प्रवास


नेपाल र रोमानियाबीच परामर्श संयन्त्रसम्बन्धी सहमति पत्रमा हस्ताक्षर

नेपाल र रोमानियाबीच परामर्श संयन्त्रसम्बन्धी सहमति पत्रमा हस्ताक्षर

सम्झौतापछि परराष्ट्र मन्त्रालयका सहसचिव गणेश ढकाल र रोमानियाको तर्फबाट परराष्ट्र मन्त्रालयकी स्टेट सेक्रेटरी आना क्रिस्टिना टिनका


शेरबहादुर परियार
बैशाख २१, २०८३ सोमबार १८:३२, मध्य युरोप

नेपाल र रोमानियाबीच द्विपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ।

सो सहमतिसम्बन्धी समझदारी पत्रमा दुई देशबीच आज (सोमबार) हस्ताक्षर भएको हो। समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव तथा युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल र रोमानियाको तर्फबाट परराष्ट्र मन्त्रालयकी स्टेट सेक्रेटरी आना क्रिस्टिना टिनकाले राजधानी बुखारेस्टमा हस्ताक्षर गरेका हुन्। 

सम्झौता लगत्तै पहिलो बैठक 
उक्त सहमतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर लगत्तै संयन्त्रको पहिलो बैठक बसेको छ।

हस्ताक्षरपछिको द्विपक्षीय परामर्श संयन्त्रको बैठकको नेतृत्व नेपालको तर्फबाट सहसचिव ढकाल र रोमानियाको तर्फबाट एसिया-प्रशान्त तथा ल्याटिन अमेरिका हेर्ने कायममुकायम महानिर्देशक डायना टेसले गरेका थिए।

सहसचिव ढकाल र कायममुकायम महानिर्देशक टेसबीच नेपाल र रोमानियाबीच द्विपक्षीय हित र आपसी सम्बन्ध लगायत विविध विषयमा छलफल भएको थियो ।

संयन्त्रको बैठकमा नेपाल र रोमानियन सरकारका प्रतिनिधि

सहसचिव ढकालले यो सम्झौता नेपाल र रोमानियाबीचको सम्बन्धमा महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा द्विपक्षीय हितलाई थप मजबुत बनाउन यस सम्झौतामार्फत सहयोग पुग्ने बताए।

साथै, सम्झौताले दुई देशबीच व्यापार, लगानी, पर्यटन र कुटनीतिक लगायतका क्षेत्रमा आपसी सहयोग र समन्वयका साथ अघि बढ्न मार्ग प्रशस्त गर्ने नेपाली प्रतिनिधिमण्डलको भनाइ छ।

यसैबीच, बर्लिनस्थित नेपाली राजदूतावास जर्मनीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र रोमानियाबीचको सम्बन्ध थप प्रगाढ बनाउन र सहयोगका क्षेत्र विस्तार गर्न संयन्त्र महत्त्वपूर्ण हुने जनाएको छ।

संयन्त्रको बैठकमा दुई देशका प्रतिनिधिले सामूहिक चासोका अन्य विविध विषयमा छलफल गरेको बैठकमा सहभागी रोमानियासमेत कार्यक्षेत्र रहेको बर्लिनस्थित नेपाली दूतावास जर्मनीका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले जानकारी दिए।

संयन्त्रको बैठकपछि नेपाल र रोमानियाका प्रतिनिधि सामूहिक तस्बिरमा

‘रोमेनियामा नेपालीको बढ्दो संख्याको परिप्रेक्ष्यमा नेपाल र रोमानियाको परराष्ट्र मन्त्रालयहरूकाबीच आज द्विपक्षीय परामर्श संयन्त्रको स्थापना र यसको पहिलो बैठकको आयोजना भएको छ,’ कार्यवाहक राजदूत फुयालले नेपालखबरसँग भने, ‘यस संयन्त्रको स्थापनाबाट नेपाल तथा रोमानियाबीचको द्विपक्षीय सम्बन्ध आगामी दिनमा थप मजबुत हुने विश्वास लिइएको छ।’

सम्झौता हस्ताक्षर र संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलमा नेपाली राजदूतावास जर्मनीका  कार्यवाहक राजदूत सागरप्रसाद फुयाल, परराष्ट्र मन्त्रालयका उपसचिव उत्तम घिमिरे तथा नेपाली राजदूतावास, बर्लिनका तृतीय सचिव दिपेन्द्रप्रसाद साहको सहभागिता थियो।

त्यसैगरी, रोमानियाको तर्फबाट नेसनल भिसा सेन्टरका डाइरेक्टर अलेक्जेन्ड्रा सुबेस्कु लगायत रोमानियन सरकारका पदाधिकारीले बैठकमा भाग लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad