प्रवास


मध्यपूर्व तनाव: रोमानिया र सर्वियाको राहदानी घुम्ती शिविर स्थगित

मध्यपूर्व तनाव: रोमानिया र सर्वियाको राहदानी घुम्ती शिविर स्थगित

नेपालखबर
फागुन २३, २०८२ शनिबार १६:२२, मध्य युरोप

इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि मध्यपूर्वमा तनाव बढेको छ। त्यसको असर युरोपमा बसोबास गर्ने नेपालीलाई समेत प्रत्यक्ष परेको छ।

त्यही कारण रोमानिया र सर्विया समेत कार्यक्षेत्र भएको जर्मनीको नेपाली राजदूतावास, बर्लिनले यी मुलुकमा गर्न लागेको राहदानी नवीकरण घुम्ती शिविर प्रभावित भएको छ।

राजदूतावासले आज एक सूचना प्रकाशित गर्दे रोमानिया र सर्वियामा सञ्चालन गर्न लागेको राहदानी घुम्ती शिविर अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ।

दूतावासले राहदानी विभाग काठमाडौँको सहकार्यमा रोमानियामा आगामी २०२६ मार्च ११ देखि १५ सम्म र सर्वियामा मार्च १४ तारिखका लागि घुम्ती शिविर तय गरेको थियो। जसका लागि राहदानीको अनलाइन फाराम भर्ने कामसमेत सकिसकेको थियो। 

पश्चिम एसियाली मुलुकहरूमा भएको तनावको कारण हवाई उडानमा उत्पन्न समस्याले गर्दा अर्को सूचना जारी नहुन्जेलसम्म घुम्ती शिविर स्थगित गरिएको र यथाशीघ्र नयाँ मिति तोकिने दूतावासको सूचनामा उल्लेख छ।

जर्मनीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाले हालै पश्चिम एसियाली मुलुकहरूमा भएको हवाई उडानको समस्याका कारण राहदानी विभागबाट खटाइएका कर्मचारी आवश्यक उपकरण लिई तोकिएको समयमा नै रोमानिया आउनसक्ने अवस्था नभएको कारणले घुम्ती शिविर स्थगित गरिएको बताए। 

'हवाई सेवा सहज रूपमा सूचारु हुनासाथ रोमानिया र सर्वियामा घुम्ती शिविर सञ्चालनका लागि नयाँ मिति तोकेर सूचना जारी गरिनेछ,' कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने, 'काबुभन्दा बाहिरको परिस्थितिले घुम्ती सेवाको मिति सार्नु पर्दा सेवाग्राहीहरूलाई पर्न गएको असुविधाको लागि राजदूतावास क्षमायाचना गर्दछ।'

बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कूटनीतिक क्षेत्र पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad