नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी पोल्यान्डका उपसचिव सुमन थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
प्रवासी नेपाली मञ्च पोल्यान्डको कार्यसमिति सदस्य हुँदै चौथो अधिवेशनबाट उनी उपसचिवमा चुनिएका थिए।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गत भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा १९ जना निहत्था नवयुवायुवतीको हत्यापछि सामाजिक सञ्जालमार्फत उनले आक्रोश जनाउँदै आएका थिए।
थपलियाले नेपाल र प्रवासमा समेत एमालेमा सङ्गठित भएर हिँडेको तर नयाँ परिस्थितिमा पनि पार्टी सुधार हुने नदेखिएकाले आफूले नयाँ विकल्पको रूपमा रास्वपा रोजेको बताए।
‘३५ जनाको प्रवासी मञ्च पोल्यान्डको कार्यसमितिको महिला उपाध्यक्ष, कोषाध्यक्षसहित कार्यसमितिका बहुमत सदस्यले सामूहिक राजीनामा दिएको हो। थप केही साथी राजीनामा दिने तयारीमा हुनुहुन्छ,’ थपलियाले नेपालखबरसँग भने।
विगत ८ वर्षदेखि पोल्यान्डमा बस्दै आएका हक्की स्वभावको रूपमा चिनिने थपलिया पोल्यान्डको खेलकुद तथा अन्य सामाजिक काममा सक्रिय हुँदै आएका छन्।
यसैबीच, आज राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग पोल्यान्डले थपलियाको सदस्यता सार्वजनिक गर्दै आफ्नो सङ्गठन थप प्रभावकारी बन्ने विश्वास गरेको जनाएको छ।
Shares

प्रतिक्रिया