बागमती


मकवानपुर-२ मा चुनाव जित्न दलका अनेक अस्त्र: जेनजी, जनजाति, विजयी

मकवानपुर-२ मा चुनाव जित्न दलका अनेक अस्त्र: जेनजी, जनजाति, विजयी

सुनिता विष्ट
माघ १७, २०८२ शनिबार १५:५५, हेटौँडा

आउँदो फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचन जित्न मकवानपुर-२ मा राजनीतिक दलहरूले उम्मेदवार छनोटकै क्रममा अनेक रणनीति अपनाएको देखिन्छ। जहाँ भर्खर राजनीतिमा लागेका जेनजीदेखि लामो समयदेखि राजनीतिमा रहेका पाकासम्म उम्मेदवार छन्। 

यस क्षेत्रमा रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को ‘कोर टिम’मा रहेर काम गरेका जेनजीमा पर्ने प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले फेरि २०७९ को चुनाव जितेका नेता महेशकुमार बर्तौलालाई नै अघि सारेको छ। 

यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यसपटक रामनारायण बिडारीलाई रोकेर शालीन नेताको परिचय बनाएका लवशेर विष्टलाई यहाँ उठाउँदा नेपाली कांग्रेसले बुद्ध लामालाई उम्मेदवार बनाएको छ। 

यसैगरी यस क्षेत्रमा नयाँ दलहरू श्रम संस्कृति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल पार्टीलगायतले पनि उम्मेदवार खडा गरेका छन्।

तथापि यहाँ मुख्य प्रतिस्पर्धा पुरानै चार दलबिच हुने आकलन गरिएको छ। 

रास्वपाले सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेनकै निर्देशनमा टिकट पाएका उप्रेती मकवानपुरबासीका लागि नयाँ अनुहार हुन्। जसले गर्दा रास्वपाको राम्रो प्रभाव रहे पनि अपरिचित अनुहार उम्मेदवार बनाउँदा परिणाम सोचेजस्तो नआउने देखिन्छ।

सुरुमा यहाँ रास्वपाबाट पार्टीका मकवानपुर जिल्ला सभापति भरत पराजुलीलाई उम्मेदवार बनाउने चर्चा चलेको थियो। तर अन्तिम अवस्थामा २५ वर्षका उप्रेतीलाई टिकट दिइँदा जिल्लाका रास्वपा नेताहरूले सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका थिए।

यद्यपि अहिले भने पराजुली स्वयं उम्मेदवार उप्रेतीलाई लिएर मत माग्न घरदैलो गरिरहेका छन्।

आईटी क्षेत्रमा दक्ष उप्रेती काठमाडौँमा बालेनको सचिवालयमा गरेका व्यक्ति हुन्। तर उनी यहाँका लागि नौलो अनुहार भएकाले मकवानपुर-२ मा रास्वपालाई प्रतिस्पर्धीका रूपमा हेरिएको छैन।

२०७९ को निर्वाचनमा तत्कालीन गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार ५२० मतान्तरले हराएका एमाले उम्मेदवार बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरेका थिए।

तत्कालीन अवस्थामा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका खतिवडा बर्तौलाका राजनीति गुरु हुन्। पार्टी समायोजनपश्चात् नेपाली कम्युनिस्ट पार्टीमा रहेका खतिवडाले भने यसपटक चुनाव लड्न चाहेनन्। 

मकवानपुरका दुवै निर्वाचन क्षेत्रबाट पार्टीले उम्मेदवारमा उनको नाम पहिलो नम्बरमा सिफारिस गरे पनि उनले यसपटक चुनावी प्रतिस्पर्धा नगर्ने घोषणा गरे। 

खतिवडा पछि हटेपछि उम्मेदवारमा रामनारायण बिडारीको चर्चा चलेको थियो। तर अन्तिम समयमा नेकपाले थाहा नगरपालिकाका पूर्वमेयर लवशेर विष्टलाई उम्मेदवार बनाएको हो। 

उत्तरी मकवानपुरको थाहा नगरपालिकाको मेयर हुँदा ५ वर्ष जनसेवा गरेका विष्ट शालीन नेताका रूपमा परिचित छन्।

थाहा नगरभरि सबै दलसँग सुमधुर सम्बन्ध बनाएका उनलाई उम्मेदवार बनाउँदा जित हुने विश्वास नेकपाले लिएको छ। 

२०७९ मा विजयी एमालेका बर्तौलालाई रोक्ने राणनीतिका साथ नेकपाले विष्टलाई टिकट दिएको नेताहरू बताउँछन्।

त्यसो त यहाँ कांग्रेसले पनि बलियो उम्मेदवारलाई मैदान उतारेको छ।

पार्टीका मकवानपुर जिल्ला सभापतिसमेत रहेका लामाले जातीय मत तान्ने विश्वासका साथ कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो।

थाहा नगर र इन्द्रसरोवर गाउँपालिकाको मत विष्टका पक्षमा गए पनि भीमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका र हेटौँडाका ४ वटा वडाबाट जनजातिको भोट लामालाई आउने आकलन कांग्रेसको छ।

तामाङ समुदायको बाहुल्य रहेको यस क्षेत्रमा कांग्रेसले तामाङ समुदायकै उम्मेदवार उठाउने रणनीति लिएको हो।

कांग्रेस उम्मेदवार बुद्ध लामाले पार्टीका बागमती प्रदेश सभापति तथा बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका इन्द्रबहादुर बानियाँका राजनीतिक सल्लाहकारको भूमिकासमेत निर्वाह गरेका थिए। लामा कांग्रेभित्र सबैले रुचाउने इमान्दार र सरल नेता हुन्।

उनको उपस्थितिले एमाले र नेकपालाई चुनौती थपिएको छ। 

उता एमालेका नेताहरू भने २०७९ मा विजयी बर्तौलालाई यसपटक अझ सहज रहेको दाबी गर्छन्। 

२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी केन्द्रदेखि एकीकृत समाजवादीसम्मले गठबन्धन गरी साझा उम्मेदवार उठाएको थियो। त्यतिबेला एमाले एक्लै प्रतिस्पर्धामा उत्रिँदा पनि बर्तौला विजयी भएका थिए।

अहिले झन् कांग्रेस र नेकपा एक्लाएक्लै चुनाव लडेकाले बर्तौला विजयी हुने आधार अझ बलियो भएको एमालेका मकवानपुर जिल्ला उपाध्यक्ष हिदम लामाको दाबी छ। 

२०७९ मा समानुपातिकतर्फ पनि यहाँ एमाले नै पहिलो दल बनेको थियो। त्यस चुनावमा एमालेले मकवानपुर-२ मा २८ हजार १८६ मत प्राप्त गरेको थियो। त्यतिबेला समानुपातिकमा कांग्रेस दोस्रो, रास्वपा तेस्रो र तत्कालीन नेकपा माओवादी केन्द्र चौथो भएका थिए। 

अघिल्लो निर्वाचनमा सन्तोषजनक समानुपातिक मत पाएको रास्वपाले यसपटक परिचित अनुहार नपठाउँदा असर पर्ने देखिन्छ।

अनि उत्तरी र पश्चिमी मकवानपुरको माथिल्लो भेगको मत तान्ने रणनीतिमा उम्मेदवार छनोट गरेको नेकपाको दाउ सफल भएमा अघिल्लो निर्वाचनमा समानुपातिक मत कम आएको भए पनि यसपटक प्रत्यक्षतर्फ जित्ने सम्भावना बढेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad