सर्लाहीको मलंगवास्थित एक सहकारी संस्थाको साढे २३ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ परेका चारजना पुर्पक्षका लागि जेल चलान भएका छन्।
सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका ८ स्थित सुविधा बचत तथा ऋण सहकारी संस्थाको २३ करोड ५९ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका संस्थाका प्रबन्धकसहित चारजना जेल चलान भएका हुन्।
जेल चलान हुनेमा मलंगवा ९ घर भएका सहकारीका प्रबन्धक दीपकलाल अमात्य, सर्लाहीकै बलरा नगरपालिका २ घर भएका संस्थाका फिल्ड सहायक कामेश्वरप्रसाद सिंह, मलंगवा नगरपालिका २ घर भएका संस्थाका ऋणी उमेशप्रसाद अधिकारी र मलंगवा १० घर भएका संस्थाका खजान्ची निर्मलकुमार श्रेष्ठ छन्।
संस्थाका उपाध्यक्ष जयप्रकाश अग्रवाल र लेखा समिति संयोजक शान्ता प्रसाद श्रेष्ठले संस्थाका अध्यक्ष ईश्वर भनिने हरिशंकरप्रसाद साह रौनियार र प्रबन्धक अमात्यले संस्थाको रकम हिनामिना गरेको भनी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी दिएका थिए।
अनुसन्धानका क्रममा रौनियार र अमात्यसहित संस्थाको रकम हिनामिनामा अरु पनि दोषी देखिएपछि उनीहरुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए। बुधबार उनीहरु पुर्पक्षका लागि जेल चलान भएका हुन्।
सहकारीको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले अनुसन्धान अघि बढाएपछि अध्यक्ष रौनियारसहितका केही व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुविरुद्ध २३ करोड ५९ लाख रुपैयाँ बिगो दाबीसहित प्रहरीले मुद्दा दर्ता गरेको छ। फरार अध्यक्षसहितका व्यक्तिको खोजी भइरहेको डीएसपी राईले जानकारी दिए।
प्रतिक्रिया