सिन्धुली-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी भएका छन्। उनले नेकपा एमालेका प्रदीप कुमार कटुवाललाई ७८४ मातन्तरले पराजित गर्दै विजयी भएका हुन्। कार्कीले १६ हजार ५५९ मत प्राप्त गर्दा कटुवालले १५ हजार ८७५ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतगणना देखि नै एमालेका उम्मेदवार कटुवाल अग्रस्थानमा थिए। तर अन्तिम अवस्थामा कमलाई नगरपालिकाको मतगणना गर्दा रास्वपाका कार्की विजयी भएका हुन्।
यो क्षेत्र एमालेको गढको रुपमा परिचित थियो। २०७९ को निर्वाचनमा भने सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका थिए। त्यतिबेला कटुवाल पराजित भएका थिए। उनको यो प्रतिनिधि सभा निर्वाचनमा दोस्रो हार हो।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार उज्जवल प्रसाद बरालले मत १५ हजार ५७० मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार डेकेन्द्रप्रसाद सुवेदीले ४ हजार ७०८ मत प्राप्त गरेका छन्।
श्रम संस्कृति पार्टीका उम्मेदवार निमबहादुर मोक्तानले २ हजार ५९६ मत प्राप्त गर्दा राप्रपाका रामनारायण अधिकारीले ५१० मत प्राप्त गरेका हुन्। यो सँगै दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा दुवै क्षेत्रमा रास्वपा विजयी भएको हो।
Shares

प्रतिक्रिया