राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा प्रवासबाट १ जनालाई समानुपातिक उम्मेदवार बनाएको छ।
रास्वपाले सोमबार निर्वाचन आयोगमा बुझाएको १ सय १० जनाको उम्मेदवार सूचीमा जर्मनीबाट किशोर गन्धर्व समानुपातिक सूचीमा परेका छन्। उनी रवि लामिछानेको तर्फका एक्ला उम्मेदवार हुन्।
रास्वपाको प्रवास अन्तर्गतको प्राइमरी इलेक्सनमा ४,६५९ मतसहित दोस्रो भएका गन्धर्वलाई रास्वपाले दलित पुरुष क्लस्टरको बन्दसूचीको ६ नम्बरमा समेटेको छ।
रास्वपाले यस क्ल्स्टरमा ७ जनाको नाम राखेको छ। जसमा रूपक विश्वकर्मा घिमिरे, प्रकाश सपुत, प्रकाश चन्द्र परियार (दर्जी), रामजी राम, साजन विके, किशोर गन्धर्व र अरविन्द कुमार राम छन्।
नेपाल घर तनहुँ भएका गन्धर्व सन् २०२१ मा विश्वप्रसिद्ध डीएएडी छात्रवृत्ति प्राप्त गरी जर्मनी आएका हुन्। जर्मनीको जर्ज–अगस्ट विश्वविद्यालय, गोटिङ्गेनबाट फरेस्ट एन्ड इकोसिस्टम अन्तर्गत ट्रपिकल एन्ड इन्टरनेसनल फरेस्ट्रीमा स्नातकोत्तर उनी विद्यावारिधिको तयारीका लागि परामर्शमा रहेका थिए।
‘रास्वपाले विदेशमा रहेका र फर्कन चाहने युवाका लागि समानुपातिकमा १० प्रतिशत स्थान सुनिश्चित गर्ने निर्णय गर्यो। त्यो निर्णय मेरो लागि आशाको ढोका बन्न पुग्यो,’ गन्धर्वले नेपालखबरसँग भने।
रिटर्नी युवालाई समानुपातिक निर्वाचनमा १० प्रतिशत कोटा निर्धारण गर्ने रास्वपाको विगतको नीति थियो। त्यहीअनुसार रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले किशोर गन्धर्वसहित विभिन्न देशबाट ११ जनाको नाम सिफारिस गरेको थियो। तर, गत सोमबार राति रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जामन्त्रीसमेत रहेका कुलमानबीच राजनीतिक एकताको सहमति भएपछि भागबन्डाका कारण नीति बथोलिएको देखिन्छ।
गन्धर्वसँग नेपालमा छँदा यूएसआईडीद्वारा सञ्चालित जलवायु परिवर्तन र वनसम्बन्धी परियोजना ‘हरियो वन’ कार्यक्रममा काम गरेको अनुभव छ। त्यस्तै, डीएफआईडीको जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापन सम्बन्धी कार्यक्रम, बर्दियाको ठाकुरबाबा नगरपालिकाको २० वर्षे दीर्घकालीन गुरुयोजना तयार गर्ने प्राविधिक समूहको सदस्य तथा स्थानीय जलवायु अनुकूलन योजना, विपद् तयारी तथा प्रतिकार योजना र सामुदायिक वनका संस्थागत क्षमतालगायत थुप्रै परियोजनामा उनले नेपालमा काम गरिसकेका छन्।
जलवायु परिवर्तन अनुकूलन, वन व्यवस्थापन, वन सुशासन, जैविक विविधता संरक्षण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, एकीकृत विकास योजना निर्माण र रणनीतिक योजना निर्माणमा रहेको आधा दशकको आफ्नो अनुभवलाई राष्ट्रिय निर्माणका लागि प्रयोग गर्ने इच्छा रहेको उनले बताए।
Shares

प्रतिक्रिया