श्रम अभियानमार्फत देश-विदेशमा चिनिएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उत्पादन सुरु गरेको ‘माया धराने’ ब्रान्डको बेसार युरोपमा जान/आउन सुरु भएको छ।
नेपालमा स्थानीय सरकारको पहिलो उद्योगका रूपमा दाबी गरिएको ‘माया धराने बेसार उद्योग’ मेयर साम्पाङको पहलमा धरान–२०, भन्ज्याङमा सञ्चालित छ।
युरोपेली मुलुक पोल्यान्डको राजधानी वारसामा ग्रोसरी सप सञ्चालन गर्ने दोलखाका मनिष दाहालले १ लाख १५ हजार रूपैयाँ (छुटसहित) बराबरको २८७ प्याकेट ‘माया धराने’ बेसार माग गरेका हुन्।
नेपाली उत्पादनलाई प्रवर्धन गर्दै सकेसम्म पोल्यान्डमा रहेका नेपालीका भान्सासम्म नेपाली खाद्य सामाग्री पुर्याउने योजनाअनुसार ‘माया धराने’ बेसार ल्याउन लागेको मनिषले बताए।

‘मेयर हर्क साम्पाङको श्रम संस्कृतिप्रति उच्च सम्मान छ। हाम्रो पहिलो प्राथमिकता भनेको स्वदेशी उत्पादनलाई विश्वव्यापी रूपमा चिनाउने हो,’ मनिषले नेपालखबरसँग भने, ‘नेपालमा स्थानीय सरकारले सुरु गरेको प्रयासलाई प्रोत्साहन गर्ने हाम्रो तर्फबाट एउटा प्रतिनिधि प्रयास पनि हो।'
‘हाम्रो सान नेपाली सामान’ व्यावसायिक नाराका साथ मुस्ताङ मिट एन्ड ग्रोसरी स्टोर सन् २०२४ बाट पोल्यान्डको राजधानी वारसामा सञ्चालनमा छ। पोल्यान्डमा उक्त स्टोर छालासहितको खसीको मासु, नेपाली अचार, चाउचाउ, मसला लगायत नेपाली उत्पादनका खाद्य सामाग्रीका लागि नेपाली समुदायमा लोकप्रिय छ।
यसैबीच, धरानका मेयर हर्क साम्पाङले एक भिडिओ सन्देशमार्फत ‘माया धराने’ बेसारलाई माया गरिदिएकोमा धेरै धेरै धन्यवाद भनेका छन्। ‘स्वदेशी नेपाली सामानलाई प्रमोट गरौँ, ताकि नेपालमा मात्र नभएर विश्वभरको बजार लिन सकोस्’, उनले भिडिओमा भनेका छन्।
Shares

प्रतिक्रिया