ad ad

ब्लग


कुडै गरिकन क्या हुन्या हो?

कुडै गरिकन क्या हुन्या हो?

माधव चौलागाईं
फागुन २, २०८० बुधबार १६:३४, काठमाडौँ

‘कर्णाली उत्सव-कुडा कर्णालीका’को पहिलो संस्करण २०७६ मा आयोजना गरिएको थियो। त्यतिबेला केवल भण्डारी कर्णालीको प्रमुख सचिव हुनुहुन्थ्यो। उहाँसँगको कुराकानीमा केही फरक अभ्यास गर्न पाए हुन्थ्यो भन्ने प्रसंग चल्यो। त्यसरी अंकुराएको विचार पछि गएर एउटा बहस र मन्थनको मञ्चका रूपमा आकार लिन पुग्यो। 

त्यसलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न थियो। व्यक्तिगत रूपमा सम्भव हुने कुरा थिएन। सरकारले पनि सधैँ गर्न सक्ने थिएन। कुनै संगठित समूह भए सजिलो हुन्छ भन्ने निष्कर्षमा पुगियो। त्यसपछि सुर्खेतका युवाहरूले चलाएको ऋति फाउन्डेसनसँग सहकार्य भयो। 

ऋति फाउन्डेसन नै कर्णाली उत्सवलाई चलाउने आधिकारिक संस्था बन्यो, जसले सचिवालयको काम पनि गर्ने भएपछि हामी सो फाउन्डेसनसँग जोडियौँ।

यस खालका छलफल र सार्वजनिक बहस हुनु नौलो कुरा त थिएन। नेपालमा पनि फाट्टफुट्ट बहस, छलफल भइरहेका थिए। कर्णालीमा चाहिँ यस खालको अभ्यास थिएन। विकाससम्बन्धी सम्मेलन हुन्थे तर नागरिक तहमा हरेक खालका विचारलाई एकै ठाउँमा ल्याएर मन्थन गर्ने अभ्यास थिएन। त्यो काम कर्णालीमा किन नगर्ने? यही प्रश्नबाट ‘कर्णाली उत्सव-कुडा कर्णालीका’ जन्मिएको थियो। 

यसैलाई पनि पहिले साहित्य महोत्सवको ढाँचामा गरौँ भन्यौँ। तर, साहित्यको मात्र कुरा गरेर त्यसले कर्णालीको पूरा चित्र अगाडि ल्याउन सम्भव हुँदैनथ्यो। किनभने यहाँ बहसमा ल्याउनुपर्ने कुरा धेरै छन्। भविष्यमा कुनै समय साहित्यमा मात्र केन्द्रित हौँला, अहिलेचाहिँ खुला छाडौँ भन्ने समझदारीअनुरुप हामीले समाजका सबै पक्षलाई समेटेर यो कार्यक्रम सुरु गर्‍यौँ।

कुडा कर्णालीका सुरु भएयता यसको ढाँचा पनि बदलिँदै आएको छ। पहिलो वर्ष तीन दिनको कार्यक्रममा हरेक दिनका लागि अलगअलग थिम छुट्याएर प्यानल र मोडरेटर छान्थ्यौँ। अर्को वर्षबाट हामीले हरेक सत्रको बीचमा कर्णालीका पैकलाको कथा सुनाउन थाल्यौँ। पैकेलो भनेको खस भाषामा नायकजस्तै हो। कुनै मान्छेले गज्जबको काम गर्‍यो भने त्यसलाई क्या पैकेलो रहेछ भन्ने चलन छ, जसले उदाहरणीय र बहादुरीपूर्ण काम गर्न सक्छ। आआफ्नो क्षेत्रमा असाधारण काम गरेका कर्णालीका युवाले पैकेलाका कथामा आआफ्नो कथा भनिरहेका छन्।

बालविवाहबाट बच्न दौड सुरु गरेकी अल्ट्राधावक सुनमाया बुढा, भ्लगर सिर्जना सिज्जु, फोटोग्राफीमा नाम कमाएका गोरख विष्ट, सरकारी स्कुलमा पढेर पनि शैक्षिक उचाइ हासिल गरेका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् कर्णालीप्रतिको परम्परागत धारणा नै उल्टाउन लागिपरेका डा. मंगल रावल, महिला स्वास्थ्य स्वयंसेविका खैरुन्निसा, सामाजिक क्षेत्रमा काम गर्दै आएकी रचना सुनार, मुगुमा झिँगासँगै हुर्केर झिँगाको चित्र बनाई दुई लाख रुपैयाँमा बेचेका कुशल हमालले आआफ्नो कथा सुनाइसक्नुभएको छ। गायक सुरज पण्डितले पनि सुनाउनुभएको छ। उहाँको ‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरमा’ भन्ने जुन शक्तिशाली गीत छ, सायद उहाँ कर्णालीको मान्छे नभएको भए गीतमा कर्णालीको व्यथा त्यसरी कहन सक्नुहुने थिएन।

यो वर्ष शिक्षा क्षेत्रमा काम गरिरहनुभएका हिक्मत बादी, वैज्ञानिक राजेन्द्र विष्ट र भूकम्पसम्बन्धी पैकेलाहरूले कथा सुनाउनुहुनेछ।

यसरी स्थानीय पैकेलाहरूको कथा पस्केर हामीले कर्णालीको पहिचान र विम्ब बदल्ने  कोसिस गरिरहेका छौँ। गरिबी, अशिक्षा, पछौटेपन कर्णालीका विम्ब बनेका छन् हालसम्म, त्यसको विनिर्माण गर्दै छौँ हामी।

सत्रहरूलाई चुस्त बनाउन प्राप्त सुझावलाई पनि ध्यानमा राखी हामीले केही प्रयासहरू गरेका छौँ। पहिले शीर्षकसँग जोडिएका मान्छेहरूलाई अघि सार्थ्यौँ। पछि महिला अनिवार्य गर्न थाल्यौँ। समावेशिता र सामाजिक मुद्दाको उठानजस्ता केही मापदण्ड बनायौँ। जसअनुसार सत्रहरूमा कर्णालीको मान्छे अनिवार्य हुनुपर्छ। त्यस्तै, सकेसम्म स्थानीय मान्छे राख्ने र सकेसम्म वक्ता र सञ्चालक नदोहोर्‍याउने हाम्रो प्रयास रहँदै आएको छ, जुन काम निकै चुनौतीपूर्ण पनि छ।

कार्यक्रममा सकेसम्म स्थानीयपन दिन नाममा खस शब्द ल्याउने प्रयास गरिरहेका छौँ। निमन्त्रणा पनि खस भाषामा लेख्न थालेका छौँ। मिडिया कर्नरलाई मिडिया मैडो भन्न थालेका छौँ। निश्चित सत्रहरूमा फड्के किनारा भनेर सहभागीहरूको आवाज पनि समेट्ने कोसिस गर्दै छौँ।

साङ्केतिक भाषाको प्रयोग हाम्रो कार्यक्रमको अर्को विशिष्टता हो। ०७७ देखि नै यो प्रयोग हामी गरिरहेका छौँ। गजल र गीतको अनुवादसमेत गराएका छौँ, सांकेतिक भाषाकै माध्यमबाट प्रश्नोत्तर पनि गरेका छौँ। सबैतिरबाट छुटेको समूहले पनि यसमा सहभागिताको मौका पाएको छ।

कुडा कर्णालीका बहसको एउटा शृंखला हो। त्यसैले यसको निरन्तरता नै ठूलो उपलब्धि हो। दोस्रो यसले आफ्नो पहिचान स्थापित गरेको छ। मूलधारको मिडियामा ठाउँ नपाउने कर्णालीका विविध मुद्दाहरूले पनि ठाउँ पाएका छन्। 

अर्को महत्त्वपूर्ण पाटो भनेको सहभागिता हो। कर्णालीका थुप्रैका लागि यो पहिलो अवसर थियो, कुनै कार्यक्रममा सहभागी भएर आफ्नो कुरा राख्ने। यो पनि एउटा उपलब्धि नै हो। 

हो, कुडै गरिकन क्या हुन्या हो भन्नेहरू पनि छन्। हो, कुडा मात्र गरेर हुँदैन र कुरा नगरीकन पनि हुँदैन। वर्षभरि काम गर्छौं। आफूले गरेका कामको समीक्षा पनि त गर्नुपर्छ। आफ्ना कामलाई संसारभर चिनाउनु पनि त पर्छ। कुनै पनि सभ्य समाजमा विचारको महत्त्व ज्यादा हुन्छ। मन्थनले, बहसले समाजलाई एउटा चेतना, गति र आत्मविश्वास सम्प्रेषण गर्छ। त्योभन्दा ठूलो कुरा कर्णालीजस्तो ठाउँमा विचारको कुरा राजनीतिसँग जोडिएको हुन्छ। दलीय राजनीतिले छियाछिया भएको समाजमा सबैको बीचमा साझा बहस हुनु आफैँमा ठूलो कुरा हो। यहाँ जुनसुकै क्षेत्रका आउन सक्छन्, विचार राख्न सक्छन्। व्यापार, राजनीति, कला, अन्य पेसा र केही नभएका आम मान्छे पनि।

यसपालि सौराइँ जीवनबारे सत्र राखिएको छ। ७०–८० वर्षका महिलाहरूले आफ्नो जिन्दगीसँगै समाज कसरी परिवर्तन भयो भन्ने अनुभूति ठेट खस भाषामा सुनाउनुहुनेछ। 

कर्णालीको इतिहासका धेरै सन्दर्भहरू पनि आउँदै छन्। यहाँ अध्ययनको अवसर नै कम थियो। जसका कारण एउटा पुस्ताले बिर्सिन सक्ने जोखिम पनि थियो। ती कुराहरूलाई पुस्तान्तरण गर्न पनि यस्ता छलफलले सहयोग गर्छन्।

सबै सत्र सबैलाई रुचिकर नलाग्न सक्छ। तर, समूह वा वर्गविशेषका लागि कुनै न कुनै सत्र अति महत्त्वपूर्ण हुनेछन्। जसले जे खोजे पनि पाउने गरी संयोजन गरिएको छ।

कर्णालीजस्तो ठाउँका लागि योजना बनाउँदा पनि एउटा सीमामा बसेर गर्नुपर्ने हुन्छ। दीर्घकालीन कोष छैन। कर्णालीकै मान्छेहरूसँग त्यसको क्षमता छैन। सरकारले पनि सधैँ गर्न सक्दैन। फेरि सरकारी संयन्त्रबाट सहयोग लिनु अर्को महाभारत हुन्छ। एउटै विकल्प कर्पोरेट वा परोपकार क्षेत्रसँग सहयोग लिनु हो। तर अहिलेसम्म कर्पोरेट क्षेत्रले सार्वजनिक उत्तरदायित्वअन्तर्गत कर्णालीजस्तो ठाउँमा योगदान नै गरेको छैन भन्दा फरक पर्दैन। त्यसैले यो उनीहरूका लागि नयाँ सम्भावनाको ठाउँ पनि हुन सक्छ।

अहिलेसम्म हामी जोजति यहाँ काम गरिरहेका छौँ, सबैले स्वयंसेवा गरिरहेका छौँ। हामी कर्णालीको भएकाले कर्णालीको पहिचान स्थापित हुँदा मेरो पहिचान पनि स्थापित हुन्छ भनेर लागेका छौँ।

कर्णाली बदलिँदै छ। धेरै पहिले कर्णाली पुगेर फर्केका मान्छेहरूले कर्णालीको जुन भयानक चित्र प्रस्तुत गर्थे, त्यो अहिले छैन। त्यसरी पुग्नेहरू कर्णालीको ‘रहस्य’ बाट आकर्षित हुन्थे। कुराकानी गर्दा हामी उपत्यकापछि सबैभन्दा धेरै सम्पदा भएको स्थान कर्णाली नदी वरिपरिको क्षेत्र हो भन्छौँ। तब मान्छेहरू सकारात्मक रूपले कर्णालीप्रति आकर्षित हुन थाल्छन्। कर्णालीको पहिचान निश्चय नै परिवर्तन भएको छ। मैले कुरा गरेका मान्छेहरू कर्णालीलाई हेर्ने दृष्टिकोण बदलिएको बताउँछन्। 

पाँच वर्षअघि हामीले देखाएको कर्णालीको चित्र र अहिले देखाउने चित्र पनि धेरै फरक छ। कर्णालीको पहिचान निश्चयय नै परिवर्तन हुँदै छ, भइरहेको छ। त्यो चित्र कर्णाली उत्सवमा हेर्न पाइन्छ।

(कर्णालीको सभ्यता र इतिहास अन्वेषणमा रुचि राख्ने माधव चौलागाईं कर्णाली उत्सवका आरम्भकर्तामध्येका एक हुन्। उनीसँगको कुराकानीमा आधारित।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .