आज ८ मार्च। तपाईँ सबैमा ८ मार्चको हार्दिक शुभकामना!
भर्खरै चुनाव सकिएको छ। महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव लडिरहँदा र घरदैलोसम्म पुगेर अन्तरक्रिया र भेटघाट गरिरहँदा महिला केन्द्रित भएर सोधिएका प्रश्नहरूले अहिले पनि उत्तर खोजिरहेको छ।
मधेश क्षेत्रमा केही महिलाहरूले जातीय र सामाजिक आधारमा हुने विभेद भोग्नु परेको छ। त्यो विभेदबाट महिलाहरूले कहिले मुक्ति पाउँछन्? समाजमा रहेको जात–पात, समुदाय र सामाजिक स्तरको भेदभावका कारण महिलाहरू तेहोरो उत्पीडनमा छन्। त्यो उत्पीडन कसरी अन्त्य हुन्छ?
धेरै किशोरीहरूको १८ वर्षभन्दा अघि नै विवाह गरिन्छ। जसले उनीहरूको शिक्षा रोक्छ र कम उमेरमा गर्भधारणको जोखिम बढाउँछ।
कम उमेरमा गर्भधारणले आमा र शिशुको स्वास्थ्यमा समस्या ल्याउन सक्छ। अहिलेसम्म किन यसलाई रोक्न सक्नुभएन? यस्ता धेरै प्रश्नहरू म समक्ष आए।
मधेशमा महिलाहरूको साक्षरता दर राष्ट्रिय औसतभन्दा कम छ। धेरै परिवारमा छोराको शिक्षालाई प्राथमिकता दिइन्छ। धेरै बालिकाहरू माध्यमिक तहपछि विद्यालय छोड्न बाध्य हुन्छन्। यसलाई बदल्ने ठोस योजना के छ?
मधेशका महिलाहरूले अझै पनि थुप्रै खालका हिंसा भोगिरहेका छन्। घरेलु हिंसा, दाइजोका कारण निम्तिएको हिंसा, यौन हिंसा तथा मानव बेचबिखन, बहुविवाह र बालविवाह आदि।
मधेशी समाजमा दाइजो प्रथा अझै गहिरो रूपमा जरा गाडेर बसेको छ। दाइजोको कारण धेरै परिवारले आर्थिक दबाब झेल्नुपरेको छ। अपेक्षित दाइजो नदिँदा विवाहपछि महिलामाथि हिंसाका घटना भइरहेका छन्। के दाइजो कुप्रथा अन्त गर्ने नसक्ने रोग हो?
धेरै महिलाले घर बाहिर जान वा निर्णय लिन परिवारका पुरुष सदस्यको अनुमति लिनुपर्ने अवस्था छ । यसले महिलाको स्वतन्त्रता र सामाजिक सहभागिता सीमित बनाएकाे छ। पर्दा प्रथा कहिलेसम्म रहन्छ?
अझै पनि धेरै महिलालाई यौन तथा प्रजनन स्वास्थ्यबारे पर्याप्त जानकारी छैन। सामाजिक लाज वा डरका कारण डाक्टरसँग खुलेर समस्या भन्न सक्दैनन्।
यसले रक्तअल्पता, पाठेघर झर्ने समस्या लगायत अन्य स्वास्थ्य समस्या बढाउँछ। मधेशको महिलाहरूको स्वास्थ्य समस्या सुधार गर्ने के कार्यक्रम छ?
मधेशमा धेरै महिलाहरू आर्थिक रूपमा पुरुषमा निर्भर छन्। महिलाको रोजगार अवसर सीमित छ।भूमि, बैंक सेवा र सीप तालिममा पहुँच कम भएकाले महिलाको आर्थिक सशक्तिकरण कमजोर हुन्छ। शिप सिकाउने तपाईँहरूसँग कार्यक्रम के छ?
नागरिकका घर घरमा पुग्दा, हजारौं महिलाहरूसँग भेट्दा मैले यस्ता धेरै प्रश्नहरू सुनेँ। उहाँहरूको गुनासो र असन्तुष्टिहरू सुनेँ। र, यी विषयले मलाई गम्भीर बनाएको छ।
आज ८, ९, १० कक्षामै पढिरहेका बालबालिकाले वैदेशिक रोजगारीलाई नै भविष्यको एकमात्र बाटो ठान्न थालेका छन्। सन्तानको भविष्यप्रति अभिभावकको चिन्ता स्वाभाविक हो।
बाध्यताले विदेश जानुपर्ने अवस्था यथार्थ हुन सक्छ, नयाँ नयाँ सिकाइको लागि जाने र यहीँ केही गर्ने अर्को कुरा हो, साना साना बालबालिको पनि “नेपालमै सकिन्छ” भन्ने आत्मविश्वास जगाउन सकिँदैन?
ज्ञानलाई सीपसँग, सीपलाई श्रमसँग जोड्ने शिक्षा प्रणाली निर्माण गर्नुपर्छ।
कक्षा पास हुँदासम्म प्रत्येक विद्यार्थी कम्तीमा एउटा व्यावहारिक सीपसहित अघि बढोस्। आधुनिक कृषि, पशुपालन, साना तथा मझौला उद्यम, प्रविधिमैत्री व्यवसाय जस्ता क्षेत्रमा युवालाई मार्गदर्शन, सहकार्य र आवश्यक नीतिगत सुधारमार्फत सीपमैत्री वातावरण सिर्जना गर्ने स्पष्ट योजना बनाउनुपर्छ।
शिक्षा केवल प्रमाणपत्रका लागि होइन, जीवन निर्माणका लागि हुनुपर्छ।
हाम्रो क्षेत्रमा समस्या छन्, तर सम्भावनाको ढोका झन् ठूलो छ। युवामा आँट छ, ऊर्जा छ, केही गरेर देखाउने चाहना छ। सुशासन जीवनको आदर्श हुनुपर्छ।
घरदैलोको भेटघाटमा जब आमा–दिदीबहिनीहरूले आँखाभरि चिन्ता र मनभरि आशा बोकेर आफ्ना कुरा राख्नुभएको छ, मैले महसुस गरेँकै कुराहरू छन्। उहाँहरूले समाजको आत्माको कुरा गर्नु भएको छ।
हिजो जस्तो आत्मीयता, सद्भाव र संस्कृतिको सुगन्ध आज विस्तारै हराउँदै गएको छ, किन? परिवारभित्र आमाबुबा र छोराछोरीबीच संवाद कमजोर बन्दै जानु, कुलत र दुर्व्यसन बढ्दै जानु यी विषय साँच्चिकै गम्भीर छन्।
धेरै दलित महिलाहरूले नागरिकता छैन भन्नुभयो। नागरिकता र कानुनी समस्या जटिल छ। केही अवस्थामा नागरिकता प्राप्त गर्न कठिनाइ हुन्छ।
विशेषगरी विवाहका कारणले पनि नागरिकताको समस्या देखिन्छ। नागरिकता नहुँदा शिक्षा, सम्पत्ति अधिकार र सरकारी सेवामा पहुँच कठिन हुन्छ।
यस्ता धेरै समस्यालाई प्रश्नको रूपमा मैले सामना गरेको थिएँ।
राजनीतिक व्यवस्था बदल्न हामीले जीवन लगायौँ। तर, जनताको अवस्था परिवर्तन भएको थिएन। चुनावले परिवर्तन खोज्यो, परिवर्तन रोज्यो। नयाँ निर्वाचितले यी विषयलाई सम्बोधन गर्नुहुनेछ भन्ने आशा छ । नयाँ सरकारले प्राथमिकता सहित यी मुद्दाहरूलाई सम्बोधन गर्नेछ भन्ने विश्वास लिएको छु।
म पनि आफ्नो ठाउँमा निरन्तर लाग्नेछु। यो नयाँ तरिकाले सुरु भएको संवाद अब रोकिने छैन।
तपाईंहरू ढुक्क हुनुहोस् संवाद निरन्तर जारी रहनेछ। सन्तानको भविष्य सुरक्षित गर्न र युवाको सम्भावनालाई उजागर गर्न सबै लाग्नुपर्छ। आठ मार्चको फेरि पनि शुभकामना!
Shares

प्रतिक्रिया