ad ad

अपराध


बचतकर्ताको रकम ठगी आरोपमा तुलसी सहकारीका ३ सञ्चालक पक्राउ, ५ जनाको खोजी हुँदै

बचतकर्ताको रकम ठगी आरोपमा तुलसी सहकारीका ३ सञ्चालक पक्राउ, ५ जनाको खोजी हुँदै

पक्राउ परेका सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवास।


ध्रुव भट्टराई
फागुन २९, २०७९ सोमबार १४:२०, विराटनगर

बचतकर्ताको रकम ठगी गरेको आरोपमा पक्राउ परेका विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका तीनजना सञ्चालकलाई प्रहरीले आज सार्वजनिक गरेको छ। सेयर सदस्य तथा बचतकर्ताहरूको उजुरीका आधारमा सहकारीका उपाध्यक्ष  विराटनगर-६ घर भएकी अनिता गौतम, सचिव झापा भद्रपुर-१४ की सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक  विराटनगर-३ घर भएका मन्दीप खवासलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

मोरङ प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार विराटनगर महानगरपालिका-२ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थामा आबद्ध १ सय २१ जना बचतकर्ताले रकम ठगी गरेको भन्दै उनीहरूविरुद्ध  १ सय २१ जना सेयर सदस्य एवं बचतकर्ताले  १२ करोड ९ लाख ४ हजार ४८७ रुपैया रकम ठगी गरेको आरोपसहित आइतबार आठजना सञ्चालकविरुद्ध उजुरी दिएका थिए। 

तीमध्ये प्रहरीले अहिलेसम्म संस्थाकी उपाध्यक्ष गौतम, सचिव न्यौपाने र क्षेत्रीय प्रबन्धक खवासलाई पक्राउ गरेको हो। अन्य पाँच जना सञ्चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए। उनीहरूको नाम प्रहरीले अहिले सार्वजनिक गरेको छैन। 

सहकारीमा बचत गरेको रकम उपलब्ध गराउन माग गर्दै सेयर सदस्यहरूले संस्थाका सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मासहित अन्य सञ्चालकविरुद्ध ठगीको उजुरी दिएका छन्। प्रहरी उपरीक्षक पोखरेलले उक्त घटनाबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग समन्वय गरी अनुसन्धान सुरु गरिएको जानकारी पनि दिए। 

विराटनगरमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले सेयर सदस्यले बचत तथा निक्षेपमा राखेको रकम भाका नाघ्दा पनि दिन नसकेको भन्दै दुई साताअघि जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी दिएका थिए। 

उजुरीलगत्तै समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको रोहबरमा पीडित बचतकर्ता र सहकारी सञ्चालकबीच छलफल गरिएको थियो। 

छलफलमा संस्थाका अध्यक्ष शर्मासहित सञ्चालकहरूले ५ दिनभित्र सेयर सदस्यको रकम उपलब्ध गराउने सहमति गरेका थिए। सो अवधि नाघेपछि सेयर सदस्यहरूले पुनः प्रशासनलाई गुहार्नुका साथै सञ्चालकहरूको घर घेराउ गरेका थिए। 

अध्यक्ष शर्माले सहकारीका नाममा विभिन्न ठाउँमा भएको सम्पत्ति बेचेर बचतकर्ताको रकम असुल गर्ने बताएका थिए। तर अहिले उनी फरार छन्। 

सहकारीले बचतकर्ताहरूको सबै पैसा विराटनगर–१९ मा स्थापित तुलसी मोटर पम्प, विभिन्न ठाउँमा जग्गा खरिद, चामल तथा दाल उद्योग, उदयपुर र दमकमा गार्डेन मार्ट नामको डिपार्टमेन्ट स्टोर सञ्चालन, चिया बगान र चिया उत्पादनलगायतमा लगानी गरेको पाइएको छ। 

केही दिनअघि सहकारीको उदयपुरस्थित गाईघाटमा रहेको शाखामा सेयर बचतकर्ताले समयमा पैसा नदिएको भन्दै तालाबन्दी गरेका थिए। त्यहाँको समस्या अझै पनि समाधान भइनसकेको जनाइएको छ। 

प्रहरीका अनुसार मोरङमा केन्द्रीय कार्यालयसहित झापा, सुनसरी, उदयपुर, संखुवासभा, धनकुटा, सिरहा, धनुषा जिल्लामा शाखा सञ्चालित तुलसी सहकारीमा २१ हजार ७ सय १३ जनाभन्दा बढी साना-ठूला बचतकर्ताहरूको विभिन्न प्रकारका खाता छन्। यति धेरै सदस्यबाट संकलित रकमको सुरक्षा भने देखिएन। 

केही दिनअघि मात्र उक्त सहकारीले सर्वसाधारण बचतकर्ताको ५ हजार रुपैयाँको चेक पनि नसाटेपछि त्यहाँभित्रको वित्तीय अवस्था जोखिम रहेको थाहा पाएर बचतकर्ताहरू आफ्नो सम्पूर्ण रकम माग्न सहकारी कार्यालयका शाखाहरूमा पुगेका थिए। 

सहकारीको उद्देश्यविपरीत नातागोतामा ऋण लगानी, जग्गा तथा सम्पत्ति खरिद र अध्ययनबिनै उद्योग तथा व्यापारमा लगानी गर्दा अधिकांश सहकारी अहिले वित्तीय समस्या भोग्न बाध्य भएका हुन्। 

दुई अर्ब रुपैयाँभन्दा बढी सेयर पुँजी भएको यो सहकारी २०७१ सालमा स्थापना भएको हो। सहकारीको कार्यालय र सहकारीले सञ्चालन गर्ने डिपार्टमेन्ट स्टोर यही फागुन १ देखि बन्द छन्। तीन जिल्लामा तुलसी बहुमुखी सहकारी सञ्चालन गरेका शर्माले पश्चिम नेपाल शिव शिखर नाममा सहकारी सञ्चालन गरिरहेका छन् । शिव शिखरमा पनि बचत फिर्ताको समस्या देखिएको प्रहरीले बताएको छ। 

२०७१ सालमा विराटनगरमा खुलेको तुलसी सहकारीले झापाको दमक र उदयपुरको गाईघाटमा कार्यालय खोलेको छ। तीन जिल्लामा १० हजारभन्दा बढी सर्वसाधारणले १ अर्ब ४९ करोड हाराहारी बचत गरेका छन्। 

प्रहरी स्रोतका अनुसार सर्वसाधारणबाट महँगो ब्याज दिने भन्दै बचत संकलन गरेको सहकारीले अन्य क्षेत्रमा लगानी गरेको छ। सहकारी सञ्चालकले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायत क्षेत्रमा लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .