नुवाकोटको तारुकाबाट सुरु भएको गोरु जुधाउने चलन विस्तार हुँदै पाँच वर्षअघि नै लमजुङ पुगिसकेको रहेछ। माघेसंक्रान्ति मनाउन घर जाँदा यसपटक थाहा भयो।
छिमेकी शिक्षक भाइ निश्चल ढकालले यो कुराको जानकारी गराएपछि उनकै मोटरसाइकलमा ‘लिफ्ट’ लिएर मध्यपहाडी राजमार्गमा पर्ने लमजुङको राइनास नगरपालिका–८ स्थित भेटघाटचोकमा हुन लागेको ‘गोरु जुधाइ’ प्रतिस्पर्धा हेर्न पुगेँ।
गोरु जुधाइका हरेक दृश्य रोचक थिए। कुनै गोरु मैदान छिर्नासाथ अर्काे गोरुलाई ‘च्यालेन्ज’ गर्न खुट्टा र सिङले मैदान खोस्रेर धुलो उडाउन थाल्थे।
यो ताउरमार हेर्दा प्रतिस्पर्धा त्यही गोरुले जित्छ जस्तो लाग्थ्यो। तर, प्रतिस्पर्धीको फेला परेपछि त्यसको ताउरमाउर एक मिनेट पनि टिक्न सक्दैनथ्यो र छेर्दै मैदानबाट बाहिरिन्थ्यो।
बडेमानको शरीरका आधारमा ‘यी गोरु चाहिँ खुबै जुध्लान्’ भन्ने अनुमान दर्शकहरू गर्थे। तर, अनुमानविपरीत मैदानमा छिरेका कतिपय गोरु भने जुध्नुको साटो मुख सुँघासुँघ गर्न थाल्थे, मानौँ– उनीहरू एकै हलका गोरु हुन्।
प्रतिस्पर्धामा टिक्न सक्दैनन् होलान् भनिएका साना कदका गोरुहरू भने दर्शकहरूलाई पूर्ण मनोरञ्जन हुनेगरी लामो समय मज्जासँग जुध्थे।
यस्तैमध्येको अपेक्षाकृत सानो कदको रातो रङको गोरुले ज्यान र जुरो दुवै बडेमानको कालो रङको गोरुलाई अन्तिम प्रतिस्पर्धामा हराएर आफ्ना मालिकलाई १५ हजार रूपियाँको पुरस्कार दिलाएको थियो।
मैदान छिरेपछि अधिकांश गोरुहरू सिङ र खुट्टाले जमिन कोतरेर फुइँ लडाउँथे। विजयी रातो गोरु भने यस्तो गर्दैनथ्यो। अरुजस्तो के के न हुँ भनेर भुइँ कोतर्दै, धुलो उडाउँदै फुइँ लडाउनु साटो मैदान छिर्नासाथ प्रतिस्पर्धी गोरुमाथि आक्रमण थालिहाल्थ्यो।
‘उखानै छ नि– जसले पहिले हान्यो, त्यसले जान्यो, मान्छेको लडाइँ जस्तै हो गोरु जुधाइ पनि!’ प्रतिस्पर्धा समाप्तिसँगै दर्शकमध्येका एक स्थानीयले अर्का स्थानीयसँग गरेको टिप्पणी मलाई रोचक र अर्थपूर्ण लाग्यो, ‘अखडामा छिरिसकेपछि आक्रमण पो गर्ने हो, फुइँ लडाएर बसेपछि कहाँ खेल जितिन्छ?’
गोरु जुधाइको जितहारपछिको यो टिप्पणी जति रोचक थियो, उत्तिकै रोचक त्यहाँ चलेको ‘बाघको बोसो’ र ‘सिङ चिलाउने गोरु’ सम्बन्धी प्रसङ्ग पनि थिए।
प्रतिस्पर्धा सुरु नहुँदै कुन र कसको गोरुले जित्ला भन्ने अनुमान एक घण्टाअघि सुरु भइसकेको थियो।
जुधाइको क्रममा गोरुलाई चोटपटक लाग्छ। एउटाले अर्काेलाई ठेल्दै लैजाँदा कान्लोबाट लडेर गोरुको खुट्टै भाँचिन पनि सक्छ। कति गोरु त सिङ फुक्लेर ठुटे बन्न पनि सक्छन्।
‘जुध्छन् यिनीहरू, सिङ भाँचिन्छ यिनीहरूकै, चोटपटक पनि यिनीहरूलाई नै लाग्छ, उस्तै परे ज्यान पनि जाला,’ अर्का स्थानीयले टिप्पणी गरे, ‘अर्काेको स्वार्थ (मनोरञ्जन) लागि ज्यानै जोखिममा पारेर जुध्न तम्सिने भएकाले नै यिनीहरूलाई गोरु भनिएको होला है!’
यही टिप्पणीको जवाफ दिने क्रममा अर्का स्थानीयले ‘सिङ चिलाउने गोरु’ को प्रसङ्ग निकाले।
उनको भनाइमा, धेरै जुध्ने गोरुको सिङ सधैँ चिलाइरहेको हुन्छ। अर्काे गोरुसँग जुधेपछि केही समयका लागि त्यो चिलाइ मर्छ।
अर्काेको अस्तित्व स्वीकार नगर्ने स्वभाव पनि जुधाहा स्वभावका गोरुहरूको हुन्छ रे!
त्यहीकारण जुध्ने प्रतिस्पर्धी आवश्यक परे पनि जितपछि लखेट्न थालेको हो रे!
प्रतिस्पर्धामा १६ वटा गोरु सहभागी थिए। प्रतिस्पर्धा जब फाइनलमा प्रवेश गर्यो, त्यसैबेला अर्का एक दर्शकले ‘बाघको बोसो’ को प्रसङ्ग निकाले।
हुन त उनले जित्छ भनेको कालो रङको र ठूलो जुरो भएको गोरु अन्तिम प्रतिस्पर्धामा पराजित भयो। आफूले दाबी गरेको गोरुले किन जित्छ भन्ने सन्दर्भमा उनले ‘बाघको बोसो’ को सन्दर्भ उल्लेख गरेका थिए।
‘यो गोरुको बल बाघको बोसो दलेजस्तो छ,’ उनले भने, ‘यही कारणले यसले अरुलाई जित्दै आयो, अब अन्तिम जुधाइमा पनि यसैले जित्छ।’
‘के हो बाघको बोसो दलेको गोरु भनेको?’ अर्का व्यक्तिले जिज्ञासा राखे।
‘पहिलेपहिले जुधाउन लगिने गोरुलाई एक वर्ष अघिदेखि नै बाघको बोसो दलेर बलियो बनाइन्थ्यो रे!’ उनले जवाफ फर्काए, ‘जिउ र सिङमा बाघको बोसो दलेको छ भने त्यो गोरु बाघजस्तै बलियो हुन्छ रे! जुधाइ त्यसैले जित्छ रे!’
गोरु जुधाइका दृश्यहरू मेरो क्यामरामा कैद छन्, ‘सिङ चिलाएको’ र ‘बाघको बोसो दलेको’ गोरुका रोचक प्रसङ्गहरू स्मृतिमा।
निकै रोचक लागेकाले यी दुई प्रसङ्ग एकाध दिन दिमागमा घुमिरहे। त्यसैबेला ‘वामदेव गौतम एमालेमा जाने भए’ भन्ने चर्चाले एकाएक कम्युनिस्ट राजनीति गर्माउन थाल्यो।
‘सिङ चिलाएको’ र ‘बाघको बोसो दलेको’ गोरुसँगै मेरो दिमागमा ‘वामदेव गौतमले एमाले प्रवेश गर्ने’ भन्ने प्रसङ्ग पनि घुम्न थाल्यो।
कहाँ ‘सिङ चिलाएको’ र ‘बाघको बोसो दलेको’ गोरुको प्रसङ्ग, अनि कहाँ वामदेव गौतम एमाले प्रवेश गर्ने सन्दर्भ! बिल्कुल फरक यी दुई विषय दिमागमा किन घुमिरहेका होलान् भन्ने कुराले आफैलाई आश्चर्य पनि लाग्यो।
गोरु जुधाइ हेरेको दुई हप्ता र वामदेवले एमाले प्रवेश गर्ने घोषणा गरेको पनि एक हप्ता बित्न लागेको छ। यसबीचमा म के निष्कर्षमा पुगेको छु भने विषय वा प्रसङ्गले फरक–फरक जस्तो लागे पनि यी तीन सन्दर्भ एक अर्कासँग अन्तर–सम्बन्धित रहेछन्।
पहिले ‘वामदेवको एमाले प्रवेश’ र ‘बाघको बोसो’ बीचको सम्बन्ध हेरौँ।
थाहा छैन, ‘बाघको बोसो दलेको गोरु बलियो हुन्छ’ भन्ने भनाइ वामदेवले यसअघि सुनेका छन् वा छैनन्!
तर वामदेव आफूलाई ‘बाघको बोसो’भन्दा कम भने ठान्दैनन्। आफूलाई जसले सहवरण गर्छ, त्यो आफसेआफ बाघको बोसो दलेको गोरुजस्तै बलियो हुन्छ भन्ने उनको बुझाइ देखिन्छ।
हो, १० वर्षअघिको एमालेको आन्तरिक समीकरण (उनको साथ पाएर केपी शर्मा ओली २०७०–०७१ मा एमाले संसदीय दलको नेता र अध्यक्ष बन्न सफल भएका थिए, झलनाथ खनाल र माधव नेपाल गौतमको साथ नपाउँदा पराजित हुनु परेको थियो) मा उनी निर्णायक थिए। उनको साथ पाउने नेता एमालेमा बलियो हुन्थ्यो।
गौतम त्यो स्थितिमा अहिले छैनन्। तर, अहिले पनि आफू जहाँ गयो, त्यो पार्टी वा गुट बलियो हुन्छ भन्ने भ्रम चाहिँ अझै छ।
उनले बनाएको ‘नेकपा एकता अभियान’ साढे दुई वर्षअघि पार्टी बनाउने घोषणाका क्रममा उनले गरेको सार्वजनिक दाबीले यो कुरा पुष्टि गर्छ।
‘आज पार्टी शिलान्यास (मात्र) गरेको छु, हेर्दै जानुहोला– उद्घाटन गर्ने बेलामा नेपाल नै चकित हुने स्थिति सिर्जना हुनेछ,’ १४ असार २०७९ मा पार्टी घोषणा गर्न रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा गौतमले भनेका थिए, ‘पार्टी घोषणा गरेपछि लाखौँ–लाख मानिसहरू यो पार्टीमा गोलबद्ध हुनेछन्।’
रोचक के भने आफ्नो नेतृत्वमा हुने पार्टीको शक्तिले पूरै देशलाई चकित पार्ने घोषणा गरेको एक वर्ष बित्दा–नबित्दै गौतमले एमालेको ढोका ढक्ढक्याउन थालिसकेका थिए।
त्यसैक्रममा गौतमले ३ असार २०८० मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरे। त्यो भेटवार्तापछि गौतमले सञ्चारकर्मीहरूसँग भनेका थिए, ‘हामी एमाले भइसकेपछि आगामी चुनावमा एमालेको पोल्टामा ६० लाख भोट पार्नेगरी काम गर्ने हो।’
आफूहरू पहिल्यै एमालेमा जान खोजे पनि आफ्ना साथीहरूको व्यवस्थापनमा कुरा नमिल्दा पार्टी शक्तिशाली बनाउने अवसर एमालेले गुमाइरहेको आशय पनि उनको थियो।
२०७९ को आम चुनावमा एमालेले २८ लाख मत पाएको थियो। एमाले प्रवेशपछि आफ्नो खटाइका कारण एमालेको भोट बढेर ६० लाख पुग्ने दाबी गौतमले गरेका थिए।
यसरी एमाले जाने बाटो कुरिरहेका गौतम र अध्यक्ष ओलीबीच अघिल्लो महिना एकाएक सार्वजनिक आरोप–प्रत्यारोप चल्यो। त्यो स्थिति २८ असारमा एमाले सम्बद्ध आदिवासी जनजाति महिलाहरूको प्रथम भेलामा गौतमबारे ओलीले गरेको एउटा टिप्पणीले निम्त्याएको थियो।
कार्यक्रममा सम्बोधाका क्रममा ओलीले आर्टिफिसियल इन्टिलिजेन्सको प्रयोग गरेर दासढुङ्गा घटनाका सन्दर्भमा आफ्नो नक्कली भिडिओ बनाइएको र त्यही नक्कली भिडिओका आधारमा गौतमले फोन गरेर प्रधानमन्त्रीबाट राजीनामा मागेको भन्दै गुनासो गरेका थिए।
ओलीको दाबी थियो, ‘खासमा गौतम फोनमा मसँग बोलिरहेका थिए। तर, मलाई नचिनेर उनीसँग फोनमा बोल्ने त्यो व्यक्ति राजेश बज्राचार्य (ओलीका स्वकीय सचिव) हो भन्ने ठानेर कुरा गरिरहेका थिए।
सार्वजनिक कार्यक्रममै आफूबारे यस्तो टिप्पणी गरेपछि गौतम औधी रिसाए। विज्ञप्ति नै जारी गरेर उनले ओलीले आफ्नो बदनाम गर्न खोजेको आरोप लगाए। साथै, कुराकानीको त्यो अडिओ नेपाल टेलिकमबाट झिकाएर सार्वजनिक गर्न चुनौतीसमेत दिए।
गौतमको एमाले प्रवेश यो सार्वजनिक आरोप–प्रत्यारोपले फेरि तुहाइदियो।
खासमा राष्ट्रिय सभाको सदस्य पदबाहेक थप महत्त्व हुन्थ्यो भने गतसाल नै ओलीले गौतमलाई एमालेमा भित्र्याइसकेका हुने थिए।
तर, सत्तामा नरहेकाले ओलीलाई उतिबेला गौतमको महत्त्व थिएन।
भीम रावलको एमालेमै उपस्थिति पनि गौतम ओलीका लागि ‘महत्त्वहीन’ हुनुको अर्काे कारण थियो।
हो, यहीँनिर राइनासकोटको ‘गोरु जुधाइ’ प्रतिस्पर्धामा उठेको ‘सिङ चिलाएको गोरु’ को प्रसङ्ग सान्दर्भिक हुन्छ।
जसरी गोरुले सिङको चिलाइ मार्न अर्काे गोरुसँग जुध्नुपर्छ, रहनुपर्छ, ओलीको मनपनि त्यसैगरी चिलाउँदो हो, कुनै न कुनै एमालेसँग जुध्न मन लाग्दो हो।
एमाले विभाजनअघि यसरी जुध्न माधव नेपाल थिए, झलनाथ खनाल थिए।
एकीकृत समाजवादी गठन गरेर नेपाल–खनालहरू एमालेबाट बाहिरिए। तर पनि जुध्ने पात्रहरूको अभाव उनलाई भएन। घनश्याम भूषाल, भीम रावलहरू एमालेमै थिए।
घनश्याम भूषाल दुई वर्षअघि नै एमालेबाट बाहिरिएका हुन्। भीम रावल एमालेमा छैनन्, १० पुसमा ओलीले उनलाई निष्कासन गरे।
गौतम कस्ता छन्, त्यो ओलीलाई थाहा नभएको होइन। उनको एमाले प्रवेशपछि सिर्जना हुने समस्याको अनुमान पनि उनले पक्कै नगरेका छैनन्।
तर पनि गौतमलाई एमालेमा भित्र्याउन ओली इच्छुक छन्।
यसर्थ कि उनलाई मनको चिलाइ मार्नेगरी जुध्ने नयाँ पात्र चाहिएको छ। वामदेवले सिर्जना गर्नसक्ने समस्या पछिको कुरा हो, भीम रावलको निष्कासनपछि मनको चिलाइ मार्नेगरी जुध्न नपाएको एक महिना बित्न लागिसकेको छ।
Shares

प्रतिक्रिया