कारोबार


जनकपुर-जयनगर रेल : चलाउन सबै फेल

जनकपुर-जयनगर रेल : चलाउन सबै फेल

शैलेन्द्र महतो
साउन २७, २०७८ बुधबार २०:५७, जनकपुरधाम

जनकपुर जयनगर लिकमा गुडाउन २ असोज २०७७ मा भारतबाट खरिद गरी दुई सेट रेल नेपाल भित्र्याइयो। भारतीय सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएको दुइ सेट रेल तामझामसहित जयनगरबाट नेपाली झण्डा हल्लाउँदै आउँदा नागरिक निकै उत्साहित भए। धनुषाको इनरुवादेखि जनकपुरको कुर्था स्टेसनसम्म रेल हेर्न र स्वागतका लागि यस भेगका नागरिकको लाम नै लागेको थियो। 

खासमा त्यो दिन रेल निर्माण कम्पनीले जनकपुरमा नेपाल रेल्वे कम्पनीलाई दुई सेट रेल हस्तान्तरण कार्यक्रम थियो। रेल हस्तान्तरण कार्यक्रमका मुख्य अगुवा थिए नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई। उनी काठमाडौंबाट रेल बुझ्न जनकपुर आएका थिए। रेल ग्रहण गर्दै महाप्रबन्धक भट्टराईले भनेका थिए, ‘रेल सञ्चालनको लाग संरचना तयारी अवस्थामा छ। अब जनशक्ति भर्ना गरी दसैँ वा दुई महिना भित्र रेल सञ्चालन गर्छौं।’

वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै सरर्र यात्रा गर्न पाउने धोको बाेकेका नागरिक ताली ठोक्दै, फोटो र सेल्फी खिच्दै खुसीले उत्सव मनाउँदै थिए, यता दुई वटै सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा फर्काएर पार्किङ गरी त्रिपाल ओढाएर थन्काइयो। 

नेपाल रेल्वे कम्पनीले चार दिनअघि नै २९ भदौ २०७७ मा रेल सञ्चालनको निम्ति प्रशासनिक, प्राविधिकसहितका १२९ कर्मचारी भर्नाको लागि विज्ञापन आह्वान गरेको थियो। जसमा ३२ हजार ६८६ जनाले आवेदन दिए। लिखित र मौखिक परीक्षाको माध्यमबाट कर्मचारी चाँडै छनोट र रेल सञ्चालन गर्ने महाप्रबन्धक भट्टराईले झण्डै एकवर्ष पुग्न लाग्दा समेत सो विषयका केही गर्न सकेनन्। 

११ महिनादेखि पार्किङमा छोपेर राखिएको रेल हावापानीले त्रिपाल च्यातिएर उघ्रि सकेको छ। तर, विभिन्न समयमा अब, तब, चाँडै रेल सञ्चालन गर्छु भनेर आश्वासन दिने महाप्रबन्धक भट्टराई चलाउनै नसकी बुधबार पदबाट राजीनामा दिएका छन्। केपी ओलीका खाँटी समर्थक भएकै कारण तत्कालिन ओली सरकारले उनलाई रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो। एक महिनाअघि सर्वोच्च अदालतको परमादेशबाट बनेको देउवा सरकारले स्पष्टीकरण सोधेपछि महाप्रबन्धक पदबाट भट्टराईले राजीनामा दिएका हुन्। तर उनी आफ्नो पालामा रेल चलाउन भने असफल रहे। 

उनी मात्र होइन वर्षौंदेखि चाँडै रेल चलाउने आश्वासन र विभिन्न सार्वजनिक कार्यक्रममा भाषण गर्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, उनको सरकारका पहिला भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र दोश्रो बसन्त नेम्वाङको पालामा पनि रेल चल्न सकेन। ओली सरकारले रेल सञ्चालनलाई पनि आफ्नो मुख्य प्राथमिकतामा राखेको थियो भने कुनैपनि सार्वजनिक कार्यक्रममा उनले रेल चलाउने विषयमा भाषणबाजी गर्न बिर्सेनन्। तर उनीहरु आफ्नो पालामा रेल चलाउन असफल नै सावित भए। त्यति मात्र होइन तीन वर्षदेखि चाँडै रेल चल्ने भनेर संचार माध्यममा पटक पटक अभिव्यक्ति दिने रेल विभागका महाप्रबन्धक बलराम मिश्र पनि केही महिनाअघि नै पद मुक्त भइसकेका छन्। उनलाई ओली सरकारले नै रेल विभागको महानिर्देशकमा नियुक्त गरेको थियो। 

रेल चलाउँछु भन्नेहरु सबै जिम्मेवारीबाट पदमुक्त भइसक्दा समेत रेल कहिले सञ्चालन हुने अझै अन्योलता कायमै छ। पार्किङमा त्रिपालको घुम्टो च्यातिएको रेल खुला आकाशमुनि वर्षाले भिजेर पार्ट पुर्जामा खिया लाग्न थालेको छ।  

पहिलो चरणमा सञ्चालन हुने भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्मको ३५ किलोमिटरमा लिकमा रेल सञ्चालन गर्न सम्पूर्ण संरचना तयारी अवस्थामा रहेको छ। दोश्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरसम्म रेल सञ्चालनको लागि संरचना पनि लगभग दुईमहिना भित्र तयारी भइसक्ने रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझा बताउँछन्। 

रेल सञ्चालनका लागि भारतबाट २६ सहित दुईसय कर्मचारी पूर्ण तयारी अवस्थामा रहेको  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताउने गरेको छ। मन्त्रिमण्डल विस्तार नहुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय  अहिले प्रधानमन्त्री देउवाकै जिम्मेवारीमा छ। मन्त्री नियुक्त लगत्तै एक कार्यक्रम गरेर रेल सञ्चालनमा आउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशव कुमार शर्मा बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .