श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकार निरंकुश बनेको आरोप लगाएका छन्।
सुकुमवासी बस्तीमा डोजर चलाएर सर्वसाधारणमा आतंक मच्चाइएको भन्दै उनले सरकारको कदमको आलोचना गरेका हुन्।
शनिबार (आज) मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ सिमलटारस्थित सुकुमवासी बस्तीमा आइपुगेका साम्पाङले सरकारको निरंकुश कदमले सुकुमवासी घरबारविहीन भएको बताए।
स्थानीयलाई आश्वासन दिदैँ उनले श्रम संस्कृति पार्टी जनतालाई बेघर बनाउने नहुने अडानमा रहेको बताए।
अरू कोही सुकुमवासीका पक्षमा नरहे पनि आफू पक्षमा रहेको उनले बताए।
प्रतिनिधिसभाको पहिलो बैठकमै सुकुमवासीलाई विस्थापित गर्न हुँदैन भन्ने एजेन्डा श्रम संस्कृति पार्टीले टेबल गरेको साम्पाङले बताए।
‘घर बनाएर बस्न पाउने अधिकार सबैलाई छ’, उनले भने, ‘त्यो घरलाई राज्यले आतंक लगाएर भत्काउन हुँदैन भन्ने लाइनमा हामी छौँ। जनताको घर भत्काउन सरकार निरंकुश भएर लागिरहेको छ। त्यस्तो सरकारको विरुद्धमा तपाईं हामी एकजुट भएर लाग्नुपर्छ।’
सुकुमवासीका पक्षमा सडक र सदनबाट कुरा उठाएर नेपाली जनताले बाँच्न पाउनुपर्ने अधिकारका लागि एक भएर आवाज उठाउने प्रतिबद्धता उनले जनाए।
उनले नागरिकको आधारभूत बासस्थानमा बल प्रयोग गर्नु अमानवीय कार्य भएको बताए।
उनले सुकुमवासीको समस्या समाधान संवाद र व्यवस्थापन मार्फत गर्नुपर्नेमा सरकार दमनकारी शैलीमा अघि बढेको आरोप लगाए।
Shares

प्रतिक्रिया