ब्लग


नेपालभन्दा फरक बालीको हिन्दु संसार : पूजा, प्रकृति र परम्पराको अद्भुत संगम

नेपालभन्दा फरक बालीको हिन्दु संसार : पूजा, प्रकृति र परम्पराको अद्भुत संगम

राजु नेपाल
बैशाख १२, २०८३ शनिबार १९:१५, काठमाडौँ

नयाँ वर्ष २०८३ को आगमनसँगै संसारकै धेरै मुसलमान धर्मावलम्बी रहेको देश इन्डोनेसियाको हिन्दु बाहुल्य टापु बाली पुग्ने र केही मन्दिर दर्शनसँगै त्यहाँका थोरै धार्मिक साँस्कृतिक पक्ष बुझ्ने मौका मिल्यो। इन्डोनेसियाको बाली टापु दक्षिण–पूर्व एसियामा रहेको एक अद्वितीय सांस्कृतिक भूगोल हो, जहाँ हिन्दु धर्मले स्थानीय परम्परा, प्रकृति र दैनिक जीवनसँग गहिरो रूपमा घुलमिल भएर विशिष्ट स्वरूप ग्रहण गरेको छ। 

इन्डोनेसिया झण्डै १७ हजार समुद्री टापु भएको र देशको विशाल २९ करोड जनसंख्यामध्ये ८७ प्रतिशत मुसलमान धर्मावलम्बी भएको देश हो। यहाँ हिन्दु धर्मावलम्बीहरूको जनसंख्या करिब १.७ प्रतिशत मात्र छ। करीब ५० लाख जनसंख्या भएको बाली टापुमा भने अधिकांश मानिस हिन्दु धर्म मान्दछन्। 

नेपाल जस्तो हिमाली हिन्दु सभ्यताबाट बाली पुग्दा, त्यहाँको पूजा विधि, देवताप्रति आस्था व्यक्त गर्ने तरिका र मन्दिर संरचनाले स्पष्ट रूपमा फरक अनुभूति दिन्छ। फरक देखिए पनि यसको मूल दर्शन भने धर्म, कर्म र प्रकृतिप्रतिको सम्मान भन्ने हाम्रो आफ्नै परम्परासँग जोडिएको पाइन्छ।

बालीमा प्रचलित हिन्दु धर्म वेद–पुराणमा आधारित भए पनि स्थानीय सांस्कृतिक अभ्याससँग मिश्रित छ। यहाँका मानिसहरू भगवानको रूपमा ब्रम्हा, विष्णु र शिवको आराधना गर्दछन् र तीन कुरामा विश्वास गर्दछन्। पहिलो मानिसको देवतासँगको सम्बन्ध, दोस्रो मानिस–मानिसबीचको सम्बन्ध र तेस्रो  मानिसको प्रकृतिसँगको सम्बन्ध। यो दर्शनले बालीको दैनिक पूजा, सामाजिक व्यवहार र वातावरणीय सन्तुलनलाई निर्देशित गर्छ।

दैनिक पूजा, चनङ सारी वा भोग
बालीमा सबैभन्दा आकर्षक र फरक लाग्ने कुरा हो, दैनिक साना–साना पूजा अर्पणहरू, यसलाई चनङ भनिन्छ। यी अर्पणहरू सामान्यतया सानो बाँस वा पातको टोकरीमा राखिन्छन्। यसमा चार दिशाको प्रतीक फूलहरू, चामल, फलफूल, धूप, बिस्कुट, मिठाई, चुरोट, कफी, पानी आदि राखिन्छ। यही भोग वा बलिको नाम अपभ्रंश हुँदै त्यो टापुको नाम बाली रहन गएको पनि मानिन्छ। 

बालीको हिन्दु संस्कृतिमा अत्यन्त महत्वपूर्ण स्थान ओगटेको चनङ सारी दैनिक जीवनको अभिन्न आध्यात्मिक अभ्यास हो, जसले श्रद्धा, कृतज्ञता र सन्तुलनको गहिरो सन्देश दिन्छ। चनङ भन्नाले सानो पातबाट बनाइएको थाल वा टोकरी जनाउँछ भने सारी को अर्थ सार वा मूल तत्व हो। यी अर्पणहरू घरको ढोकामा, सडक किनारमा, पसलमा, गाडीको अगाडि, मन्दिरमा—जताततै देखिन्छन्। यो प्रथा नेपालमा गरिने दैनिक पूजा भन्दा निकै फरक, खुला र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको छ। चनङ सारीलाई जीवनको सार देवताप्रतिको कृतज्ञता र प्रकृतिसँगको सहअस्तित्वको प्रतीकका रूपमा बुझिन्छ।

प्रायः नरिवल वा ताडको पातबाट बनाइने सानो चौकोर टोकरीमा विभिन्न सामग्रीहरू राखेर बनाइने यो अर्पण बालीका हरेक घर, पसल, सडक र मन्दिरमा दिनहुँ देख्न सकिन्छ। यसले बाली समाजमा धर्म केवल अनुष्ठान होइन, दैनिक जीवनशैलीको रूपमा स्थापित भएको स्पष्ट पार्छ।

चनङ सारीका प्रत्येक अवयवको आफ्नै विशिष्ट अर्थ हुन्छ। यसको आधार स्वरूप रहेको पातको टोकरीले पृथ्वी र प्रकृतिको प्रतिनिधित्व गर्छ, जसले सम्पूर्ण जीवनलाई धारण गरेको छ। टोकरीभित्र राखिने चामल जीवनको आधार र समृद्धिको प्रतीक हो। यसले अन्नप्रति कृतज्ञता र जीवन निर्वाहको स्रोतप्रतिको सम्मान व्यक्त गर्छ। फूलहरू चनङ सारीको सबैभन्दा महत्वपूर्ण भाग मानिन्छन्, जहाँ विभिन्न रङका फूलहरू चारै दिशामा सजाइन्छन्। सेतो फूल पूर्व दिशातर्फ राखिन्छ जुन शिवको प्रतीक मानिन्छ, रातो फूल दक्षिणतर्फ राखी ब्रम्हाको प्रतीक मानिन्छ, पहेँलो फूल पश्चिमतर्फ राखिएको हुन्छ, जसले महादेवको प्रतिनिधित्व गर्छ भने निलो वा हरियो फूल उत्तरतर्फ राखिन्छ जसले विष्णुको प्रतिनिधित्व गर्दछ। 

हामीकहाँ जस्तै यहाँपनि शिव र महादेवलाई अलग मान्ने चलन छ। यी फूलहरूको समष्टिले ब्रह्माण्डीय सन्तुलन र चार दिशामा व्याप्त दैवी शक्तिको प्रतीकात्मक अभिव्यक्ति दिन्छ। बीच भागमा राखिने मिश्रित फूलहरू परम सत्य वा सर्वोच्च ईश्वरलाई अर्पण गरिन्छ। 

चनङ सारीमा प्रयोग हुने धूप अर्को महत्वपूर्ण तत्व हो, जसको धुवाँलाई प्रार्थना र श्रद्धा आकाशतर्फ पुग्ने माध्यमका रूपमा बुझिन्छ। धूपले वातावरणलाई पवित्र बनाउने मात्र होइन, मानव र देवताबीचको आध्यात्मिक सम्बन्धलाई सुदृढ बनाउने विश्वास गरिन्छ। पवित्र पानी, जसलाई तीर्थ भनिन्छ, चनङ सारीको अर्को अभिन्न अङ्ग हो, जसलाई पुजारीले मन्त्रद्वारा शुद्ध पारेर प्रयोग गर्छन्। यसले शरीर र आत्माको शुद्धीकरणको प्रतीकका रूपमा काम गर्छ।

त्यस्तै, फलफूल, मिठाई वा कहिलेकाहीँ बिस्कुटजस्ता सामग्रीहरू पनि चनङ सारीमा राखिन्छन्, जसले दैनिक जीवनमा प्राप्त सुख–सुविधा र समृद्धिप्रति देवताप्रति कृतज्ञता प्रकट गर्छ। कतिपय अवस्थामा सानो सिक्का वा पैसा पनि राखिन्छ, जसले भौतिक संसार र आर्थिक जीवनसमेत दैवी कृपाबाट सञ्चालित भएको संकेत गर्छ। कफी र चुरोट जस्ता वस्तु राख्नुको कारण हामी आफू जे उपभोग गर्छौं, त्यही भगवानलाई अर्पण गर्दर्छौं भन्नु हो। यसरी, चनङ सारी कुनै साधारण पूजा सामग्री मात्र नभई सम्पूर्ण ब्रह्माण्डको सन्तुलन, कृतज्ञता र सहअस्तित्वको सजीव प्रतीक हो। बालीका मानिसहरूले यसलाई दिनहुँ अर्पण गरेर देवता, मानव र प्रकृतिबीचको सम्बन्धलाई सन्तुलित राख्ने प्रयास गर्छन्।

पूजा विधि : सरल तर गहिरो
बालीको पूजा विधि सरल तर अत्यन्त अर्थपूर्ण हुन्छ। यहाँ पूजाका मुख्य चार चरणहरू रहेका छन्। पहिलो हात जोडेर ध्यान गर्ने, दोस्रो धूप बाल्ने, तेस्रो फूल अर्पण गर्ने र चौथो पवित्र पानी व तीर्थ छर्कने। यहाँ मन्दिर वा मूर्तिमा अबिर, केसरी, जौ, तिल चढाइन्न। यसो हेर्दा दैनिक पूजा नगर्नाले मूर्तिहरू पुराना जस्ता लाग्छन्। ध्यान गर्दा सबैको कल्याण होस् भनी प्रार्थना स्वरूपमा गरिन्छ। 

मन्दिर संरचना : खुला आकाशमुनि देवालय
बालीका मन्दिरहरूलाई पुरा भनिन्छ। नेपालका जस्तै बन्द संरचनाभन्दा फरक यी खुला आकाशमुनि बनाइएका हुन्छन्। मन्दिर तीन भागमा विभाजित हुन्छ। पहिलो, बाहिरी आँगन, दोस्रो मध्य भाग र तेस्रो मुख्य पवित्र क्षेत्र। सर्वसाधारणलाई तेस्रो भागमा जान निषेध हुनसक्छ। जान दिए पनि लगाइएको कपडा समेत शुद्ध र पूरा शरीर ढाक्ने हुनुपर्दछ। 

मन्दिरहरू एउटैमा ब्रम्हा, विष्णु र शिवको आराधना हुन्छ। जलदेवताको रूपमा वरुणको प्रार्थना गरिन्छ। स्थानीय विश्वास अनुसार, यहाँ समुद्री सर्पहरूले मन्दिरको रक्षा गर्छन्। यहाँका धार्मिक स्थल प्रकृति र आध्यात्मिकताको अद्भुत संगम समेत हुन्। यहाँ मन्दिरका बाहिरी ढोकाहरू अद्भुत देखिन्छन्। ढोकाहरू दुईतिर कलात्मक बनाइएका हुन्छन् र ती दुई माथिबाट जोडिएका हुँदैनन्। 

गरुड : शक्ति, साहस र राष्ट्रिय पहिचान
गरुड हिन्दु धर्ममा भगवान विष्णुको वाहन हो। बालीमा र अझ पूरै इन्डोनेसियामा गरुडलाई विशेष सम्मान दिइन्छ। इन्डोनेसियाको राष्ट्रिय प्रतीक गरुड हो, जसले गरुडलाई राष्ट्रिय स्तरमा पनि प्रतिष्ठित बनाएको छ। बालीमा गरुडका विशेष पक्षहरू शक्ति र स्वतन्त्रताको प्रतीक, विष्णु भक्तिको प्रतिनिधि र धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा प्रयोग भएको पाइन्छ। सन्सारकै अग्लो भगवान विष्णु र गरुडको मूर्तिले पूरै बालीलाई शोभायमान बनाएको छ। 

धर्म एक तरिका फरक
बालीमा हिन्दु धर्मका सबै देवीदेवतालाई पुजिन्छ। राम–सीतालाई आदर्शको रूपमा लिइन्छ। रामायण र सीताको जीवनमा आधारित विभिन्न नाटकहरू देखाइन्छन् तर सीताको नाम सीन्ता भनिन्छ। बालीमा सडकमा राखिएका वा जताततै देखिने मूर्तिहरूलाई लुगा लगाइएको पाइन्छ। हाम्रा घरमा तुलसीको मोठ भएको जस्तै बालीका हरेक हिन्दुका घर र व्यवसायमा मोठ हुन्छ, जहाँ दिनको तीन पटक चनङ राखिन्छ र प्रार्थना गरिन्छ। 

यहाँ नेपालमा जस्तो ठूलो पूजा, बलि वा विस्तृत विधि कम हुन्छ; बरु साना तर नियमित अर्पणहरू बढी हुन्छन्। यहाँ पूजा दैनिक जीवनसँग जोडिएको हुन्छ र प्रकृतिसँग जोडिएको हुन्छ। बालीमा धर्म मन्दिरमा सीमित छैन; यो जीवनको प्रत्येक पक्षमा छ। यहाँका सबै गतिविधिहरू धार्मिक विश्वाससँग जोडिएका हुन्छन्। बालीको हिन्दु धर्म अभ्यास हाम्रा लागि पनि एक महत्वपूर्ण सिकाइको स्रोत हुन सक्छ। यहाँ धर्म केवल कर्मकाण्ड होइन, जीवनशैली हो। नेपालमा जहाँ धर्म कहिलेकाहीँ जटिल विधिमा सीमित हुन्छ, तर बालीले सरलता, नियमितता र प्रकृतिसँगको समन्वयलाई प्राथमिकता दिएको देखिन्छ।

हिन्दु धर्मको मूल भावना, सन्तुलन, श्रद्धा र सहअस्तित्व नेपाल र बाली दुवै ठाउँमा समान छ, तर यसको अभिव्यक्ति फरक छ। यही विविधता नै हिन्दु सभ्यताको सबैभन्दा ठूलो शक्ति हो। बालीको हिन्दु धर्म मान्ने तरिका देखेर हाम्रो सनातन धर्मले मानेको ‘सामानभन्दा श्रद्धा ठूलो, विधिभन्दा भक्ति ठूलो’ भन्ने भनाइ चरितार्थ हुन्छ। 

र यो पनि,
बालिको मध्य बजारमा रहेको कृष्ण नामको सुपरमार्केटको एउटा कुनामा मुसलमान धर्मावलम्बीहरूको प्रार्थना कक्ष थियो र त्यो कक्ष जाने ढोकामा वंशी हातमा लिएका भगवान् श्रीकृष्णको पूर्णकदको श्रीविग्रह रहेको थियो। यो भन्दा राम्रो धार्मिक सद्भाव के होला र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad