सुनसरी इटहरी-५ का ३३ वर्षीय प्रवीण कार्की सन् २०२४ जुलाई ९ मा युरोपेली मुलुक रोमानिया आए। उनी सुन्दर भविष्यको कल्पना गर्दै ६ लाख ९२ हजार रुपैयाँ तिरेर यहाँ आएका थिए।
प्रवीण रोमानियास्थित स्ट्राडा सलेई एरेस्टी राधभवानीमा रहेको फोहोर संकलन, प्रशोधन र पुनर्चक्रणको काम गर्ने कम्पनी कोसेको वेस्ट एसआरएलमा काम गर्थे। दुर्भाग्य! काम गर्ने क्रममा उनलाई सँगै काम गर्ने एक रोमानियनले चलाएको गाडीले ठक्कर दियो। उपचारका क्रममा २०२५ जुलाई २४ मा प्रवीणको मृत्यु भयो।
रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको नेपाली दूतावासको सहयोगमा प्रवीणको शव सोचेभन्दा चाँडो परिवारले प्राप्त गर्यो।साथै वैदेशिक रोजगार बोर्डको सचिवालयले दिने १० लाख रुपैयाँले उनी रोमानिया जाँदाको ऋण तिर्यो उनको परिवारले।
प्रवीणको मृत्यु सम्बन्धमा आएका फरक-फरक कुराले परिवार थप तनावमा परेको छ। 'एउटाले के भन्छ, अर्कोले के भन्छ। हामी अत्यन्त मानसिक तनावमा गुज्रिरहेका छौँ', प्रवीणकी श्रीमती मधु भण्डारीले नेपालखबरसँग दुखेसो पोखिन्।
प्रवीणको अकल्पनीय मृत्यु भएपछि आफ्ना ३ वर्षीय छोरोको लालनपालनलगायत सम्पूर्ण जिम्मेवारी ३२ वर्षिया मधुको काँधमा आएको छ।
रोमानियामा काम गरिरहेकै बेला दुर्घटनामा परेर मृत्यु भएका प्रवीणको परिवारलाई बिमा तथा क्षतिपूर्तिबारे कुनै जानकारी आएको छैन।
प्रवीण बितेको ९ महिना भइसक्यो। कम्पनीले हुलाकमार्फत पठाएको उनको मृत्युको प्रमाणपत्रबाहेक अन्य कुनै कागजात वा जानकारी पीडित परिवारले पाएको छैन।
'क्षतिपूर्ति, बिमाको त कुरा छाडौँ। उनका साथीहरूले भनेअनुसार उपचारका क्रममा मेरा श्रीमान्लाई अस्पतालमा एक हप्तासम्म राखिएको थियो', मधुले भनिन्, 'तर परिवारलाई न सम्पर्क गरियो न भिडिओ कलमा र मुख हेर्न दिइयो।'
सुरुमा सामान्य दुर्घटना भनिएको एक हप्तापछि मात्र प्रवीणको मृत्यु भएको खबर आएको परिवारको भनाइ छ।
रोमानियाको कार्यस्थलमा मृत्यु भएकाका परिवारले कम्पनीबाट क्षतिपूर्ति पाइने सुनेको तर आफूले अहिलेसम्म नपाएको मधुको गुनासो छ।
अब यस विषयमा यथार्थ बुझ्न आफैँ रोमानिया जाने सोच बनाइएको उनले बताइन्।
मधुले भनिन्, 'नेपाल सरकार, मेनपावर, सम्बन्धित कम्पनी कसैबाट सहयोग भएन। अब आफैँ रोमानिया गएर कानुनी लडाइँ लड्ने निष्कर्षमा पुगेको छु र यसका लागि उपयुक्त माध्यमहरूको खोजीमा छु।'

रोमानियामा यसरी कार्यस्थलमै प्रवीणको मात्र होइन, १० जनाभन्दा बढी नेपालीको दर्दनाक मृत्यु भइसकेको छ।
गत २०२५ सेप्टेम्बर २९ (असोज १३ गते) दसैँको फूलपातीका दिन रोमानियामा आगलागीमा परी इलामको माई-७, खैरेनीकी २१ वर्षीया सोनी लिम्बू र काठमाडौँ दक्षिणकाली-९, फर्पिङ घर भएकी २४ वर्षीया सुस्मिता तामाङको निधन भयो।
रोजगारीको सिलसिलामा सोनी १ वर्ष र सुस्मिता ५ महिनाअघि मात्र रोमानिया आएका थिए। उनीहरू रोमानियाको प्रहोभास्थित तातरानी सहरस्थित होटल डालेमा काम गर्थे। जहाँ विद्युत सर्ट भएर आगलागी हुँदा उनीहरूको ज्यान गयो।
उनीहरूसँगै त्यही होटलमा काम गर्ने इलाम चुलाचुली-३ घर भएकी सुमिना मगर पनि आगलागीमा परेर घाइते भइन्। साथै उनका राहदानीलगायत सबै कागजात जलेर नष्ट भए।
कागजातविहीन सुमिनालाई बर्लिनस्थित नेपाली दूतावाससम्म पुग्न र राहदानी बनाउन यो पंक्तिकारले सहयोग गरेको थियो। हाल उनी पुन: राहदानी प्राप्त गरी होटल डालेमै काम गरिरहेकी छन्।

गाउँमा कृषि र मजदुरी गर्ने सोनीका बुवा धनराज र आमा विमला लिम्बू छोरीको मृत्युले विक्षिप्त भएका छन्। मधुलाई जस्तै उनीहरूलाई पनि छोरीको कम्पनी वा कसैले अहिलेसम्म सम्पर्क गरेका छैनन्।
'रोमानियामा ८० किलोको तन्दुरुस्त पठाएको छोरीको ३० किलोजति डढेको मासु प्लास्टिकमा पोको पारेर पठाइएको थियो। हामीले त हेर्न पनि सकेनौँ', धनराजले नेपालखबरसँग भने, 'अब २ जना साना छोरीहरू छन्। उनीहरूको भविष्यको चिन्ता छ।'
'आगोमा पोलिएर मर्नु पर्दा त त्यहाँ रोमानियाको पनि कानुन होला नि, सरकार होला। हामीलाई त केही थाहा छैन, सरकारले रोमानियाबाट हुने क्षतिपूर्तिका लागि सहयोग गरे हुनेथियो', उनले थपे।

नाजुक आर्थिक अवस्था भएका सुस्मिताका बुवा कान्छा तामाङ सुगर, प्रेसर र आन्द्रामा घाउ भएर अहिले अस्पतालमा छन्। उनको हेरचाहका लागि छोरा सुसन पनि अस्पतालमै छन्।
'मेरो छोरी केही गरौँला भनेर गएकी थिइन्। एक हप्ताअगाडि नै त्यो होटल बन्द गर्नु भनेको थियो रे। बन्द गरिदिएको भए मेरो छोरी पर्दैन थियो होला नि',सुस्मिताकी आमा लक्ष्मी तामाङ गुरुङले भक्कानिँदै भनिन्।
छोरीको मृत्युको खबर आउँदा मलाई विष ल्याएर देऊ भनेको कुरा सम्झिँदै उनले थपिन्, 'छोरीको मुख हेर्न पनि पाइएन। प्लास्टिकमा पोको पारेर पठाइदिएको थियो रे। हामी त घाटमा पनि गएनौँ। अहिले त मेरो दिमागले काम पनि गर्दैन।'
विदेशमा जवान छोरीको मृत्युले एउटी आमाको ह्रदय कस्तो भएको होला? फोन सम्पर्कपछि पंक्तिकार पनि सोचमग्न भयो।
प्रवीण, सोनी र सुस्मिता सबैका परिवारले वैदेशिक रोजगार बोर्डको सचिवालयले दिने १० लाख रुपैयाँ पाएका छन्।
उनीहरूको भनाइ एउटै छ, 'रोजगारदाताबाट पाउने क्षतिपूर्ति दिए हुन्थ्यो।'

रोमानियन कानुन: कठिन छ कार्यान्वयन
रोमानियामा कामको सिलसिलामा दुर्घटना भई मृत्यु भएमा रोमानियन नागरिकसरह विदेशी कामदारका परिवार (पति/पत्नी, सन्तान) ले पनि क्षतिपूर्ति पाउने कानुनी व्यवस्था छ।
रोमानियाको कानुनको दफा ३४६/ २००२ (आर्टिकल ३९), ५३/ २००३ (लेबर कोड अर्टिकल २), ३१९/ २००६ लगायत अनुसार कार्यस्थलमा मृत्यु भएकाका परिवारले अन्त्येष्टि खर्च, आर्थिक सहयोग/पेन्सनलगायत पाउने प्रावधान छ।
रोजगारदाता कम्पनीको नियम उल्लंघन वा लापरबाहीका कारण कामदारको मृत्यु भएको हो भने मृतकका परिवारले मृत्यु भत्ता, थप आर्थिक राहत, मानसिक/भावनात्मक क्षतिपूर्तिसमेत पाउने व्यवस्था छ। तर यसका लागि परिवारले सम्बन्धित विषयका वकिल लिएर अदालतमा मुद्दा हाल्नुपर्ने हुन्छ।
नेपालमा बसेर आफ्ना वकिललाई 'पावर अफ अटर्नी' दिएर पनि पीडित परिवारले मुद्दा अघि बढाउन सक्ने कानुनी व्यवस्था पनि छ- रोमानियामा। अनि अदालतले छानबिन गरी दोषी ठहरिएमा रोजगारदाता कम्पनीलाई क्षतिपूर्ति दिन आदेश दिन्छ। तर अदालतबाट फैसला हुन केही वर्ष नै लाग्छ।
क्षतिपूर्ति नपाएको उजुरी आएको छैन: दूतावास
जर्मनीस्थित नेपाली राजदूतावासका अनुसार २०२६ मार्च महिनासम्म रोमानियाको अध्यागमन विभागबाट प्राप्त तथ्यांकमा हाल त्यहाँ रहेका नेपालीको संख्या ५५ हजार ६७ छ।
अनि अहिलेसम्म मृत्यु भएका नेपालीको संख्या ७० पुगिसकेको छ। जसमध्ये १० जनाजतिको निधन काम गर्ने क्रममा कार्यक्षेत्रमै भएको हो भने बाँकीको मृत्यु कार्यक्षेत्रसँग सम्बन्धित छैन। अर्थात् उनीहरू सवारी दुर्घटना, अस्वस्थकर खानपिन, गम्भीर तथा दीर्घ रोग, आत्महत्यालगायत कारण बितेका हुन्।
हालसम्म रोजगारदाता कम्पनीबाट क्षतिपूर्ति नपाएको भनेर मृतकका परिवारबाट राजदूतावासमा लिखित वा मौखिक कुनै उजुरी नआएको जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालको भनाइ छ। क्षतिपूर्ति नपाएको भन्ने उजुरी मृतकका परिवारबाट प्राप्त भएमा रोमानियाको परराष्ट्र मन्त्रालयमार्फत राजदूतावासले सहजीकरण गरिने उनले बताए।
उनका अनुसार सीमित स्रोत, साधन तथा भौगोलिक दुरीका हिसाबले रोमानियामा नियमित रूपमा भौतिक रूपमै उपस्थित भई नेपालीफ श्रमिकका समस्या समाधान गर्न तथा क्षतिपूर्तिका कानुनी प्रक्रिया पूरा गर्न सम्भव छैन। तैपनि पीडितबाट उजुरी आएमा दूतावासले सक्दो प्रयास गर्ने कार्यवाहक राजदूत फुयाल बताउँछन्।

त्यसैगरी सन् २०२३ अगस्ट २६ मा रोमानियाको राजधानी बुखारेस्टबाट ३० किलोमिटर उत्तर क्रेभेडियामा रहेको तरल ग्यास (एलपीजी) स्टेसनमा विस्फोट हुँदा ६ जनाको मृत्यु भयो भने ५८ जना घाइते भए। जसमा एक नेपालीको पनि मृत्यु भयो।
उनी थिए- तल्लो गोदार-२, धनुषाका ३४ वर्षीय भक्तबहादुर सुनुवार। ९० प्रतिशत शरीर जलेका उनी बुखारेस्टस्थित बागडासर आर्सेनी अस्पतालको आईसीयू कक्षमा उपचारका क्रममा बिते।
सुनुवारको मुद्दा अहिले रोमानियाको अदालतमा विचाराधीन छ।
'भक्त बहादुरको मुद्दाको विषयमा सम्बन्धित परिवारले सुरुवातदेखि नै दूतावाससँग सहयोग मागेपछि हामीले गरिरहेका छौँ', कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने।
यसरी कार्यस्थलमा मृत्यु भएकाका परिवार आफैँ क्षतिपूर्तिका लागि दूतावाससँग सम्पर्कमा आउनुपर्छ कि यो काम दूतावासको हो?
नेपालखबरले राखेको यो प्रश्नमा खाडी मुलुकका अभ्यास र अनुभवका आधारमा आबुधाबीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रञ्जिता दाहालले भनिन्, 'यूएईको हकमा कार्यस्थल र सवारी दुर्घटनामा भएको मृत्युको क्षतिपूर्ति पाउने व्यवस्था छ। तर त्यसका लागि सम्बन्धित परिवारले नै अदालतमा मुद्दा हाल्ने तदारुकता देखाउनुपर्छ। त्यसमा दूतावासले सकेसम सहयोग र समन्वय गर्छ नै।'
यूएईमा यस्ता घटनाको क्षतिपूर्ति अदालतमार्फत मात्र हुन्छ, व्यक्तिगत मेलमिलापमा हुन्न।
६ लाखभन्दा बढी नेपाली कामदार भएको यूएईस्थित नेपाली दूतावासमा एकजना मात्र श्रम सहचारी छन्। तर पनि सकेसम्म सहयोग गरिएको उनको भनाइ छ।
'अबको समयमा नेपाली कामदारको कार्यस्थल बिमा (वर्क प्लेस इन्स्योरेन्स) गरेर मात्र पुग्दैन। अब नेपाल सरकारले विदेशमा काम गर्न जानेको २४ घण्टे वा जीवन बिमा लागु गर्न जरुरी छ', उपप्रमुख दाहालले थपिन्।
श्रम सम्झौता गरिएको पहिलो युरोपेली मुलुक रोमानियामा नेपालीको बिजोग
युरोप महादेशमा नेपालले श्रम सम्झौता गरेको पहिलो मुलुक हो- रोमानिया।
नेपाली कामदारले पनि यहाँका नागरिकसरह सामाजिक सुरक्षा पाउने, पारदर्शी रूपमा श्रमिक छनोट गर्ने, दूतावास खोल्ने, दोहोरो करार, निश्चित समयमा सम्झौताको पुनरवलोकन गर्ने भन्दै उत्साहित भएर श्रम सम्झौतामा हस्ताक्षर गरिएको थियो। तर रोमानियामा नेपाली श्रमिकको बिजोग छ।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र रोमानियाका तत्कालीन श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुबिच २०२३ अक्टोबर ६ मा श्रम सम्झौतामा हस्ताक्षर भएको थियो।
तर सम्झौता भएको अढाई वर्ष बितिसक्दा पनि नेपाल सरकारले झुक्किएर पनि रोमानियातिर हेरेको छैन।
श्रम मन्त्रालयका एक उपसचिव भन्छन्, ‘यहाँ नेपाली कामदारबारे सोच्ने फुर्सद सायद कसैलाई छैन।’
उनकै भनाइमा, ‘नेपाल र रोमानियाबिच भएको श्रम सम्झौता कार्यान्वयनमा आइसकेको छैन, प्रक्रियाकै चरणमा छ।’
नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य लाक्पा तेन्जी शेर्पा १० वर्षदेखि राजधानी बुखारेस्टमा बसिरहेका छन्।
उनी भन्छन्, ‘श्रम सम्झौता कागजमा गरेर मात्र हुन्न, भएको द्विपक्षीय सम्झौताको कार्यान्वयन हुनुपर्छ।’
उनी थप्छन्, ‘कार्यक्षेत्रमै दुर्घटनामा परी मृत्यु भएकाका परिवारले क्षतिपूर्ति रकम प्राप्त गर्न नसक्ने समस्या गम्भीर रूपमा देखिएको छ। मुख्य समस्या भनेको कम्पनीहरूले कामदारहरूको स्वास्थ्य तथा दुर्घटना बिमा नगर्नु हो। कम्पनीहरूले आफ्नो दायित्व पूरा नगर्दा पीडित परिवारले क्षतिपूर्ति पाउने आधार नै कमजोर बन्ने गरेको छ।’
ठुलो संख्यामा नेपाली भएको रोमानियामा नेपाली दूतावास स्थापना गर्नु अनिवार्य छ। रोमानियाबाट दुई हजार किलोमिटर टाढाको जर्मनी दूतावासले चाहेर पनि आवश्यक्ताअनुसार सेवा दिन सम्भव छैन।
नेपाल सरकारले आफ्ना नागरिकका समस्याबारे रोमानिया सरकारसँग छलफलसमेत नगर्नु दु:खद कुरा भएको शेर्पा बताउँछन्।
अवैतनिक वाणिज्यदूत रहेका नवराज पोखरेल नेपालीको राहदानी नवीकरण गर्दा अतिरिक्त शुल्क लिएको आरोपमा बर्खास्तमा परे। े
तर नेपालीको शव व्यवस्थापनलगायतका लागि अहिले पनि उनकै सहयोग लिनुपर्ने बाध्यता रहेको जर्मनीस्थित नेपाली दूतावास स्रोत बताउँछ।
रोमानियामा नेपाली दूतावास नहुँदा नेपाली श्रमिक मेनपावरबाट ठगिनु र भनेअनुसार काम र तलब नपाउनु सामान्यजस्तो भएको छ।
केही कम्पनीले रोमानियन भाषामा लेखिएको कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लागाउने गरेकोसमेत गुनासो व्यापक छ।
Shares

प्रतिक्रिया