बागमती


मूल्यवृद्धिले निर्माण व्यवसाय थलिएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापन

मूल्यवृद्धिले निर्माण व्यवसाय थलिएको भन्दै मुख्यमन्त्रीलाई ज्ञापन

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १८:३७, हेटौँडा

बढ्दो मूल्यवृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै बागमती प्रदेशका निर्माण व्यवसायीहरूले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

सोमबार बागमती प्रदेश निर्माण व्यवसायी महासंघको टोलीले प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै तत्काल नीतिगत हस्तक्षेप गर्न माग गरेको हो।

व्यवसायीहरूले इन्धनजन्य पदार्थ र निर्माण सामग्रीको निरन्तर मूल्यवृद्धिका कारण अधिकांश पूर्वाधार आयोजना प्रभावित भएको उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अस्थिर हुँदा त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको भन्दै उनीहरूले तत्काल मूल्य समायोजन मार्ग निर्देशिका–२ जारी गर्नुपर्ने माग राखेका छन्।

निर्माण सामग्री जस्तै बिटुमिन, सिमेन्ट र फलामे डण्डीमा भएको मूल्यवृद्धिले लागत अत्यधिक बढेको र बजारमा आवश्यक सामग्रीको अभावले धेरै आयोजना ठप्प हुने अवस्थामा पुगेको बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले बताए।

ज्ञापनपत्र मार्फत व्यवसायीहरुले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिने अवस्था सिर्जना भएकाले बैंक ग्यारेन्टी, बीमा तथा थप क्षतिपूर्तिसहित आयोजनाको म्याद थप गर्नुपर्ने माग समेत अघि सारेका छन्।

मुख्यमन्त्री बानियाँले ज्ञापनपत्र ग्रहण गर्दै मूल्यवृद्धिको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताए। उनले आवश्यक निर्णयका लागि पहल गर्ने प्रतिबद्धता जनाउँदै म्याद थप अथवा मूल्य समायोजनको विषयमा आफूले छलफल गर्ने बताए। 

निर्माण व्यवसायीहरुले समयमै सरकारबाट ठोस निर्णय नभए निर्माण उद्योग थप संकटमा पर्ने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने चेतावनी दिएका छन्। बागमती प्रदेश निर्माण व्यवसायी महासंघका पदाधिकारी सहित निर्माण व्यवसायी संघ मकवानपुर, चितवन, धादिङ लगायतका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad