ad ad

ब्लग


अमेरिकामा घरबारविहीनहरूको कहालीलाग्दो जीवन देखेपछि...

अमेरिकामा घरबारविहीनहरूको कहालीलाग्दो जीवन देखेपछि...

मीना खड्का
माघ १५, २०८० सोमबार १६:४, टेक्सास (अमेरिका)

म एउटा स्टोरमा क्यासियर छु। यो बताउन मलाई कुनै संकोच लाग्दैन। यो सानो, त्यो ठूलो सोच्ने र कामबाट पन्छिने मानसिकताको अन्त्य भइसकेको छ। कामसँग प्रेम गर्नेहरु कहिल्यै हार्दैनन्। यो कुरा सही र गलत छुट्याउन सक्ने भएदेखि नै सिकिएको ह‍ो। त्यसमाथि जापान बसाइका सुरुवाती दिनहरुले कामसँगको प्रेम  झन् गाढा बनाउन सघाए।

कर्मले सपनालाई विपनामा परिणत गर्न, असम्भवलाई सम्भव बनाउन सघाउने रहेछ। अल्छी गर्ने र गलत बाटोमा हिँड्नेहरु  घरबरविहीन मात्रै होइन, जिउँदै नर्कको जीवन बाँच्नुपर्ने अवस्थाको सिकार हुने रहेछन्।

कयौँ मानिसहरु स्टोरमा मागिरहेका हुन्छन्। कयौँ चिसा रातहरु स्टोरबाहिर प्रांगणमा र सडकमा सुतेर बिताउनेहरु देख्दा साँच्चै अमेरिकी जीवनको यो यथार्थलाई कसैले देखेका छैनन् जस्तो लाग्छ। 

हो पनि। धेरैलाई यति मात्र थाहा छ कि अमेरिका विश्वकै धनी देश हो। तर धेरैलाई यो थाहा छैन, यो लाखौँ घरबारविहीनहरु भएको देश पनि हो। 

अमेरिकाको डिपार्टमेन्ट अफ हाउजिङ एन्ड अर्बान डेभलपमेन्टले सन् २०२३ को  डिसेम्बर १५ मा सार्वजनिक गरेको एक तथ्यांकअनुसार ६ लाख ५३ हजार १ सय नागरिक घरबारविहीन छन्। जुन २०२२ को भन्दा १२ प्रतिशतले बढी हो।  

यहाँ पनि तल्लो वर्गका मानिसको जीवन अति नै कष्टकर रहेछ।  

भन्नेहरु त भन्छन्, अमेरिकामा डलर फल्ने रुखै हुन्छ। सुन्नेहरुलाइ पनि लाग्दो हो, साँच्चै अमेरिकामा रुखमा नै पैसा फल्छ। स्वतन्त्रता छ, न्याय प्रणाली बलियो छ, नेपालबाट गएकाहरुले रोजगार पनि पाउँछन्। तर यो सबैलाई जानकारी हुन जरुरी छ, सुखैसुख मात्र हुने स्वर्ग भने अमेरिका पक्कै ह‍ोइन। यहाँ पनि दुःख छ। काम गर्नुपर्छ नियमअनुसार। 

उसो त काम गर्नेहरुले अवसर पाए भने जहाँ पनि राम्रो गर्न सक्छन्। बढाइचढाइ खाली राम्रा कुराहरुको मात्र अतिरन्जित बखान गर्नेहरूलाई सायद दुःख र संघर्षका कुरा गर्दा आफू तल पर्छु कि भन्ने कमजोर र कामचोर चेतनाले लखेट्दो हो। र भ्रम छर्न उक्साउँदो हो। तर यथार्थ सबैलाई थाहा हुन जरुरी छ। 

अमेरिकाको कानुनअनुसार १८ वर्ष मुनिकालाई चुरोट वा सूर्तीजन्य पदार्थ र २१ वर्ष मुनिकालाई मादक पदार्थ बेच्न पाइँदैन। तर अचम्मको कुरा के भने २१ वर्ष मुनिका बच्चाहरु नै बढीजसो अल्कोहलजन्य पदार्थ, चुरोट वा सूर्तीजन्य पदार्थ किन्न आउने गर्छन्। यसरी पनि प्रस्ट हुन्छ उनीहरूले के सिकेका छन् र उनीहरुको भविष्य कस्तो बन्ला? 

केही दिनअघि एक अनलाइन पत्रिकामा प्रकाशित समाचारमा उल्लेख भएअनुसार एक स्टोर सञ्चालकले उमेर नपुगेका बच्चालाई अल्कोहलजन्य पदार्थ ३ पटकसम्म बेचेको कारण उनको  लाइसेन्स रद्द गरियो। सम्बन्धित कार्यालयमा ताल्चासमेत लगाइयो।  

उसो त अमेरिकामा ठूलो घर किन्नु, राम्रो गाडी किन्नु, एउटा बिजनेस गर्न थाल्नु कुनै ठूलो कुरा भने होइन। ऋण तिर्न नसक्ने ह‍ो भने फिर्ता हुन्छ। ती व्यक्तिको हकमा पनि त्यस्तै भएछ।

बैंकले घर लिएछ र बेचिदिएछ। उनी कोठामा बस्न थालेछन्। जागिर खोजे तर पाएनन्। अनलाइन मार्फत जागिरका लागि आवेदन दिए पनि छनोट हुन सकेनन्।  

‘फस्ट कम फस्ट सर्भ्ड’ को मान्यता, योग्यता, विगतका सम्पूर्ण नोकरी विवरण, पहिलाको  तलब, छोडेको कारण सहितको विवरण, बस्दै आएको सबै ठेगाना, छनोट भएको खण्डमा शारीरिक मोडल परीक्षण, मादक पदार्थ, लागुऔषध परीक्षण, औँठा छाप, अदालतबाट आपराधिक गतिविधिमा संलग्न नभएको विश्वसनीय इतिहास हेरेपछि मात्र नोकरी पक्का हुन्छ। 

त्यसपछि उनको घरबार टुट्यो। सम्बन्धविच्छेद भएपछि उनी तनावग्रस्त र एक्लो भए। यसरी लागुपदार्थ सेवनको मात्रा अझ बढ्यो। उनले निकै समयपछि थाहा पाए कि उनी मानसिक बिरामीको सिकार पनि भइसकेका रहेछन्।

डिप्रेसनको कारण सारा उर्जा गुमेको थियो। यति मात्रै होइन बिहान सबेरै उठ्न र तर्कसंगत योजना बनाउनसमेत नसक्ने भइसकेका थिए। 

पछि कोठा भाडा तिर्न असमर्थ भएपछि उनी सरकारले उपलब्ध गराएको हाउजिङमा बस्न थाले। अमेरिकाको प्रत्येक सहरमा आयस्रोत कम भएका तथा हुँदै नभएकालाई पनि सेल्टर होम बनाइएको छ। यहाँको अनुशासन तथा नियम पनि  पालना गर्नु अनिवार्य हुन्छ।

तर यो प्रतिनिधि घटना मात्र हो। सरकारले मासिक दिने पैसाको दुरुपयोग गरी भिख मागेर जीवन चलाउनेहरू हरेक बाटोमा सयौँको संख्यामा देख्न सकिन्छ। यसरी अँध्यारो बाटो हिँडिरहेका, कुलतले कमजोर भइसकेका र  मृत्यु कुरेर बसेकाहरू देख्दा केवल कहाली लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .