ad ad

अपराध


गर्भवती प्रेमिकाको हत्या गरेर बाबुलाई भने : तपाईंकी छोरी हराइन्, म खोज्दै छु

दुई वर्षपछि खुल्यो रहस्य, गर्भपतन गराउन नमान्दा हत्या
गर्भवती प्रेमिकाको हत्या गरेर बाबुलाई भने : तपाईंकी छोरी हराइन्, म खोज्दै छु

उजिर कार्की
भदौ १७, २०७९ शुक्रबार २०:५२, काठमाडौँ

रुपन्देहीमा एक युवकले गर्भवती प्रेमिकाको हत्या गरी दुई वर्षसम्म कानुनको नजरबाट लुकेको खुलासा भएको छ। दुई वर्षपहिले सैनामैना नगरपालिका ११ शीतलापुरको शान्ति सामुदायिक वनमा मृत भेटिएकी युवतीको हालै सनाखत भएको हो। उनको हत्या प्रेमीले नै गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। 

हत्याको अभियोगमा कपिलवस्तुको शिवराज नगरपालिका ७ का ३६ वर्षीय काशीराम मुराउलाई प्रहरीले पक्राउ गरेको छ। उनले आफ्नी प्रेमिका ३४ वर्षीया कुमारी अर्यालको हत्या गरेको प्रहरीले जनाएको छ। कुमारी विवाहित हुन्। उनका श्रीमान् र दुई छोरी भए पनि प्रेमी भनिएका काशीरामको गर्भसमेत रहेको खुलेको छ। गर्भपतन गर्न नमान्दा काशीरामले हत्या गरेको प्रहरीको दाबी छ। तर हत्या भएको दुई वर्षसम्म पनि शवको सनाखत हुन नसक्दा हत्यारा पत्ता लाग्न सकेको थिएन। 

दुई वर्षसम्म लुक्यो घटना 
मिति २०७७ माघ १० गते दिउँसोको फायरलाइन जंगलमा घाँस काट्न गएका  स्थानीय व्यक्तिले एक गर्भवती महिलाको शव फेला पारेका थिए। शव देख्नेबित्तिकै उनीहरुले इलाका प्रहरी कार्यालय सालझण्डीमा खबर गरे।

तत्काल घटनास्थल पुगेको प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र पँहेलो स्वेटरले घाँटी कसी रुखको फेँदमा बाँधी हत्या गरिएको अवस्थामा फेला पार्यो। अनुहारमा किरा परिसकेको अवस्थाको बेवारिसे महिलाको शवको घटनास्थल र लाशजाँच मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल पठायो। 

ती महिला को हुन्, ठेगाना कहाँ हो, केही पत्ता लागेन। प्रहरीले पत्ता लगाउन प्रयास गर्यो। तर सनाखत नै हुन नसकेपछि ज्यान मुद्दाको फाइल थन्क्याएको थियो। 

इलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी पुगेपछि पुराना घटनाका मुद्दाहरु हेर्छन्। त्यो मुद्दा पनि उनको नजरमा पर्छ। 

त्यसपछि उनले लुम्बिनी प्रदेशभरका जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराएका र हालसम्म फेला नपरेका व्यक्तिहरुको विवरण माग गरे। हत्या गरेकी महिलाको सम्बन्धमा कुनै पनि उजुरी फेला पर्दैन। 

खोजतलासको लागि निवेदन नै फेला नपरेपछि प्रहरीले ती महिलाको हुलिया सार्वजनिक गर्छ। शवको फोटो, उनले लगाएको कपडा, घडी र माला लिई स्थलगत रुपमै खोज्न थाल्छ प्रहरी। तर रुपन्देही जिल्लाभर केही पनि पत्ता लाग्दैन। 

कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमान्डमा प्रहरी टोली नै खटिन्छ। त्यही क्रममा गत साउन महिनामा ती महिला गुल्मीको अर्खवाङ २ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्छ।

त्यसपछि प्रहरी ती महिलाका बुबा ७० वर्षीय भक्तिराम अर्याललाई गुल्मीबाट झिकाएर लासको सनाखत गराउँछ। भक्तिराम अर्यालले हातमा भएको टाटु र घडीको आधारमा आफ्नी छोरी भएको पत्तो पाएका थिए। 

उनले आफ्नी श्रीमतीलाई किनिदिएको घडी चिनोको रुपमा छोरीलाई दिएको, उनले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरी भएको सनाखत गरेका थिए।

भक्तिरामका अनुसार बसन्ती १५÷१६ वर्षको उमेरमै आफैँ बिहे गरेर गएकी थिइन्। बिहे गरेर बुटबलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर कपिलवस्तु शिवराज ७ का काशीराम मुराउसँग भेट भएको थियो। उनी मिस्त्री काम गर्ने श्रीमान भोला लोहारसँग दुई छोरीको साथमा बसिरहेकी थिइन्।

काशीराम मुराउ ३ छोरी र एक छोराका बाबु हुन्। उनकी श्रीमती पनि घरमै थिइन्। बसन्तीसँगको प्रेममा परेका लोडर ड्राइभर काशीराम र बसन्तीबीच त्यही क्रममा यौन सम्बन्ध समेत भएको खुलेको प्रहरीले बताएको छ।

बसन्ती गर्भवती भएपछि दुवै जना कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा २०७७ सालको वैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बसोबास गर्दै आएका थिए। 

श्रीमान् र छोरीहरुलाई छाडेर आफू काशीरामसँग बस्दै आएको बसन्तीले घरमा बुबा भक्तिरामलाई फोन गरेर जानकारी पनि गराएकी थिइन्। 

उनकै गर्भ समेत रहेको र चैतमा सुत्केरी हुने भएकाले घिउ–बेसार समेत पठाइदिन भनेकी थिइन्। तर काशीरामले भने उनलाई बारम्बार गर्भपतनका लागि दबाब दिँदै आएका थिए। 

यही कारण उनीहरुको बारम्बार झगडा हुन्थ्यो। उनले आफ्नी एक महिला साथीलाई काशीरामले गर्भ फाल्न दबाब दिएको समेत सुनाएकी थिइन्। 

२०७७ साल पुसको अन्तिम हप्तातिर बुटवल गएकी बसन्तीलाई लिन काशीराम बुटबल फुलबारीसम्म लिन जान्छन्। सालझण्डीसम्म बसमा ल्याएर सालझण्डीमा लोकल रक्सी र दालमोठ किनेका थिए। 

आफूलाई सालझण्डी बजारमा मानिसहरुले चिन्ने भएकाले नजिकैको जंगलमा जान र उतै रक्सी खाएर रमाइलो गर्न उनले बसन्तीलाई प्रस्ताव गरे। दिउँसोको करिब ३ बजेतिर फायरलाइन जंगलमा लिएर गए र दुवैले रक्सी खाए। त्यही समयमा आफैँले लगाएको गलबन्दीले उनको घाँटी कसी हत्या गरेका थिए। 

शव नचिनियोस् भनेर बसन्तीले लगाएको स्वेटरले मुखमा बेरी नजिकैको रुखमा बाँधेर रक्सीको बोतल र उनले लगाएका चप्पलहरु वाणगंगा नदीमा बगाइदिएका थिए। त्यसपछि उनी त्यहाँबाट फरार भए। 

हत्या गरेको केही समय पछि काशीरामले बसन्तीका बुबालाई फोन गरी बसन्ती हराएको र आफूले खोजी गरिरहेको बताएका थिए। आफूले प्रहरीलाई समेत खबर गरिसकेको उनले बताएका थिए। बाबुलाई खोजतलास गर्नु पर्दैन भनेका थिए। 

२०७९ सालको वैशाखमा पनि उनले बसन्तीको बारेमा केही जानकारी पाउनु भयो कि भनेर भक्तिरामलाई सोधेका थिए। छोरीको हत्या भएको खुलेपछि भक्तिरामले यी सबै कुरा प्रहरीलाई बताइदिए। त्यही आधारमा प्रहरीले काशीरामलाई पक्राउ गरेको हो। काशीरामले हत्या स्वीकार गर्दै प्रहरीलाई घटनाबारे बताएका हुन्। 
 
भक्तीरामले किटानी जाहेरी दिएपछि काशीराम मुराउलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक जगन्नाथ मरासीनिले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .