ग्रिसमा भर्खर सम्पन्न राहदानी नवीकरण घुम्ती शिविरमा राजस्वबाहेक अन्य शुल्क असुलेको आरोप लागेको छ।
घुम्ती शिविरको व्यवस्थापनमा सक्रिय सहभागिता रहेको ग्रिस-नेपाल फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनले राजस्वबाहेक संस्थाको सदस्य शुल्कको नाममा सेवाग्राहीबाट अतिरिक्त रकम उठाएको आरोप लागेको हो।
अप्रिल २ देखि ग्रिसको मानोलादाको कोमेनित्सोताङ्का २७०५२ रोयल क्लब होटलमा सुरु भएको शिविरमा एसोसिएसनका पदाधिकारीले रकम उठाएको सेवाग्राहीहरूले बताए।
एसोसिएसनको सदस्य भन्दै थमाएको सदस्यता ह्वाट्सएपमा पठाउँदै एक सेवाग्राहीले नेपालखबरसँग भने, ‘१० युरो नदिएसम्म भित्र पस्नै दिएनन्। यो गलत हो भन्ने थाहा हुँदाहुँदै तिर्न बाध्य भइयो।’
एसोसिएसनले सदस्यता भनी दिएको कार्डमा नामलगायत कुनै व्यक्तिगत विवरण उल्लेख छैन। केवल सदस्यता नम्बर र एक पदाधिकारीको हस्ताक्षर मात्र छ।

‘देशबाट ठगिन सुरु गरेका केवल रेमिट्यान्सका मेसिन हामीलाई विदेशीले त छोडेनन्, आफूलाई नेपाली भन्नेले पनि बाँकी राखेनन्’, ती सेवाग्राही आक्रोशित बन्दै टेलिफोन सम्पर्कमा भने, ‘हाम्रो रकम फिर्ता होस्।’
अतिरिक्त रकम लिएको विषयले गम्भीर रूप लिएपछि शिविरको तेस्रो दिन अस्ट्रियाको नेपाली राजदूतावासले राहदानी दस्तुरबाहेक अन्य कुनै प्रकारको रकम सेवाग्राहीबाट नलिने भएकोले कोही/कसैले कुनै पनि बहानामा अतिरिक्त रकम माग गरेमा नदिन तथा सचेत हुन भन्दै सूचना सार्वजनिक गरेको थियो।
अप्रिल ४ तारिख दूतावासले प्रकाशित गरेको उक्त सूचनामा संस्थाको नाम उल्लेख नगरी सेवालाई सहजीकरण र व्यवस्थित गर्न स्वयंसेवीको रूपमा सहयोग गर्न सकिने तर सेवा प्रवाहलाई अवाञ्छित रूपमा प्रभावित गर्ने र सेवाग्राहीलाई बाध्य बनाउने गरी अनधिकृत रूपमा रकम माग गर्ने कार्य नगर्न/नगराउन भनेको छ।

जानकारीमा आए पछि रोक्यौँ: दूतावास
राजदूतावासले सेवा प्रवाहको बखत कुनै रकम नउठाउन र यस्तो क्रियाकलाप गैरकानुनी हुने जानकारी गराउँदै २६ मार्च २०२६ को सूचनामार्फत सचेत गराएको अस्ट्रियाको नेपाली राजदूतावासका नियोग उपप्रमुख लेखनाथ गौतमले बताए।
शिविरको लागि अनलाइन फारम भर्ने स्लट खोलेको बखत रकम उठाएको बारे सेवाग्राहीहरूबाट राजदूतावासको फेसबुक पेजमा कमेन्ट आएपछि उक्त सूचनामार्फत सचेत गराइएको उनको भनाइ छ।
‘सेवाग्राहीबाट रकम उठाएको दूतावासको जानकारीमा आएपछि कडाइका साथ रकम नउठाउन चेतावनी दिएको र यस्तो कार्य रोक्न राजदूतावासका प्रतिनिधिहरूले पटक पटक सचेत गराएका थियौँ,’ उपप्रमुख गौतमले नेपालखबरसँग भने, ‘यो दण्डनीय काम हो।’
ग्रिसमा रहेका नेपालीमध्ये ७५ प्रतिशतभन्दा बढी अवैधानिक रहेका र धेरै नेपालीको आफ्नो बैङ्क खातासमेत छैन। ग्रिसमा रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको राहदानी नवीकरणमा भएको ढिलाइलगायत अन्य समस्या समेटेर नेपालखबरले भिडियोसहितको स्टोरी प्रकाशन गरेको थियो।
राहदानी विभाग, काठमाडौँको समन्वयमा ग्रिससमेत कार्यक्षेत्र रहेको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाले गत अप्रिल २ देखि ९ सम्म सञ्चालन गरेको शिविरमा करिब ३ हजार नेपालीले राहदानी नवीकरणका लागि ‘प्रि-इनरोलमेन्ट’ फारम बुझाएका छन्।
छानबिन गरी कारबाही गर्छौं: एसोसिएसन
करिब १२ सय सेवाग्राहीबाट १० युरोका दरले १२ हजार युरो सदस्यता शुल्कको नाममा एसोसिएसनले असुलेको बताइएको छ। यो भनेको हालको विनिमय दरअनुसार २१ लाख बढी नेपाली रुपैयाँ हो।
सेवाग्राहीबाट आर्थिक रकम उठाएको बारे नेपालखबरले ग्रिस-नेपाल फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनका अध्यक्ष कृष्ण पोखरेललाई जिज्ञासा राखेको थियो। अध्यक्ष पोखरेल भन्छन्, ‘म घुम्ती शिविर हुँदाको बखत व्यक्तिगत कामले ग्रिस बाहिर थिएँ। मेरो अनुपस्थितिमा त्यस्तो खालको कार्य भएको रहेछ भने कार्यसमितिको बैठक बसी छानबिन गरी कारबाही गर्नेछौँ।’
पोखरेलले थपे, ‘संस्था सेवाग्राहीको रकम फिर्ता गर्न पनि तयार हुनु पर्छ।’
ग्रिसमा नेपालीको मृत्यु लगायतका घटनामा दूतावाससँग समन्वय गरेर काम गरिरहेका पोखरेल नेपाल चेम्बर अफ कमर्सको ग्रिसका लागि नेपाली प्रतिनिधि हुन् भने घुम्ती शिविरका लागि राजदूतावासले तोकेको सम्पर्क व्यक्ति हुन्।

शीर्षक अनेक, उद्देश्य कमाउ धन्दा
नेपाली राजदूतावास नभएका मुलुकहरूमा सम्बन्धित मुलुकको कार्यक्षेत्र रहेका दूतावासले घुम्ती शिविरमार्फत त्यहाँ रहेका नेपालीलाई सेवा दिँदै आएका छन्। तर, युरोपलगायत अन्य मुलुकमा हुने घुम्ती शिविरलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले आफ्नो कमाउ धन्दा बनाएको आरोप लाग्दै आएको छ। कतै हुलाक खर्चको नाम त, कतै संघसंस्थाको सदस्यताको नाममा यो कमाउ धन्दा मौलाउँदो छ।
रोमानियाका तत्कालीन नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले राहदानी नवीकरण गर्दा अतिरिक्त शुल्क असुलेका कारण वाणिज्यदूत पदबाट हात धुनु परेको थियो। पोल्यान्डको अवैतनिक वाणिज्यदूतावास पनि अतिरिक्त शुल्क लिएको विषयमा परराष्ट्र मन्त्रालयको राडारमा पर्दै स्पष्टीकरणमा परिसकेको छ।
साथै, एनआरएनए पोल्यान्डले हुलाक खर्च भन्दै सेवाग्राहीबाट लिएको रकम फिर्ता गराउन परराष्ट्रमा उजुरी परेर अनुसन्धान हुँदै गरेको खबर आएका छन्।

एनआरएनए पोल्यान्डले त लाजै नमानी राहदानी घुम्ती शिविरबाट आम्दानी गरेको भन्दै करिब १० लाख नेपाली रुपैयाँ आफ्नो आठौँ राष्ट्रिय अधिवेशनको आर्थिक प्रतिवेदनमै खुलेआम देखाएको छ।
अहिले आएर ग्रिसमा भर्खर सम्पन्न भएको शिविरमा पनि सेवाग्राहीबाट अनधिकृत रकम लिएको विषय सार्वजनिक भएको छ।
ग्रिसको घुम्ती शिविरमा भएको रकम फिर्ता गराइदिन र संलग्नलाई कारबाही गर्न माग गर्दै परराष्ट्र मन्त्रालयमा सेवाग्राहीको तर्फबाट उजुरीसमेत परेको बुझिएको छ।
केही समय पहिले रोमानिया, अनि पोल्यान्ड र अहिले फेरि ग्रिसमासमेत नेपालीले दुःख गरेर कमाएको रकम अतिरिक्त शुल्कको नाममा ठगी हुनुलाई सामान्य मान्न सकिन्नँ। नेपाल सरकारका सरोकारवाला निकायले विभिन्न बहानामा राहदानी नवीकरणमा राजस्वबाहेक श्रमिकले खुन पसिनाबाट आर्जित गरेको पैसा असुल्नु दण्डनीय भने पनि यसमा देखिने गरी कठोर कारबाही गर्न जरुरी छ।
Shares

प्रतिक्रिया