कारोबार


विजयको छलाङः ‘घ’ वर्गको ठेकेदारदेखि ग्रान्डी र मेरियटसम्म

विजयको छलाङः ‘घ’ वर्गको ठेकेदारदेखि ग्रान्डी र मेरियटसम्म

सीई कन्स्ट्रक्सनका अध्यक्ष विजय राजभण्डारी । तस्बिर : विक्रम राई


वसन्त अर्याल
भदौ २० , काठमाडौँ

न्युरोडमा ५ बाई ८ को कोठा लिएर उनले व्यवसाय सुरु गरेका थिए। कोठामा थियो– एउटा टेबल र कुर्सी। व्यवसायमा ६ जनाको साझेदारी थियो।

उनले आफ्नो तर्फबाट ५० हजार रुपैयाँ लगानी गरेका थिए। अरु साझेदार सबै जागिरे थिए। कम्पनीमा उनी मात्रै फुल टाइम काम गर्थे। यो १९९२ को कुरा थियो। 

त्यसयता उनले नेपालका तीन सयभन्दा बढी आयोजनामा काम गरिसकेका छन्। रियलस्टेट होस् वा हाइड्रोपावर, निजी क्षेत्रमा उनको कम्पनीले नभ्याएको काम मात्र अरुको हातमा जान्छ।

लामो समयदेखि निर्माण क्षेत्रमा उनकै वर्चस्व छ। ग्रान्डी हस्पिटलदेखि लिएर पाँचतारे मेरियट होटलसम्म उनैले बनाएका हुन्। 

उनी हुन्, विजय राजभण्डारी, सीई कन्स्ट्रक्सनका अध्यक्ष।

‘दृढ संकल्प छ भने आँधी–तुफानले पनि रोक्न नसक्ने रहेछ,’ उनले दृढता व्यक्त गरे। 

थोरै लगानीबाट पनि ठूलो व्यवसायी बन्न सकिन्छ भन्ने उदाहरण हुन् विजय। नेपालको निर्माण क्षेत्रलाई उद्योगको रुपमा स्थापना गर्ने उनको अठोट पुरा भएको छ। 

उनको कम्पनीले सुरुमा ‘डी क्लास’ को ठेकेदारको रुपमा काम सुरु गरेको थियो। पहिलो आयोजनाका रुपमा सीई कन्स्ट्रक्सनले लुम्बिनीमा ११ केभीको प्रसारण लाइन निर्माण गरेको थियो। 

उनले टेकुमा एड्स हस्पिटलको भवनको ठेक्का लिएका थिए। ठेक्का थियो ५ लाखको, खर्च भयो ७ लाख। 

‘डी क्लासको ठेकेदारले बनाएको भवन ए क्लासको ठेकेदारको भन्दा राम्रो थियो,’ विजयले गर्वका साथ सुनाए। 

तीन दशकअघि निजी घर बनाउँदा पैसा बच्दैन भन्ने थियो। हरेक ठेकेदारको ध्यान सरकारी आयोजनामा हुन्थ्यो। तर, उनले सुरुदेखि नै सरकारीभन्दा निजी क्षेत्रका पूर्वधार निर्माणलाई प्राथमिकता दिए। पहिले केही सरकारी भवन बनाए पनि उनले अहिले निजी क्षेत्रमा मात्र काम गरिरहेका छन्। किन त?

‘निजी क्षेत्रलाई इकोनोमिक सेन्स बढी हुन्छ, सरकारीलाई हुन्न। हामीलाई कम समयमा काम सकेर आम्दानी गर्नुपर्ने हुन्छ,’ विजय भन्छन् ‘निजी क्षेत्रमा एक पटक डिल गरे पुग्छ। सरकारी निकायमा बारम्बार धाउनुपर्छ। त्यसको नाफा पाइँदैन।’

सीईले आवासीय भवन, तारे होटल, अस्पताल बनाउने ठेक्का लिन्छ। सीई कन्स्ट्रक्सनको मात्रै वार्षिक आम्दानी ५ अर्ब बढी छ। अन्य सहायक कम्पनीको आम्दानी अलग्गै छ।

ठेक्कामा अरुको घर बनाइरहँदा विजयलाई लाग्यो, आफैँ जग्गा लिएर हाउजिङ किन नबनाउने। त्यसपछि उनी रियलस्टेटमा प्रवेश गरे। यो २००१ को कुरा हो। उनीहरुको पहिलो रियलस्टेट प्रोजेक्ट थियो– सीतापाइलाको कम्फर्ट हाउजिङ। 

त्यसमा सफल भएपछि उनीहरुले व्यवसाय विस्तार गर्दै गए। जग्गा आफैँ खरिद गर्ने, घरको डिजाइन आफैँ तयार गर्ने, निर्माण पनि गर्ने र बिक्री गर्ने। सीईले साझेदारमार्फत पनि थुप्रै हाउजिङ निर्माण गरेको छ।

‘हामीसँग पैसा भएर धेरै प्रोजेक्ट गरेको होइन,’ विजय भन्छन्, ‘मास पार्टिसिपेसनबाट काम गरिरहेका छौँ।’

कन्स्ट्रक्सन र रियल स्टिेटपछि सीई ६ वर्षअघि हाइड्रो पावरमा प्रवेश गरेको थियो। पहिलो हाइड्रोपावर आयोजना थियो– अपर सोलु। 

त्यही आयोजनाबाट विजयलाई थाहा भयो, ठेक्कामा जलविद्युत बनाउँदा भन्दा आफँै डेभलपर हुँदा बढी फाइदा हुने रहेछ। 

त्यसपछि उनले उर्जा डेभलपर्स भन्ने कम्पनी स्थापना गरे। अहिले आफैँ ३ वटा प्रोजेक्टमा काम गरिरहेका छन्। चौथो प्रोजेक्टमा निर्माण सुरु हुँदैछ। सो कम्पनीले जलविद्युतमा मात्रै २ अर्बजति लगानी गरिसकेको छ। 

महामारीमा पनि रोकिएन काम
कोरोना महामारीको समयमा धेरै कम्पनी बन्द भए। ठूलो आर्थिक नोक्सानी बेहोर्नुपर्‍यो। तर, सीई ग्रुपले भिन्नै तरिकाले काम गर्यो। 

सीईले कर्मचारीलाई साइटमै राखेर काम अघि बढायो। लकडाउन तथा निषेधाज्ञाको समयमा काम रोक्नु पर्ने अवस्था रहेन। लकडाउनको समयमा निर्माण सामाग्रीको आपूर्ति पनि रोकिएन। कम्पनीले वर्षभरिमा जुन कामसक्ने लक्ष्य राखेको थियो, त्यो पुरा गरेको छ। 

कम्पनीका कर्मचारी बिरामी हुँदा अलग्गै आइसोलेसनमा राखेर उनीहरुको रेखदेख गरियो। महामारीको समया ४ सय जनालाई कोभिड संक्रमण भएको थियो। अहिले शून्यमा झरेको विजयले बताए।

‘निर्माण क्षेत्र उच्च जोखिमयुक्त व्यवसाय हो। भूकम्प, कोभिड जस्ता ठूला प्राकृतिक प्रकोपमा कसरी बाँच्ने भन्ने सिकिएको छ,’ विजय भन्छन्। 

काठमाडौं रिङरोडभित्रका केही रियलस्टेटका आयोजना प्रभावित भएपनि बाहिरका प्रोजेक्ट सञ्चालनमा रहे। क्याम्पमा बसेर गर्न सक्ने आयोजना रोकिएनन्। घरमै बसेर डिजाइनको काम भइरहे। डिजिटल मार्केटिङ मार्फत घर बिक्री पनि भइरह्यो। माहामारीकै समयमा कम्तीमा १०० घर बि भएको उनको भनाइ छ।

‘म कुवाको भ्यागुतोजस्तो मान्छे हो। आफ्नो प्रोजेक्टमा धेरै ध्यान दिन्छु। ग्राहक को हो, कसरी बिक्री गर्ने भन्ने कुरामा फोकस गर्छु,’ उनी भन्छन्। 

कोभिडपछि आफ्नै घरमा बस्न चाहनेको संख्या बढेको छ। २०७२ सालको भूकम्पले अपार्टमेन्ट व्यवसायमा केही असर पारेको थियो। जसका कारण धेरै अपार्टमेन्ट होटलमा परिणत भए। पछिल्लो समय कोर एरियाका अपार्टमेन्टको माग राम्रो रहेको उनको भनाइ छ।

‘कोर एरियामा महंगो हुन्छ। घर किन्न सकिन्न। घर किन्न नसक्नेहरुका लागि अपार्टमेन्ट विकल्प हुनसक्छ,’ उनले भने, ‘डेढ करोडसम्मका आफ्नै आवास खोज्नेहरु अपार्टमेन्ट किन्छन्। त्योभन्दा माथि लगानी गर्न सक्नेको रोजाइमा हाउजिङ पर्छ।’
 
काठमाडौं उपत्यकामा रियल स्टेट व्यवसाय फस्टाउँदै गएको उनले बताए।

‘सीई कन्सट्रक्सनले काठमाडौं उपत्यकाबाहिर पनि रियल स्टेट व्यवसाय विस्तार गर्न थालेको छ,’ विजयले भने ‘प्रदेश १ मा विराटनगर सीई कोलोनी सुरु गरेको छ। पोखरामा २ वटा प्रोजेक्ट सुरु गर्न लागेको छ।’

पोखराको लोकेसनलाई केन्द्रमा राखि लेक भ्यू अपार्टमेन्ट सञ्चालनमा ल्याएको छ। लुम्बिनीमा हब लुम्बिनी परियोजना सञ्चालनमा ल्याएको छ। जसमा अपार्टमेन्ट, हाउजिङ, कमर्सियल भवन, तारे होटल छन्। त्यस्तै बुटवलको तिलोत्तमामा १०० रोपनीमा आयोजना निर्माण गरिरहेको छ। 

‘मोफसलमा काठमाडौंको जस्तो छिट्टै बिक्री हुँदैन। त्यहाँ कन्सेप्ट बुझाउन समय लाग्छ,’ उनी भन्छन् ‘बुटवटलमा तत्काल बिक्री हुन्छ भन्ने छैन। हामीले बिल्डिङ बनाएर देखाएपछि लिन्छन्।’

रियल स्टेटतर्फ ७ वटै प्रदेशका हाउजिङ तथा अपार्टमेन्ट विस्तार गर्ने उनको योजना छ। सीईले कुन ठाउँमा कस्तो किसिमको मानिस छन्, उनीहरुलाई कस्तो घर मन पर्छ, आदि विषयमा सर्भे गर्दै आएको छ। 

यसरी सुरु भएको थियो व्यावसायिक यात्रा
काठमाडौंमै जन्मेका विजयले कक्षा १० सम्म कीर्तिपुरको ल्याबरोटरी स्कुलमा अध्ययन गरेका थिए। त्यसपछि अमृत साइन्स क्याम्पसबाट आईएससी गरे। उनलाई स्ट्रक्चरल इन्जिनियर बन्ने इच्छा थियो। उनी स्नातक तहको इन्जिनियरिङ गर्न भारत गए। १९७९ देखि १९८४ सम्म ५ वर्षे इन्जिनियरिङ कोर्स पुरा गरी नेपाल फर्के।

मास्टर्स पढ्न क्यानडा जाने रहर थियो उनलाई। पुल्चोक क्याम्पसले इन्जिनियरिङ पढ्न विदेश पठाउँथ्यो। बाहिर पढ्न जान सजिलो हुने आशामा विजय पुल्चोक क्याम्पसमा पढाउन थाले। त्यो बेलासम्म विजयसँग किताबी ज्ञान मात्रै थियो। व्यवहारिक इन्जिनियरिङको अनुभव थिएन। व्यवहारिक ज्ञान नभएकाले अध्यापन गराउँदै गर्दा अप्ठेरो भयो।

उनलाई लाग्यो– आफैँले अनुभव नलिई पढाउनु हुँदैन। त्यसपछि लुम्बिनी विकास समितिमा जागिरका लागि आवेदन दिए। विकास समितिले आवेदन दिएको भोलिपल्टै काममा बोलायो। 

लुम्बिनीमा आयोजना निर्माण गर्दा के गर्नु पर्छ भन्ने व्यहारिक कुरा सिक्न पाए। त्यहाँ विदेशी इन्जिनियर र कन्सल्टेन्ट थिए। नेपाली इन्जिनियरको तुलनामा बढी अनुभव भएका। उनीहरुको र नेपाली इन्जिनियरको पारिश्रमिक पनि धेरै फरक थियो। उनीहरुको अनुभव र फराकिलो ज्ञान देखेर विजयले जागिर मात्रै गरेर नहुने देखे।

‘थ्री ई अर्थात् एजुकेसन, एक्सपिरियन्स र एक्स्पोजर आवश्यक भएको महसुस गरेँ,’ उनी भन्छन्। 

त्यसका लागि उपयुक्त मुलुक अमेरिका देखे। ‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’मा मास्र्टस गर्न अमेरिका जाने भए। फेलोसिप पनि पाए। लुम्बिनी विकास समितिबाट अध्ययन विदामा अमेरिका गएका विजय १९८९ देखि १९९० सम्म न्यु मेक्सिको युनिभर्सिटीमा पढे। त्यसपछि दुई वर्ष अमेरिकामै काम गरे र निर्माण व्यवसायी बन्ने आकांक्षा बोकेर नेपाल फर्किए।

‘कन्स्ट्रक्सन म्यानेजमेन्ट’ पढ्दै गर्दा युनिर्भसिटीमा उद्यमसम्बन्धी पाठ्यक्रम रहेको पनि थाहा पाए। तर, त्यो पढ्न व्यावसायिक योजना चाहिने रहेछ।

‘मसँग बिजनेस प्लान छैन तर उद्यमी बन्न चाहन्छु,’ विजयले प्रोफेसरसँग प्रस्ताव गरे ‘तपाईंले भर्ना लिनै पर्छ। कोर्स पढ्न नपाएपनि म व्यवसायी बन्छु नै।’

प्रोफेसरसँग उनले ५ मिनेटको समय लिएका थिए। तर, एक घण्टा उनले आग्रह गरेपछि प्रोफेसरले भने, ‘मैले आजसम्म बिजनेस प्लान नभएको विद्यार्थी ल्याएको छैन। तिमी पहिलो हौ।’

अमेरिकामा छँदा उनले नेपालमा चलिरहेको इन्जिनियरिङभन्दा फरक केकसो गर्न सकिन्छ, इन्जिनियर आफँै व्यवसायी कसरी बन्नसक्छ भन्ने सिके। नेपालमा ‘एक्सपोजर’ पाउन अमेरिकामा पढेर मात्रै पुग्दैन, अनुभव पनि हुनुपर्छ भन्ने लाग्यो। साथीहरुको सहयोगमा दुईवटा ठूला कम्पनीमा काम गर्ने अवसर पाए। 

१९९२ मा नेपाल फर्केपछि लुम्बिनीको पुरानो जागिरमा हाजिर भए।  उनको योजना थियो– पूर्वाधार निर्माणलाई दिगो बनाउने। जागिर मात्र गरेर आफ्नो सोच पुरा हुने देखेनन् उनले। तर, व्यवसायी बन्ने योजना पुरा गर्न उनीसँग लगानी थिएन। त्यसपछि साथीहरुलाई गुहारे।

अमेरिकाबाट आएको २० दिनभित्रै गोपाल मानन्धर, श्याम मिलन श्रेष्ठ सहित ६ जनाको टोलीले सीई कन्स्ट्रक्सन सुरु गर्यो।

१० हजार मेगावाट जलविद्युतको लक्ष्य
३० वर्षको मेहनतबाट उनले प्राप्त गरेको ज्ञान हो– निर्माण व्यवसायमा सफल हुन छोटो समयमा गुणस्तरीय संरचना बनाउन सक्नुपर्छ। पछिल्लो समय उनले त्यही गरिरहेका छन्। 

अबको उनको योजना जलविद्युतमा विदेशी लगानी भित्र्याउने हो। २०३० सम्म १ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सीईको छ। 

सीईले जलविद्युत निर्माण गर्दा सुरुङमार्ग निर्माणमा समेत अनुभव बटुलेको छ। द्रुतमार्ग बनाउन विदेशी लगानी ल्याउन सकिने विश्वास उनको छ।

नेपाली घुम्ती सडकलाई सुरुङमार्ग मार्फत् छोट्याउन सकिने भएकाले यसतर्फ उनको ध्यान गएको हो। सडक, रेल, मेट्रो, सुरुङमार्ग बुट (बिल्ड, ओन, अपरेट एन्ड ट्रान्सफर) मोडलमा निर्माण गर्ने उनको योजना छ।

‘त्यसो हुँदा सरकारको पैसा नलिई पूर्वधार निर्माण गर्न सकिन्छ,’ उनी भन्छन्।

सीईले पर्यटन केन्द्र निर्माणको योजना समेत ल्याएको छ। जसमा हब लुम्बिनी र हब नगरकोट योजना अघि बढाई सकेको छ। रणनीतिक साझेदारीमा तीर्थस्थल र पर्यटकीय गन्तव्यमा पूर्वधार बढाई पर्यटक बढाउने विजय बताउँछन्। 
 
 

भदौ २१, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.