प्रवास


ग्रिस घुम्ती शिविर : अतिरिक्त शुल्क फिर्ता गराउन परराष्ट्रमा उजुरी

दूतावास भन्छ- रकम फिर्ताका लागि सम्बन्धित संस्थालाई पत्र पठाएका छौँ
ग्रिस घुम्ती शिविर : अतिरिक्त शुल्क फिर्ता गराउन परराष्ट्रमा उजुरी

शेरबहादुर परियार
जेठ ४, २०८३ सोमबार १९:९, मध्य युरोप

युरोपेली मुलुक ग्रिसमा भर्खर सम्पन्न राहदानी नवीकरणको घुम्ती शिविरमा आर्थिक अनियमितता भएको आरोपसहित उजुरी परेको छ। 

गत अप्रिल २ देखि ९ सम्म आयोजित शिविरमा आर्थिक अनियमितता भएको भन्दै ग्रिसको समेत कार्यक्षेत्र रहेको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियालाई बोधार्थ दिँदै परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता भएको हो।

घुम्ती शिविरको व्यवस्थापनमा सक्रिय सहभागिता रहेको ग्रिस-नेपाल फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनले सरकारी राजस्वबाहेक संस्थाको सदस्य शुल्कको नाममा २३ लाख रुपैयाँ असुल गरिएको उजुरीकर्ताको आरोप छ।

शिविरमा १० युरो नदिएसम्म एसोसिएसनका पदाधिकारीले हलभित्र छिर्न नदिएको र कोही झुक्याएर हलसम्म पसेको भए उसलाई अपमानपूर्वक गलहत्याएर बाहिर निकालिएको छ। सेवाग्राहीबाट लिएको रकम फिर्ता गराइदिन वा एसोसिएसनसँग असुलउपर गराई नेपाल सरकारको खातामा जम्मा गराइदिन परराष्ट्रमन्त्रीलाई उजुरीमार्फत माग गरिएको छ।

साथै, अन्य युरोपियन मुलुकमा कार्यरत नेपालीलाई प्रलोभनमा पारी ग्रिसमा ल्याएर अवैधानिक र अलपत्र बनाउने काममा समेत एसोसिएसनका केही पदाधिकारी संलग्न रहेकोले छानबिन गर्न उजुरी पत्रमा उल्लेख छ। 

अन्य युरोपेली मुलुकबाट विभिन्न प्रलोभनमा परेर ग्रिस आएका नेपालीमध्ये ७५ प्रतिशतभन्दा बढी अवैधानिक रहेका र धेरै नेपालीको आफ्नो बैङ्क खातासमेत छैन। राहदानी शिविरमा राजस्वबाहेक एसोसिएसनको सदस्यताको नाममा अतिरिक्त शुल्क उठाएको विषय समेटेर नेपालखबरले समाचार प्रकाशन गरेको थियो।

ग्रिसमा भएको घुम्ती शिविरमा अनधिकृत रकम उठाएको विषयमा सेवाग्राहीहरूको तर्फबाट उजुरी आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले यस विषयमा सम्बन्धित मुलुक हेर्ने दूतावासलाई लेखिपठाइसकिएको र आवश्यक प्रकृया पनि अघि बढिसकेको नेपालखबरलाई बताए।

सम्बन्धित संस्थालाई पत्र काटिसकिएको छ : दूतावास
एसोसिएसनले सदस्यताको नाममा अतिरिक्त रकम लिएको विषय सार्वजनिक भएपछि अप्रिल ४ तारिख अस्ट्रियाको नेपाली राजदूतावासले राहदानी दस्तुर बाहेक कुनै पनि बहानामा अतिरिक्त रकम कसैले मागेमा नदिन भन्दै सूचना गरेपछि मात्र शुल्क उठाउने काम बन्द भएको थियो।

ग्रिसमा भएको घुम्ती शिविरमा सेवाग्राहीबाट अनधिकृत रकम उठाएको विषयमा परराष्ट्र मन्त्रालयबाट सत्य तथ्य बुझ्न र अनुसन्धान गर्न निर्देशन भएबमोजिम सम्बन्धित संस्थालाई पत्र काटिसकेको भियनास्थित अस्ट्रियाका नेपाली राजदूत भरतकुमार रेग्मीले बताए।

‘ग्रिसमा विभिन्न कारणले दुःख पाएका नेपालीलाई थप पीडा दिने काम कानुन विपरीत त हो नै, अमानवीय पनि हो,’ राजदूत रेग्मीले नेपालखबरसँग भने, ‘राहदानी नवीकरणमा राजस्वबाहेक अन्य कुनै पनि शुल्क लिन पाइँदैन। यसमा इफ, बट ,कमा केही हुँदैन, कानुनअनुसार कारबाही हुन्छ।’

राहदानी विभाग, काठमाडौँको समन्वयमा ग्रिससमेत कार्यक्षेत्र रहेको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाले गत अप्रिल २ देखि ९ सम्म ग्रिसमा सञ्चालन गरेको शिविरमा करिब ३ हजार नेपालीले राहदानी नवीकरण गरेका छन्।

‘प्रि-इनरोलमेन्ट’ फारम बुझाएका ३ हजारमध्ये करिब १२ सय सेवाग्राहीबाट अनधिकृत रकम असुलेको आरोप ग्रिस-नेपाल फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनलाई लागेको छ।

परराष्ट्र मन्त्रालयमा परेको उजुरी तथा दूतावासले काटेको पत्र बारेमा बुझ्न नेपालखबरले सम्पर्क गर्दा एसोसिएसनका पदाधिकारी सम्पर्कमा आउन चाहेनन्। धेरैपटक एसोसिएसनका अध्यक्ष कृष्ण पोखरेललाई प्रयास गर्दा पनि उनको फोन उठेन। एसोसिएसनको इमेल, फेसबुक म्यासेन्जर तथा अध्यक्षको ह्वाट्सएपमार्फत लिखितरूपमा पठाएको जिज्ञासाको पनि जवाफ प्राप्त भएन।

एसोसिएसनको फेसबुक पेजमा राखिएको अध्यक्ष कृष्ण पोखरेल तथा सचिव अर्जुन केसीसहित कार्यसमितिको तस्बिर

नेपालीले दुःख गरेर कमाएको रकम युरोपमा दूतावासले गर्ने राहदानी शिविरमा अतिरिक्त शुल्कको नाममा असुल्ने गरिएको यो पहिलो घटना भने होइन। केही समय पहिले रोमानिया अनि पोल्यान्ड र अहिले ग्रिसमा अतिरिक्त शुल्कबापत अनधिकृत रकम उठाइएको आरोप लागेको छ।

तर, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित मुलुक हेर्ने दूतावासले घटनामा संलग्न व्यक्ति वा संस्थालाई प्रमाणसहित परेका उजुरीमा कारबाही नगर्दा उनीहरूको मनोबल बढेको पीडितहरूको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad