हुने अंकगणितले देखाउँछ।

नयाँ शक्तिको रुपमा उदाएको रास्वपाको प्रभाव यस क्षेत्रमा त्यति देखिँदैन। समानुपातिक मत सुरक्षित राख्न सके एमालेको पल्लाभारी हुने सिन्धुलीका राजनीतिज्ञहरू बताउँछन्। 

के भन्छन् उम्मेदवार? 
कांग्रेस उम्मेदवार बराल सिन्धुली–१ मा कांग्रेस नै विजयी हुने दाबी गर्छन्। कांग्रेसले तेस्रो पटक टिकट दिएर उम्मेदवार बनेका उनी कांग्रेस सभापति गगन थापा निकट हुन्।

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा गगनलाई सघाएका बराल कांग्रेसको केन्द्रीय सदस्य समेत हुन्। पार्टीमा लामो समय काम गरेको अनुभवले मतदाताले आफैंलाई जिताउने उनको दाबी छ। 

तत्कालीन अवस्थामा तीनवटा निर्वाचन क्षेत्र रहँदा सिन्धुली–२ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए। दोस्रो पटक २०६४ को संविधान सभा निर्वाचनमा सिन्धुली–१ बाट उम्मेदवारी दर्ता गराएका उनी त्यसबेला पनि पराजित भएका थिए। 

‘अहिले मतादाताको घरदैलोमा पुगिरहँदा यो पटक कांग्रेसले नै जित्नुपर्छ भन्ने आवाज सुनिरहेको छु,’ उनले भने, ‘जिल्लाका हाम्रो संगठन पनि त्यति कमजोर छैन। गत निर्वाचनमा जितेकै हो। यो पटक पनि हामी जित्छौँ। कांग्रेस बदलिएर आएको छ। त्यसकारण कांग्रेसको सबै मत एकढिक्का हुनेछ। मेरो जित्ने आधार नै यही हो।’

नेकपाबाट उम्मेदवार बनेका सुवेदी सिन्धुलीमा रहेर गरिएको सामाजिक कामले आफूलाई विजयी गराउने दाबी गर्छन्। समाज परिवर्तनका लागि आफ्नो आवश्यकता रहेका कारण पार्टीले उम्मेदवार बनाएको सुवेदीको भनाई छ।

उनी भन्छन्, ‘पार्टीमा लामो समयको योगदानले मलाई पार्टीले उम्मेदवार बनाएको छ। संसदीय राजनीतिको सन्दर्भमा आएको विकृती अन्त्य गर्न मेरो भूमिका रहनेछ। सामाजिक काममा भिजेको मलाई मतदाताहरूले जिताउनुहुनेछ भन्नेमा ढुक्क छु।’

कानुन व्यवसायी समेत रहेका सुवेदी संसदमा कानुन र न्यायको विषयमा आवाज उठाउने एजेण्डा लिएर निर्वाचनमा होमिएको बताउँछन्। यस क्षेत्रमा एमाले र कांग्रेसलाई मुख्य प्रतिस्पर्धी ठान्ने सुवेदी दुवै दललाई पराजित गरेर आफू विजयी हुने दाबी गर्छन्।

सुवेदी तत्कालीन नेकपा एकीकृत समाजवादीका नेता हुन्।  

यता, सधैँ जित्दै आएको एमाले गत निर्वाचनमा गुमेको साख फर्काउने राणनीति सहित चुनावी मैदानमा उत्रिएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ बताउँछन्। उनका अनुसार सिन्धुली एमालेकै गढ भएका कारण २०७९ बाहेकको निर्वाचनहरूमा सफलता हात पार्दैै आएको हो। 

‘दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा दुवै क्षेत्र एमालेले जित्छ,’ उनले भने, ‘सिन्धुली–१ त झन् एमालेको बलियो प्रभाव भएको क्षेत्र हो। शालिन, भद्र र लोकप्रिय उम्मेदवारलाई टिकट दिइएको छ। गठबन्धन हुँदा ४ हजार मतान्तरले पराजित हुनुभएको थियो। यो पटक ५ हजार बढी मतान्तर सहित विजयी हुनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad