कारोबार


उध्रियो घुम्टाे, तर अझै चलेन रेल!

उध्रियो घुम्टाे, तर अझै चलेन रेल!

शैलेन्द्र महतो
साउन २१, २०७८ बिहिबार २०:४६, जनकपुरधाम

१७ कार्तिक २०७५ मा निर्माणाधिन जनकपुर जयनगरको रेलको लिक तथा भौतिक संरचनाको तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निरीक्षण गरे। लिक परीक्षण गर्ने रेल्वे इन्जिनमा चढेर जनकपुरदेखि जयनगरम्म संरचनाहरुको निरीक्षण गर्दै उनले भनेका थिए ‘रेलमार्ग तयार भइसकेको छ। स्टेसन निर्माण द्रुत गतिमा भइरहेको छ। काम समयमै सकिन्छ। पहिलो चरणमा जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर लिकमा रेल अगामी पुसदेखि गुड्छ।’

त्यतिबेला भारतबाट भाडामै रेल लिएर चलाउने कुरा चलिरहेको थियो। नेपालले आफ्नो रेल किन्ने सुरसार समेत थिएन। तर पनि ओली सरकारका तत्कालिन यातायातमन्त्री महासेठ मात्र होइन, रेल्वे विभागका महाप्रवन्धक बलराम मिश्र पटक पटक रेल्वे चाँडै चल्ने कुरा आश्वासन दिन पछि परेनन्। 

तत्कालिन भारतीय राजदूत मन्जिव सिंह पुरीले २०७५ असोज तेश्रो साता रेलवे संरचनाको निरीक्षण गरे। उनले पनि संरचनाको तयारी अन्तिम चरणमा रहेकाले सन् २०१८ अर्थात २०७५ को पुस महिना भित्रै रेल चल्ने तर्क गरेका थिए।

मन्त्री महासेठको कार्यकालमा दुईवटा आफ्नै रेल भारतसँग किनेर चलाउने तय भयो। अन्तिम वैशाख २०७६ मा भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाख रुपैयाँमा दुईवटा रेल सेट खरिद गर्ने सरकारले सम्झौता गर्‍याे। 

२ असोज २०७७ मा दुई सेट रेल कोकन रेल्वे कर्पोरेसनले जनकपुर ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गर्यो। सो दुइ सेट रेल झण्डै ११ महिनादेखि धनुषाको इनरुवा रेल्वे स्टेशनमा त्रिपाल ओढाएर थन्काइएको छ। रेल आउनु अघि नै ओली सरकारका तत्कालिन यातायात मन्त्री महासेठ पदमुक्त भइसकेका छन्। उनको ठाउँमा बसन्त नेम्वाङ पनि मन्त्री भए। उनले पनि पटक पटक चाँडै रेल चल्ने आश्वासन दिन पछि परेनन्। रेल्वे विभागका महानिर्देशक बलराम मिश्र पनि अवकाश भइसकेका छन्। 

रेल नेपाल आएको दिन रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरमा अगामी दसैंभित्रै रेल चल्ने बताएका थिए। तर जनशक्ति र कानुनी जटिलता देखाउँदै सो अवधिमा पनि रेल सञ्चालन गर्न सकेन।

दोश्रो कोरोना  लहरको कारण रेल सञ्चालनमा ढिलाइ भएको र असार भित्रै सञ्चालनमा आउने ओली सरकारले दावी गरेको थियो। आफ्नो कार्यकालको ठूलो उपलब्धिको रुपमा रेललाई ओलीले कतैपनि भाषणमा गन्ती गराउन छोड्दैनन्। १९ माघ २०७७ मा धनुषाको ढल्केवरमा मुलुककै ठूलो ४ सय केभी सवस्टेसनको उद्घाटन गर्दै चाँडै आफैले  जनकपुर जयनगरको रेलको उद्घाटन गर्ने बताएका थिए। उनको रेल उद्घाटन गर्ने सपना अधुरै रह्यो।

गएको असार २८ गते सर्वोच्च अदालतको आदेशमा ओली पदमुक्त भइसकेका छन्। रेल्वे विभागका महानिर्देशक गुरु भट्टराईलाई पनि चाँडै हटाउन भनेर सरकारले स्पष्टीकरण सोधेको छ। अब चल्छ, तब चल्छ भनेर प्रचारवाजी र सस्तो लोकप्रियता बटुल्ने प्रधानमन्त्री ओली, मन्त्री महासेठ, नेम्वाङ, विभागका महानिर्देशक मिश्र पदमुक्त भइसकेका छन्। 

यता पार्किंङमा त्रिपालको घुम्टोभित्र थन्काएर राखिएको रेलकाे घुम्टाे उघ्रिसकेको छ। हावाहुरी र वर्षाले दुवै रेल छोपेको त्रिपाल च्यातचुत भएर रेल उघ्रिएको हो। वर्षातको महिना जारी नै छ। खुल्ला आकाशमुनि रहेको रेलको थुप्रै भागमा खिया लाग्न थालेको छ। 

जनकनन्दनी गाउँपालिका १ इनरवामा राखिएको दुई सेट रेल शसस्त्र प्रहरीको निगरानीमा राखिएको छ। रेल्वेका ३० जना कर्मचारीले रेखदेख गर्ने गरेका छन्। 

जयनगरदेखि जनकपुरको रेल संरचना पूर्ण तयारी अवस्थामा 
पहिलो चरणमा सञ्चालन हुने भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा लिकमा रेल सञ्चालन गर्न सम्पूर्ण संरचना तयारी अवस्थामा रहेको रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले बताए। 

गएको साउन ३ गते जयनगरदेखि जनकपुरको कुर्था रेल्वे स्टेशनसम्म प्रतिघण्टा १२० को गतिमा भारतीय एक डब्बे रेलबाट लिक परीक्षण गरिएको थियो। 

‘रेल सञ्चालनको लागि लिक, स्टेशन लगायतको भौतिक संरचना पूर्ण रुपले तयार अवस्थामा छ। रेल सञ्चालन गर्न मात्र बाँकी छ’ ओझाले नेपालखबरसँग भने। 

दोश्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरसम्म रेल सञ्चालनको लागि संरचना पनि लगभग दुईमहिना भित्र तयारी भइसक्ने इन्जिनियर ओझाको भनाइ छ। 

रेल्वे विभागका अनुसार जनशक्ति पूर्ण तयारी अवस्थामा छ। तर यातायात मन्त्री नहुँदा ढिलाइ भएको विभागका महाप्रबन्धक गुरु भट्टराईको भनाइ छ।

‘यातायात मन्त्री नियुक्त हुनासाथ सञ्चालनमा आउँछ’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्री नियुक्त भएलगतै रेल सञ्चालनमा आउने जनाएको छ। 

‘रेल सञ्चालनको लागि तयारी अवस्थामा छ। दुईसय कर्मचारी व्यवस्थापन भइसकेको छ। भारतबाट चालकसहित २६ जना र नेपालबाट झण्डै पौने दुई सय कर्मचारीको व्यवस्थापन भएको छ’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशव कुमार शर्माले नेपालखबरसँग भने। 

उनले एउटा औपचारिक कार्यक्रम गरी सञ्चालन हुने बताए। 

‘औपचारिक कार्यक्रमको लागि मात्रै रेल सञ्चालन अड्केको छ। मन्त्रालयमा मन्त्री नियुक्त हुने बितिकै चार/पाँच दिन भित्रै रेल सञ्चालनमा आउँछ’ उनले भने। 

 भारतको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सन् २०१० मा सम्झौता भएको थियो। सन् २०११ माघ महिनादेखि निर्माण थालिएको जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इकर्न इन्टरनेसनल कम्पनीले लिएको छ।

परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र  तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना थियो। 

जनकपुर-जयनगर रेल्वे : संरचना चाेरिँदै, स्टेसन थकाइ मार्ने चाैतारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .